+
+

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

रासस रासस
२०८० चैत ६ गते ११:०८

६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिएका हुन् ।

जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भनेका छन्, ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।’

बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस् ।’

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ । अध्यक्ष नेपालको नेतृत्वमा १० औं महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई मूल व्यवस्थापन कमिटीको सदस्यमा राखिएको छ ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ । महाधिवेशन केन्द्रित अभियान यही चैत २५ गतेसम्म चल्ने छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषय, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?