+
+

देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:१८

५ चैत, काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा खोप लगाएका छन् ।

फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये खोप लक्ष्य राखिएको थियो । बाल तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्य अनुसारका बालबालिकालाई खोप पाउने दाबी गरे ।

‘हामीले खोजी-खोजी बालबालिकालाई खोप दिइरहेका छौं । कोही बालबालिका पनि यो अभियानमा सकेसम्म छुट्न दिने छैनौं,’ डा. गौतमले भने, ‘ लक्ष्य राखिएको अनुसार नै खोप दिइसक्नेमा ढुक्क छौं ।’

देशभरका बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदैछ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको हो ।

यस अभियानमा दादुरा  रोगको लागि उच्च जोखिम भएका तराई २१ जिल्ला र काठमाडौं उपत्याका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइँदै आएको छ ।

सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको हो । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट खोप दिँदै आएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा ५ लाख ९४ हजार ८५०, मधेश प्रदेशमा १५ लाख ६८ हजार ०९६, बागमती प्रदेशमा १० लाख ९७ हजार ९१६, गण्डकी प्रदेशमा २ लाख १६ हजार ५८९, लुम्बिनी प्रदेशमा ११ लाख ७५ हजार ५७७, कर्णाली प्रदेशमा २ लाख २९ हजार ६३९ र सुदुरपश्चिम प्रदेशमा ५ लाख ५९ हजार ८०२ जना बालबालिका खोप लगाइसकेका छन् ।

दादुरा र रुबेला रोग सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् ।  दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत हुनसक्छ ।

दादुरा-रुबेलाका भाइरस मानिसमा मात्रै सर्दछ । यी भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट यो रोग सर्ने हुन्छ ।

सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्न सक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।

चिकित्सकका अनुसार दादुरा संक्रमणबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।

रुवेलाको संक्रमणबाट हाडजोनीहरू सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटिलताको कारण बिरामीको मृत्यु समेत हुन्छ ।

दादुराको सामान्य लक्षण हो-तीव्र ज्वरो आउनु । दादुरा भएकाहरूको सम्पर्कमा आएको १०-१२ दिनपछि ज्वरो सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।

दादुरा लाग्दा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने पनि हुन सक्छ ।

केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ ।

दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग र मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभए बिरामीको मृत्यु समेत हुनसक्छ ।

चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर, अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार उपचार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?