+
+

‘बोक्सीको घर’बारे केकी अधिकारी : ‘कथा नै मेरो फिल्मको हिरो’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:४३

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई लाग्छ, नभनिएका, नसुनिएका कथामा फिल्म बनिनुपर्छ । यो अठोट र हुट्हुटीले उनलाई निर्मात्री बनायो । उनले निर्माण गरेको पहिलो फिल्म ‘बोक्सीको घर’ वैशाख १४ गते रिलिज हुँदैछ । सोही नामको चर्चित नाटकबाट प्रभावित भएर बनेको फिल्ममा केकीकै शीर्ष भूमिका छ ।

पात्र निर्माण र भोगाइको पाँच वर्ष लामो ‘दर्दनाक’ संघर्षपछि केकीले दर्शकसामु आफ्नो शिल्प विन्यासलाई ल्याउन लागेकी छन् । व्यावसायिक भनिने सूत्र फिल्मको बाढी आइरहँदा केकीले ‘बोक्सीको घर’मार्फत समाजको अर्धचेतनालाई प्रश्न गर्ने साहस गरेकी छन् । यसै सन्दर्भमा अभिनेत्री केकी अधिकारीसँग अनलाइनखबरकर्मी विष्णु शर्माले कुराकानीको सम्पादित अंश :

निर्मात्रीको रुपमा ‘बोक्सीको घर’ फिल्म बनाउने अवधारणाको विकास कसरी भयो ?

सन् २०१५-२०१६ ताका ‘बोक्सीको घर’ नाटक मञ्चन भएको थियो । यसलाई सुलक्षण भारतीले लेखन, निर्देशन गर्नुभएको थियो भने सरिता भारतीले एकल प्रस्तुति दिनुभएको थियो । यति मार्मिक नाटक थियो त्यो । एकदमै मनोरञ्जनको खुराकले भरिएको थियो त्यो । प्रस्तुतीकरणमा यति थ्रिल थियो, जसले दर्शकलाई दुई घण्टासम्म बाँधेर राख्न सक्यो । मेकरको रुपमा मैले त्यो एंगलबाट हेरें ।

नाटक सकिएर हल रित्तो भइसक्दा पनि म त्यहाँ बसिराखें । मलाई कमै नाटकले यस्तो अनुभूति दिलाएका छन् । आँखैअघि हुने प्रस्तुतिले गर्दा मलाई नाटकको प्रभाव गहिरो रुपमा पर्छ । यो कथा भनिनुपर्ने कथा हो, मासमा जानुपर्ने कथा हो भनेर म त्यहाँबाट निस्किएँ । कति दिनसम्म यो नाटकको प्रभाव मेरो दिमागमा परिरह्यो । दिनको एउटा फिल्म हेर्ने मान्छे हुँ, तर कति दिन त फिल्म पनि हेरिनँ । कम जोखिम लिऊँ कि भनेर सन् २०१८ मा अन्यसँगको सहकार्यमा पहिलोपटक ‘कोहलपुर एक्सप्रेस’ बनाएँ ।

फिल्म बनाउने मामिलामा हामी कहाँ चुक्यौं भनेर गहिरो ज्ञान सिकेर म बसिराख्या थिएँ । सिकाइको रुपमा मेरा लागि गहिरो कुरा थियो । यदि मैले ‘कोहलपुर एक्सप्रेस’ नबनाएको भए एक्लै पहलमा ‘बोक्सीको घर’ बनाउन सक्ने थिइनँ । यदि मैले जीवनमा एउटा मात्र फिल्म बनाउने मौका पाएँ भने कुन कथामा बनाउँछु भनेर घोत्लिंदा मेरो मनमा आएको उत्तर हो– बोक्सीको घर हो । यदि यसलाई मैले मेरो अन्तिम फिल्म मानें भने पनि म खुसी हुनसक्छु अभिनेत्री र निर्मात्रीको रुपमा ।

मेकरको रुपमा तपाईंले यो फिल्मबाट के कुरा भन्न चाहनुहुन्छ ?

