+
+

थ्री इडियट्स : नेपाली शिक्षाका तीन पटमूर्ख

शिव मुखिया शिव मुखिया
२०८० चैत ८ गते ७:०१

एक क्यानेडियन साथी थिए, मज्जाले नेपाली बोल्ने । पारिलो घाम तापेर थोत्रो ‘मेरो महेन्द्रमाला’ पल्टाइरहेका उनी अचानक मरीमरी हाँस्न थाले । हामीले ‘के भयो’ भनी सोध्दा उनको प्रतिप्रश्न थियो, ‘के यो गीत कमैयाका छोराछोरीले पनि गाउँछन् ?’

उनले इंगित गरेको पानामा कक्षागत गीत थियो । त्यसका पहिलो हरफमा लेखिएको थियो-

हामी जन्मैदेखि स्वतन्त्र छौं

हामीलाई कसैको दासत्व स्वीकार छैन

जो पुर्ख्यौली ऋण चुक्ता गर्न जीवनभर साहुको ‘बन्धकी’ हुन्छन्, उनीहरुले कसरी ‘हामी स्वतन्त्र छौं’ भन्दै भाका हाल्दो हो ? यही असंगत कुराले क्यानेडियन साथीलाई खित्का छाड्नेगरी हँसाएछ ।

यो हाम्रा पालाका कुरा भो । अहिले छोराछोरी विद्यालयमा के पढ्दैछन् ? चियोचर्चा गरौं ।

****

‘अरनिकोको जन्म ७७५ वर्षभन्दा अघि भएको हो’ ।

‘अरनिको’ भन्ने पाठमा लेखिएको वाक्य हो यो, जुन कक्षा ७ का विद्यार्थीले पढ्नुपर्छ । कुन सालबाट गन्ती गर्दा ७७५ वर्षअघि ? किताबमा स्पष्ट छैन । लेख्नेले नै ‘अड्कल’ गरेर लेख्छन् भने बालबालिकाले त्यो जन्ममिति घोकेर के दिव्यज्ञान प्राप्त गर्छन् ?

जबकि संस्कृतविद् सत्यमोहन जोशीले चीन पुगेर अरनिकोबारे गहन खोज गरेका छन् । ‘अरनिकोकृत श्वेतचैत्य’ महाकाव्य नै लेखेका छन् । चीनको युआन राजवंशको इतिहासमा पनि अरनिकोको जीवनी उल्लेख रहेछ । अरुपनि थुप्रै शोध–अध्ययन पाइन्छन्, अरनिकोबारे ।

यावत् स्रोतलाई मिहिन ढंगले केलाएर अरनिकोबारे घतलाग्दा तथ्यहरु उद्घाटन गर्न सकिन्थ्यो । तब ‘अरनिको’ शीर्षकको पाठ पढ्दै जाँदा बालबालिका थप उत्सुक हुन्थे । जति पढ्यो उति जान्ने कौतुहलता जाग्थ्यो ।

– त्यो जमानामा चीनका शक्तिशाली सम्राटले अरनिकोबारे कसरी थाहा पाए ?

– अरनिकोले नेपालमा कुनै मठमन्दिर बनाए ? कहाँ ?

– बेइजिङमा अरनिकोलाई समाधिस्थ गरेपछि राखिएको अन्त्येष्टि शिलालेखमा के लेखिएको होला ?

– ताइवानको ताइपेई र अमेरिकाको लस एन्जलसस्थित संग्रहालयमा अरनिकोले बनाएको कलाकृति कसरी राखिएको छ ?’

तर हाम्रो पाठ्यपुस्तकका लेखकलाई ‘झ्याउ’ लागेछ, यसरी सचेतपूर्वक खोज्न र मसिनो ढंगले केलाउन । उनले अरनिकोलाई दन्त्यकथा जस्तो बनाए । र, यस्तो लेखिपठाए, ‘साधारण परिवारमा जन्मेकाले उनले पढ्ने मौका भने पाएनन्’ ।

नेपालमा आधुनिक शिक्षाको सुरुवात भएको बल्लतल्ल १०० वर्ष पार गर्दैछ । हाम्रो अघिल्लो पुस्तासम्म पनि ‘पठनपाठन’ अनिवार्य र अपरिहार्य थिएन । ७०० वर्षअघि शिक्षादीक्षाको परिपाटी के थियो ? त्यसबेला गरिब भएकै कारण अरनिकोले विद्यालय जान पाएनन् ? मासिक शुल्क तिर्न नसकेर ?

