
८ चैत, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडाका युवा जगदिश बिडारीले ‘बारिस्टा कफी ऐकेडेमी’ सञ्चालनमा ल्याएका छन् ।
कतार र क्रोएसिया गरी सात वर्ष विदेश बसेर नेपाल फर्केपछि कफी सप सुरु गरेका उनले एकेडेमी पनि सञ्चालन गरे । अहिले उनको लगानी डेढ करोड रुपैयाँ बराबर पुगेको छ ।
मनहरी गाउँपालिका स्थायी घर भएका बिडारीले हेटौंडामा दुइटा भव्य कफी सप सञ्चालनमा ल्याएका छन् । कतार ऐयरवेजमा ६ वर्ष काम गरेका बिडारीले क्रोएसियाको एक रेस्टुरेन्टमा एक वर्ष काम गरेपछि नेपालमा कफी सप खोल्ने सपना बुनेका थिए ।
‘नेपालमै केही गर्न सकिन्छ भनेर पाँच वर्ष अगाडि म फर्किंए, आफूले कमाएको पैसाले हेटौंडा–१० मा जे एन्ड बी कफी सप सुरु गरें’ बिडारीले अनलाइनखबरसँग भने, ‘त्यो बेला मेरो लगानी ८० लाख भएको थियो ।’
नेपालमा कफी खाने र यसका सौखिन मानिस बढ्दै गएको देखेर कफी सप सुरु गरेका बिडारीले पाँच वर्षपछि जे एन्ड बी बारिस्टा एकेडेमी खोलेसँगै अब उनको लगानी डेढ करोड पुगेको छ ।
‘आजभोलि नेपालमै केही हुँदैन भनेर लाखौं खर्च गरेर मान्छे विदेश गइरहेका छन् । विदेश जाने खर्चमा केही थप गर्न सके नेपालमा पनि राम्रो व्यवसाय सहित आम्दानी हुन्छ भन्ने कुरा मेरै कफी सपबाट पनि थाहा हुन्छ,’ उनी भन्छन्, ‘मैले पहिले कफी सप राम्रै चलेर दोस्रो सुरु गरेको हुँ ।’
१७ जनालाई प्रत्यक्ष रोजगारी
बिडारीले दुइटा कफी सपमा १७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘कफी बनाउन नयाँ मोडेलको मेसिन ल्याएको छु । मैले कफी उच्च गुणस्तरमा बिक्री गर्न यसको गुणस्तर परीक्षण गर्दै छु,’ उनले भने, ‘नेपालकै कफीको गुणस्तर मेरो क्याफेमा पनि होस् र यहाँको कफी युरोपमा पनि बिक्री होस् भनेर क्रोएसियामा पहिलो पटक २० किलो कफी गुणस्तर मापनका लागि पठाएको छु ।’
बिडारीले क्रोएसियामै बसेर आफ्नो एक साथीले व्यवसाय गरिरहेको सुनाउँदै उता पनि नेपाली कफीको माग भए आफूले निर्यात गर्ने योजना समेत बनाएको बताए ।
तालिम दिने योजना
बिडारीले कफी सप मात्रै सञ्चालन नगरी बारिस्टा कफी मेकर उत्पादन गर्न तालिम पनि सञ्चालन गर्ने सुनाए ।
‘संसारभरि कस्ता कफी बनाइन्छ, त्यसको अध्ययन गरेर हामी कफी एकेडेमीबाट कफी बनाउने तालिम पनि दिन्छौं । हामीले दिएको तालिमपछि दक्ष जनशक्ति निर्माण हुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘तालिमबाट निस्केकाले आफैं व्यवसाय सञ्चालन गर्न वा देश, विदेशमा कफी सपमा सीप बेचेरै खान समस्या हुँदैन ।’
कफी बनाउने तालिम दुई साता, एक महिने इन्टरमिडिएट, ४५ दिनको एड्भान्स कोर्स, तीन महिने मास्टर्स कोर्स सञ्चालन गर्न थालेको उनले बताए ।
उनले सुरु गरेको जे एन्ड बी बारिस्टा एकेडेमीबारे हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले देशमा केही छैन भन्दै विदेश गइरहेका युवाका लागि नेपालमै बस्न प्रेरणा मिल्ने बताइन् ।
‘नेपालमै व्यवसाय सुरु गरे रोजगारी दिने गरी आम्दानी र उत्पादन हुन समस्या छैन भन्ने देखिएको छ । युवा स्वरोजगार भएर सुरु गरेको व्यवसायले ठूलो व्यवसायमा परिणत हुने उदाहरण एउटा हो’, लामाले भनिन् ।
प्रतिक्रिया 4