सबै खालको विषयमा फिल्म बन्न जरुरी छ । एउटा मात्र फिल्म चल्दा हामीले एउटै मात्र विषय समात्छौं । अनि यहीं मात्र दर्शक छन् भनेर दर्शकलाई कम आँक्छौं हामी । राम्रो फिल्म बनाउँदा दर्शक सायद त्यो कथासँग परिचित पनि हुनुहुन्छ र पर्दामा पनि देख्न पाउनुभएको छैन । जुन विषयले मेरो अन्तर्मनमा यसरी ठाउँ बनाएको छ । त्यो विषयलाई इमान्दारिताका साथ प्रस्तुत गर्न सकें भने त्यसले दर्शकको मन छुनेछ ।

अहिलेको समाजमा ‘बोक्सीको घर’को सान्दर्भिकता कस्तो छ ?

खासमा यो कथा पहिले नै बन्नुपर्ने हो । पहिले नै निर्माताले देख्नुपर्ने हो । सुरुमा त यसमा एकदमै सुन्दर दृष्टिकोण छ । किनभने हाम्रो दिमागमा यो विषय यसरी रहिरहेको छ कि जसलाई लिएर हामी अनेकथरी विचार गर्न सक्छौं । यो मिथकलाई लिएर अहिलेसम्म फिल्म बनाउन हामी किन चुकिरहेका थियौं भन्ने कुरा हो । जुन अन्धविश्वासको रुपमा जकडिएको छ । कतिले यसलाई विश्वासको रुपमा अझै पनि मान्नुहुन्छ ।

यो फिल्म अहिले आउनुको मुख्य कारण चाहिं मनोवैज्ञानिक-थ्रिलर जनराको फिल्ममा मनोरञ्जन मूल्य निकै कम देखिएको छ । ‘थ्रिलर फिल्मको कथावाचनको बलियो माध्यम पनि हो । अहिले आउनुको पछाडिको कारण इन्टरटेनमेन्ट भ्यालु उच्च छ भनेर हो । त्यो सँगसँगै यही भ्यालुसँगै सामाजिक रुपमा बलियो सन्देश पनि दिन सकिन्छ ।

पछिल्लो समय नेपाली फिल्म एजेण्डाले थिचिएजस्तो देखिन्छ । कथाको मुद्दा ठूलो हुने तर प्रस्तुतीकरण फितलो हुने समस्या छ । यो जोखिमबाट कत्तिको सतर्क हुनुभएको छ ?

जुन कथा मैले लिएकी छु, यसमा दर्शकलाई बाँध्ने गुणस्तर छ कि छैन भनेर खोज्नुपर्छ । यसपछि मात्र आफ्नो नियतलाई सही राखेर सन्देश दिने हो । अन्यथा तपाईं दर्शकलाई तान्न सक्नुभएन भने कुनै पनि नियत राखेर फिल्मले तपाईंलाई त्यो खालको नतिजा दिंदै दिंदैन । यसको कथा हेरिसकेपछि यसमा फिल्म बनाउन सकिन्छ र यस पछाडिको एंगल यो पनि हुनसक्छ भनेर मलाई लाग्यो ।

यो कुरा त मेरो लागि सेकेन्डरी कुरा थियो नि त । सुरुमा त मैले कथा हेर्नेबित्तिकै कति सुन्दर कथा राखेको भनेर निर्मात्रीको रुपमा म त्यसमा आकर्षित भएँ । यो चीजलाई नै मेरो मुख्य बिन्दु बनाउँछु नत्र म असफल हुन्छु भन्ने लाग्यो ।