‘अरे, कहना क्या चाहते हो ?’ भन्नु जस्तो ।

****

उत्तर दिनुहोस् :

(क) यात्रीको थकाइ स्वर्गद्वारी पुगेपछि कसरी भाग्यो ?

कुन महापुरुषले दिनसक्छ यसको उत्तर ? जबकि कलिला बालबालिकाले यही प्रश्नको ‘सिर्जनात्मक उत्तर’ लेखेर फर्स्ट डिभिजन ल्याउनुपर्छ । किनभने पाठ्यपुस्कतमा ‘साँच्चै ! स्वर्ग जाने ढोका नै हो ?’ शीर्षकको नियात्रा अन्तर्गत अभ्यास खण्डमा उक्त प्रश्न सोधिएको छ ।

‘थकाइ कसरी भाग्यो त ?’ सो पाठमा खोज्दै जाँदा यसरी भागेको उल्लेख छ- ‘फ्यात्त झोला मिल्काएर थ्याच्च भुईंमा बस्यौं । स्वर्गद्वारीको चिसो हावाले थकाइ कता भाग्यो कता ।’

यसबाट बालबालिकाले के बुझ्ने ?

१. थ्याच्च भुईंमा बस्दा थकाइ भाग्छ ।

२. चिसो हावाले थकाइ भाग्छ ।

यात्रीको थकाइ कसरी भाग्यो ? भन्ने प्रश्नको उत्तर लेखेर बच्चाले आफूमा कुन क्षमता विकास गर्छन् ?

सो पाठ ‘स्वर्गद्वारी’को विषयमा हो । तर त्यहाँ स्वर्गद्वारीको स्पष्ट चित्रण, धरातलीय आकर्षण, पौराणिक मूल्य, पर्यटकीय सम्भावनाबारे केही लेखिएको छैन । बरु ‘स्वर्गद्वारी’ नामकरणबारे सारमा यस्तो लेखिएको छ, ‘आफू मरेपछि स्वर्ग जान पाइयोस् भन्ने कामना गर्दै सोह्रजना ऋषिले अखण्ड यज्ञ गरेछन् । र, उनीहरुले मुक्ति पाएछन् । त्यही कारण यसको नाम स्वर्गद्वारी रह्यो ।’

एआईको युगमा हुर्किरहेका बालबालिकालाई यस्तो काइते कुरा रटाइन्छ । यो त ‘चमत्कार’लाई ‘बलात्कार’ बनाउने कुरा भएन र ?

****

‘..देश हाम्रो भविष्य हो आज यसलाई पालौं

न कसैको बिर्ता हो योन कसैको पेवा

सागसिस्नु आफ्नै मठो भन्दा उसको मेवा

बाल कविता प्रतियोगितामा भिडाउन लेखिएको कविता होइन यो । कक्षा ७ को पुस्तकमा समावेश मूलपाठ हो । यही कविता रटेर हाम्रा छोराछोरीले ‘भविष्यको कर्णधार’ बन्नुपर्ने हुन्छ ।

‘देश कसरी हाम्रो भविष्य हो ? देशलाई कसरी पाल्ने ? आफ्नो सागसिस्नु र उसको मेवा भनेको के हो ?’ बाल मस्तिष्कलाई यी प्रश्नले अलमल बनाउँछ । जबकि कुनै पनि पढेका कुरालाई स्नायुतन्त्रले सन्देशको रुपमा मस्तिष्कमा पठाउँछ । मस्तिष्कले सो सन्देशको चित्र बनाउँछ र ग्रहण गर्छ । यदि सन्देश नै स्पष्ट हुन्न भने मस्तिष्कमा त्यसको चित्र कस्तो बन्दो हो ? कसरी त्यो संग्रहित हुँदो हो ? यस्ता अर्थहीन वाक्य-गठनबाट कलिलो मस्तिष्क अरु भ्रमित हुन पुग्छ ।

‘कन्फ्युजन ही कन्फ्युजन है, सोलुसन कुछ पता नहीं

सोलुसन जो मिले ते साला, क्वेस्चन क्या था पता नही’ भनेको यही होला ।

****

नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालयमा पढाउनु’ भनी स्वीकृत दिएको पुस्तकको हविगत हो यो । निजी स्कुलले अभिभावकलाई खल्ती रित्याएर यस्तै किताब किन्न लगाउँछ र बालबालिकालाई घुँडा धँसेर घोक्न लगाउँछ ।

सरकार मातहातका जनक शिक्षा सामग्री केन्द्रले देशभरलाई पुग्दो पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने हो । तर यसले सक्दैन, चाहँदैन ।

त्यसो त उसले तयार गरको पाठ्यपुस्तक पनि उति गतिलो छैन । नेपालमा पहिलोपटक गरिएको पाठ्यपुस्तक अडिटसम्बन्धी प्रतिवेदनले यसै भन्छ । एजुकेसन इन एभ्री होमको नेतृत्वमा केही नमुना पाठ्यपुस्तकमाथि विस्तृत अध्ययन गर्दा के पाइयो भने सरकारी विद्यालयमा पढाइने पुस्तकमा गलत विवरण, झुटो इतिहास र अरु थुप्रै त्रुटि छन् ।

एउटा उदाहरण, अब्राहम लिंकनले लेखेको ‘मेरो छोराले के सिकोस्’ शीर्षकको पत्र । खासमा यो अब्राहम लिंकनले लेखेकै होइनन् । हाँसउठ्दो कुरा के भने यो चिठीमा जुन मिति उल्लेख छ, त्यसबेला लिंकनको मृत्यु भएकै १६ वर्ष बितिसकेको रहेछ ।

‘हुँदै नभएको कुरा राखेर, तथ्यहरु जाँच नगरी लापरवाही ढंगले पाठ्यपुस्तक तयार गरिएको छ,’ होमराज आचार्य भन्छन्, ‘यस्तो पाठ पढेर बालबालिकाले के सिक्ने ?’ उनी एजुसेकन इन एभ्री होमका अध्यक्ष हुन् ।

रान्चोडदास चांचड सही भन्छन्, ‘यस्तो किताबी परिभाषा रटेर के फाइदा ?’

तर शिक्षा प्रणालीले धमास दिन्छ, ‘के तिमी किताबभन्दा पनि जान्ने छौं ? यदि पास गर्नुछ भने यही किताब पढ्नुपर्छ ।’

****

पत्रकार एवं पुस्तक समीक्षक राजकुमार बानियाँले एउटा रहस्योद्घाटन गरेका थिए, विद्यालयको पाठ्यपुस्तक तयार गर्नेमा कति घटिया चलखेल हुन्छ भनी । उनी सारमा यसो लेख्छन्, ‘मेरो छोरोले कक्षा ८, ९ र ११ मा सुधा त्रिपाठी नामकी एउटै लेखकलाई तीन-तीन पटकसम्म पढिसक्यो । जबकि उनको लेख पढ्न योग्य र लायक पनि छैन । विद्यालयको पाठ्यपुस्तकमै त्यति कमसल कथा-कविता राख्नुपर्ने बाध्यता के थियो, त्यो पनि एउटै लेखकको ?’

खोज्दै जाँदा उनले एउटा गाँठी कुरा फेला पारेछन् । उनी लेख्छन्, ‘खासमा लेखक सुधा त्रिपाठीका पति प्रा. डा. रमेशप्रसाद भट्टराई डेढ दशक बढी समयदेखि पाठ्यक्रम विकास केन्द्रका अध्यक्षका रुपमा विराजमान रहेछन् । उनको एउटै ध्येय आफ्नी श्रीमतीको लेखलाई पाठ्यपुस्तकमा राख्ने भन्ने देखियो ।’

पाठ्यपुस्तक तयार गर्ने काम ‘बच्चाको खेल’ होइन । यसका लागि बालबालिकाको उमेरअनुसार हुने मस्तिष्कको  विकास, मनोविज्ञान, उनीहरुको सुन्ने-सोच्ने-सिक्ने क्षमतालाई ध्यान राख्नुपर्ने हुन्छ ।

तर नेपालमा पाठ्यपुस्तक तयार गर्न गुटबन्दी र राजनीतिक भागबण्डा हुने गरेको पत्रकार बानियाँ  बताउँछन् । उनी भन्छन्, ‘पाठ्यपुस्तकमा कसको लेख राख्ने भनेर पार्टीहरुको भागबण्डा हुन्छ । त्यहाँ स्तरीय लेख राख्ने भन्दा पनि पार्टीको चित्त बुझाउने काम हुन्छ ।’