तर म कला क्षेत्रको मान्छे हुँ । मैले सिनेमा र कलाको माध्यमबाटै कथा भन्ने हो । यसकारण यसमा मनोरञ्जन मूल्य धेरै छ र नियत प्राथमिकता होइन भन्ने राखेर फिल्म बनाएकी हुँ । यदि यसले मानिसको सोचलाई परिवर्तन गर्न सकेन भने नि इन्टरटेनमेन्ट भ्यालुलाई अघि बढाउँछ नै । सुनिराखेको तर नदेखेको कथालाई दर्शकले यसपटक हेर्न पाउँछन् भन्ने कुरामा म ढुक्क छु ।

फिल्मको पटकथा लेख्दा नाटकबाट सबै दृश्य रुपान्तरण गर्नुभएको छ कि आफ्नो निजी अनुभव, देखेका–भोगेका कुरालाई पनि यहाँ समेट्नुभएको छ ?

कोभिडकालमा फिल्म बनाउने जुन निर्णय गरें, त्यो बेला धेरैजनाले लगानीको लागि उपयुक्त समय नभएको सुझाव दिनुभयो । त्यतिबेला घरजग्गा कारोबार राम्रो थियो । बरु कमाएको छौ भने रियल स्टेटमा लगानी गर । फिल्ममा लगानी गरेर जोखिम नलिऊँ भन्नुभयो । शुभचिन्तकले प्रतिफल दोब्बर आउने क्षेत्रमा लगानी गर्न भन्नुभयो । तर यो बेला सुन्ने भनेको आफ्नै अन्तर्मनलाई हो । यो चीजमा लिएको निर्णयको कारणले पनि म आफ्नो नियतमा स्पष्ट छु । दर्शकलाई नयाँ स्वाद दिन म सफल हुन्छु भन्ने कुरामा दृढ संकल्पित छु ।

यो फिल्मको कथा लेख्दा वास्तविक घटनाक्रमबाट प्रभावित हुनुभएको थियो ? चरित्र निर्माणमा कसरी काम गर्नुभयो ?

हामीले यसको कथावस्तु वास्तविक घटनामा आधारित छ भनेर टिजरमा भनिसकेका छौं । पत्रपत्रिकामा बोक्सी आरोपमा महिलामाथि गरिएका हिंसाका जति पनि समाचार पढें, यी सबैलाई संकलन गरेर एउटै व्यक्तिको जीवन यात्रामा ढालेका हौं । फिल्ममा जति पनि घटना देख्नुहुन्छ, ती सबै वास्तविक घटनाक्रममा आधारित छन् । हामीले सत्य घटनामा आधारित भनेका छैनौं । वास्तविक घटनाबाट प्रभावित भनेका छौं । फिल्म हेर्दा दर्शकले अलौकिक चीज हालेर भन्न सक्नुहुन्न । हामीले यस्तो घटना भोगेका र आरोपित व्यक्तिसँग कुरा गर्न सक्ने स्थितिमा छौं । त्यो कोणबाट यसको कथावस्तु निकै संवेदनशील छ ।

हामीले देखाउन खोजेको कथा आजको समयमा पनि ठूलो मुद्दा हो । समृद्ध भनिएका मुलुकमा आज पनि लैंगिकतामा आधारित हिंसाका मुद्दाहरु छन् । बाल दुर्व्यवहारका समस्या आज पनि छन् । हाम्रो समाजमा यो समस्या छ भन्न त कुनै दुईमत भएन । हामी आज पनि कुनै न कुनै तरिकाले लडाइँ लडिरहेका छौं । हामीले तन्त्रमन्त्र गर्ने व्यक्तिलाई नोटिस गरेर मात्र बोक्सी भन्न खोजेका होइनौं । यसका पछाडि भिन्न तह छन् । यो प्रवृत्ति कसरी हाम्रो समाजमा गडेको छ भन्ने बुझ्न तपाईंले फिल्म हेरिसकेपछि मात्र थाहा पाउनुहुन्छ । बोक्सी भन्ने चीज हुने होइन, बनाइने कुरा रहेछ । ‘बोक्सीको घर’ भन्ने कुरा हुन्छ या हुँदैन थाहा छैन । तर हुन्छ, दिमागमा हुन्छ ।

आफूलाई पात्रमा कसरी रुपान्तरण गर्नुभयो ? कथित बोक्सीको जीवन बाँच्दाको मनोदशा कस्तो हुने रहेछ ?