‘ठूलो मान्छे’ बनाउन भनी विद्यालय पठाएका छोराछोरीले के पढ्दैछन् ? हामीलाई थाहा पत्तो छैन । हामीलाई त यति मात्र थाहा छ, ‘मेरो बेटा फलानोको छोरो जस्तै फर्स्ट हुनुपर्छ ? फलानोको भतिज जस्तै आईटी इन्जिनियर बन्नुपर्छ ? फलानोको नाति जस्तै मालपोतको हाकिम हुनुपर्छ ।’

****

अलार्मको ध्वनिसँगै अनिंदो उठी गृहकार्य सकाएर, घरको ताजा दालभात छाडी क्यान्टिनको पकौडा खाएर, टिमिक्क टाइ अनि टल्किने जुत्ता लगाएर, मेरुदण्ड नुहिनेगरी किताबको भारी बोकेर विद्यालय धाइरहेका बालबालिकाको जिन्दगानी उमंगमय छैन ।

– किनभने उनीहरुले विद्यालयमा प्रश्न होइन, उत्तर लिएर जानुपर्छ ।

– कक्षामा बोल्न होइन, ज्ञानी भएर चुप लाग्नुपर्छ ।

– फुटबल खेल्न, गीत गाउन होइन, आज्ञाकारी भएर पाठ घोक्नुपर्छ ।

– आफ्ना रुचि होइन, शिक्षक र अभिभावकको लक्ष्य पछ्याउनुपर्छ ।

दिनको औसत आठ घण्टा कक्षाकोठामा बिताउनुपर्छ । वर्षको करिब २६५ दिन पढाइलेखाइमा लगाउनुपर्छ । जीवनको लगभग १५ वर्ष यसरी नै खर्चिनुपर्छ ।

यो अविश्राम दौडपछि बल्ल उनले दीक्षान्त पोशाक (कालो ह्याट र गाउन) लगाएर मुसुक्क हाँसी फोटो खिच्न पाउँछन् । ‘शैक्षिक योग्यता’को प्रमाणपत्र पाउँछन् । त्यसपछि ?

त्यसपछि अर्को दौड सुरु हुन्छ, जागिरको । ‘भ्याकेन्सी अनाउन्समेन्ट’ खोज्दै ‘बायोडाटा’ पेश गर्दैमा वर्ष दिन बित्छ । रोजगारदाताले अन्तर्वार्तामा बोलाउँछन् र सोध्छन्, ‘के जानेको छौं ? तिमीसँग भएको सीप के हो ?’

विद्यार्थी भन्छन्, ‘मसँग शैक्षिक योग्यताको प्रमाणपत्र छ ।’

रोजगारदाता भन्छन्, ‘प्रमाणपत्र होइन, हामीलाई त काम चाहिएको हो ।’ मलिन अनुहार बोकर फर्किएका उनीहरु ‘प्रमाणपत्र बिक्ने’ जागिरको खोजीमा लाग्छन् । अनि फेरि सुरु हुन्छ, लोकसेवा आयोगको दौड ।

‘कर्णालीको लम्बाइ कति छ ?’

‘संविधान भनेको के हो ?’

‘क्यामेराको आविष्कार कसले गरेका हुन् ?’

‘नेपालको पर्यटन वर्ष २०११ को मूल नारा के थियो ?’

‘राजनीतिमा सबैभन्दा बढी महिला सहभागी भएको देश कुन हो ?’

‘नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कुन हो ?’

यस्तै प्रश्नोत्तर हल गरेपछि हजारौं प्रतिस्पर्धीमध्येबाट ‘मिहिनेती’हरुले नाम निकाल्छन् । सरकारी जागिर पक्का हुन्छ । ‘भविष्यको डर’ हराउँछ । उत्तीर्ण नभए ? तीन विकल्प बाँकी रहन्छ ।

१. नेता-नातेदारलाई भनसुन गरी जागिर खाने ।

२. आईईएलटीस, टोफेल वा ईपीएसको कक्षा लिने ।

३. पासपोर्ट च्यापेर म्यानपावरतिर धाउने ।

यतिबेलासम्म समयले कोल्टे फेरिसकेको हुन्छ । कम्प्युटरमा ‘भाइरस पस्छ’ भन्दै जुत्ता खोलेर साइबर छिर्ने पुस्तालाई ‘एआई’ले चक्मा दिइसकेको हुन्छ । दुई कक्षाको पढाइ हापेर मोटरसाइकलको पार्टपूर्जा धुईपखाली गर्ने ११ वर्षीय फुच्चे मासिक ८० हजार रुपैयाँ सटर भाडा तिर्नेगरी ‘छोटु मोटरसाइकल पार्ट्स एण्ड वर्कसप’को मालिक भइसकेको हुन्छ ।

****

वयस्क भएपछि, बिहेवारी गरेपछि, व्यवहारमा परेपछि अक्सर नेपालीलाई यी प्रश्नले झसंग बनाउँछ-

– ‘नेपालीको निपात, द्रव्यवाचक नाम, पर्यावाची शब्द मेरो जीवनमा किन आएन ?’