मेरो जीवनमा एकदमै दर्दनाक अनुभव भयो । जिन्दगीमा आफैंले भोगेको जस्तो लागेर सोच्दा पीडादायी पनि महसुस हुन्छ । योभन्दा अघि मैले कहिल्यै पनि पात्र निर्माणमा काम गर्ने मौका र समय पाएकी थिइनँ । एक त यो आफ्नो फिल्म पनि भयो । त्यो समय काम पनि कम थियो । संयोगवश एउटा अवसर पनि सिर्जना भएको थियो । मसँग ६ महिनाको समय थियो । तयारी गर्न समय पाएँ । निर्देशक सुलक्षण भारती कठिन निर्देशक पनि हुनुहुन्छ । लर्तरो मान्छेले उहाँसँग काम गर्न सक्दैन भन्ने भनाइ छ । उहाँसँग सहकार्य गर्ने कुरा बाहिरिएपछि धेरैले फोन गरेर पछाडि हट्न सुझाव पनि दिनुभयो । उहाँ आफ्नो कामलाई लिएर यति गम्भीर हुनुहुन्छ कि अर्को व्यक्तिबाट पनि सोही किसिमको अपेक्षा राख्नुहुन्छ ।

म आफ्नै फिल्ममा आफैंले अडिसन दिएर आएकी हुँ । नत्र यो प्रोजेक्टका लागि यति खर्च भइसकेको थियो कि अरुलाई नै लिएर भएपनि बनाउनुपर्ने अवस्था थियो । यो कम्फर्ट जोनको क्यारेक्टर होइन । यसमा भ्वाइसमा काम हुनुपर्छ, बडी ल्यांग्वेज अर्कै देखिनुपर्छ । केकी देखिन मिल्दैन । यसकारण मसँग चारदेखि ६ साताको प्रतिबद्धता चाहिन्छ भन्नुभयो । बिहान ५ बजे वर्कसपमा आउनुपर्छ र बेलुका ८ बजे घरमा जान पाउनुहुन्छ । बीचमा एक घण्टा फोन चलाउन पाउनुहुन्छ लन्च ब्रेकमा । यो ब्रेकमा निर्मात्रीको रुपमा तपाईंले गर्नुपर्ने काम गर्नुस्, नत्र नगर्नुस् भन्नुभयो । म बिहान ठीक ५ बजे कीर्तिपुर टीयूमा पुग्थें । म समयमै पुगिनँ भने उहाँ पाँच मिनेट पनि कुर्नु हुन्नथ्यो । म त्यो जर्नीबाट गुज्रिएँ ।

बीचमा फ्रस्टेड पनि भएँ । चित्त दुःख्थ्यो, रुन्थें, चिच्याउँथे । उहाँजस्तो घामड मान्छेसँग काम गर्दिन भन्थें । तर मसँग पछि हट्ने ठाउँ थिएन । उहाँले मलाई आँखामा पट्टी बाँधिदिनुहुन्थ्यो । पट्टी बाँधेर म प्रत्येक दिन टीयूको जंगल एक घण्टा हिंड्नुपर्थ्यो । किनभने मेरो जंगलमा बस्ने बानी छैन । मलाई व्यक्तिगत रुपमा जुकासँग पनि डर लाग्छ । तर पात्रको मनोदशा मेरो अलग हुनुपर्‍यो । त्यो खालको यात्राबाट हामी गुज्रियौं । त्यसपछि भ्वाइस र बडी ल्यांग्वेजमा काम गर्न थाल्यौं । फिल्ममा मैले कपाल खौरिएकी पनि थिएँ । यही फिल्मको लागि तक्लु भएकी थिएँ । आरोपित महिलामा यो कुरामा सामान्य हो । त्यसबाट यो पात्र पनि जानुपर्नेछ ।

निर्मात्रीको रुपमा तपाईं कस्ता कथामा काम गर्न रुचाउनुहुन्छ ?