– ‘गणितको फर्मूला, डेसिमल, अल्जेब्राले मलाई किन सहयोग गरेन ?’

– ‘विज्ञानको आमिबा, लिभिङ थिङ्स-नन लिभिङ थिङ्स, एचटुओले मेरो कामलाई किन सजिलो बनाएन ?’

आखिर यतिविघ्न कुरा किन रटाइयो, किन घोकाइयो, किन परीक्षा दिन लगाइयो ?

हाम्रा विद्वानहरु त भन्छन्, ‘बच्चाले सबै कुरा सिक्नुपर्छ, सबै कुरा जान्नुपर्छ । कुन वाष्प प्रतिक्रियाबाट आगो बल्छदेखि शार्दूलविक्रीडित छन्द कविता लेख्नसम्म जान्नुपर्छ ।’

हो, जान्नु नराम्रो होइन । मार्क जुकरबर्गले शास्त्रीय नृत्य जानेको राम्रो, लियोनल मेस्सीले इन्जिनियरिङ जानेको राम्रो, शाहरुख खानले डाटा साइन्स जानेको राम्रो, रामदेवले मार्शल आर्ट जानेको राम्रो, विनोद चौधरीले चौरासी व्यञ्जनको रेसेपी जानेको राम्रो ।

तर शरीर र मस्तिष्कको जैविक प्रकृतिले यसो भन्दैन । मान्छेको रुचि, क्षमता, गुणदोषको विकासक्रम फरक हुन्छ । र, फरक हुन्छ हरेक जन्मिने बच्चा पनि । उनीहरुको सुन्ने, सिक्ने, बुझ्ने र अभ्यास गर्ने खुबी पनि एकनास हुँदैन । तर हरेक बच्चा आफैंमा विशेष हुन्छन् । उनीहरु कहिल्यै ‘कमजोर’, ‘बुद्दू’, ‘फेल’ हुँदैनन् ।

बरु उनीहरुलाई हुर्काउन नजान्ने आमाबुवा, सिकाउन नजान्ने शिक्षक, बुझाउन नजान्ने पठन विधि फेल हुन्छन् । यसरी नै फेल हुन्छ, शैक्षिक प्रणाली ।

हामीले कहिल्यै सोधेनौं, ‘तिमी के कुरामा रमाउँछौं ? के कुराले तिमीलाई खुसी बनाउँछ ?’

हामीले कहिल्यै सोचेनौं, ‘बच्चाको क्षमता के छ, गुण र खुबी के छ ?’

हामीले कहिल्यै भन्न दिएनौं, ‘उनीहरु के बन्न चाहन्छन् ? के गर्न चाहन्छन् ।’

बरु, एउटै कक्षामा राखेर, एकनासे किताब घोकाएर भनिरह्यौं, ‘परीक्षामा जस्ताको तस्तै लेख्नु है । फर्स्ट हुनु । सबैलाई उछिन्नु ।’

त्यसो नहुँदो हो त हेनरी फोर्ड बन्ने, ज्याक मा बन्ने, सुन्दर पिचाई बन्ने, क्रिस्टियानो रोनाल्डो बन्ने, रिहाना बन्ने बालबालिकाहरु फ्याक्ट्रीबाट उत्पादन भई बजारमा बिक्रीका लागि तयार गरिने एकै नापतौल र ब्रान्डका ‘प्रोडक्ट’ जस्ता हुने थिएनन् । अनि हुने थिएनन् श्रम भिसा च्यापेर लाममा उभिनेहरु, टोफेल गर्न कन्सल्टेन्सी धाउनेहरु र ‘जंगबहादुरको मृत्यु कति सालमा भएको थियो ?’ भनी लोकसेवाको प्रश्नपत्र घोक्नेहरु ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?