म दीर्घकालीन योजना बनाउने व्यक्तिमा पर्दिनँ । छोटो समयका लक्ष्यहरु बनाउँछु । ती गोलमा लागिपर्छु र त्यो सकिएपछि अरु लक्ष्यमा जम्प गर्छु । अहिलेको मेरो योजना भनेको कसरी यो फिल्मको बजारीकरण राम्रोसँग गर्ने हो । जहाँ धेरै दर्शक छन्, त्यहाँ कसरी पुग्न सकिन्छ भन्नेमा मात्र मेरो ध्याउन्न छ । निर्मात्रीको रुपमा त्यो विषयले छुनैपर्छ । नत्र, उत्प्रेरणा आउँदैन भने जोखिम बहन गर्न सक्ने क्षमता पनि बढ्दैन ।

मैले जुन विषयमा फिल्म बनाउँछु, त्यसले मलाई कुनै न कुनै रुपमा छोएकै हुन्छ । धुमधडाका टाइपको व्यावसायिक फिल्म बनाउन पनि मन लाग्छ । तर यस्तो दर्शकको समूह पनि छ जहाँ पनि हामी पुग्नुपर्छ । यो विषयमा पनि कसै न कसैले फिल्म त बनाउनुपर्‍यो नि । अहिले त्यो चरणमा छु ।

केकी अधिकारी प्रोडक्सनका आगामी योजना कस्ता छन् ?

हामी टेलिभिजन रियालिटी शो पनि अघि बढाइरहेका छौं । तर फिल्म बनाउँदा मास अपिलिङ पनि होस् र त्यसको प्रभाव पनि होस् भन्ने मलाई लाग्छ । यसबीचमा जति पनि फिल्म घोषणा भएका थिए । दुईटा फिल्म साइन गरेर नगर्ने निधो गरेकी हुँ । किनभने म एउटा जोनमा हुनु जरुरी छ । निर्माताको रुपमा म शतप्रतिशत दिन चाहन्छु । यसबीचमा साहित्यमा रुचि भएकाले पोएट आइडल पनि गरिरहेकी छु । रातदिन, बिहान, दिउँसो नभनीकन अहिले ‘बोक्सीको घर’को प्रवर्द्धनमा व्यस्त छु ।

यस्तो कथा भन्न महिलाहरु किन बढी सहभाग हुनुपर्छ जस्तो लाग्छ ?

सबै लैंगिक समुदायका मान्छे आउनुपर्छ । हामीले नेपाली फिल्ममा पुरुष बाहुल्यता देखिरहेका छौं । धेरै राम्रो मेकर पनि हुनुहुन्छ । तर महिला न्यारेसन र दृष्टिकोण कम छ । फिल्ममा महिला सहभागिता बढ्दा, नयाँ नयाँ आयामबाट चीजलाई हेर्न सकिन्छ । अर्को कुरा, सामान्य प्रश्नहरु जुनबाट तपाईं बच्न सक्नुहुन्न । मैले मेरो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानुपर्नेछ, डिजिटल रुपमा बेच्नुपर्नेछ । किनभने मलाई निश्चित रकम त चाहिन्छ ।

कुराकानी गर्दा पनि सुरुमा हिरो को छ भने सोधिन्छ । हिरो कोही चिनेको छ भने मूल्य उच्च हुन्छ । अन्यथा तपाईंले जति वर्ष काम गरेपनि त्यसको मूल्य त रहेन रैछ नि त । त्यो भ्यालु पाइनँ मैले फिल्मको लागि । यी कुराको लागि बढीभन्दा बढी महिला सहभागिता हुनुपर्छ । हिरो मात्र होइन, ‘बोक्सीको घर’मा कन्टेन्ट नै हिरो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?