+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

लोप हुन लागेको मौलिक फागु जोगाउँदै पाल्पाका बासिन्दा

कमल अधिकारी कमल अधिकारी
२०८० चैत ११ गते १४:३०

११ चैत, पाल्पा । पश्चिम नेपालका पहाडी जिल्लाहरुमा गाउँघर र टोलटोलमा ट्याम्को, ढोलक, खैजडी, मजुरा बजाएर फागु खेल्ने पुरानो संस्कृति विस्तारै हराउदै गएको छ । आधुनिकता र प्रविधिको विकाससंगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेको हो ।

मौलिक फागु संरक्षणका लागि पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीमा सबै टोलहरुमा समूह बनाएर फागु सिकाउने, गाउने नाच्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माणसंगै मौलिक संस्कृतिको पनि संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यका साथ फागु विशेष कार्यक्रम सुरु गरेको वडाध्यक्ष राजकुमार पन्थीले बताए । सो गाउँमा पूर्णिमाको केहीदिन अघिदेखि नै पाका पुस्ताले युवाहरुलाई फागु सिकाउँदै आएका छन् ।

त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गाउने प्रचलन छ । जुन अहिलेको पुस्तालाई थाहै नहुँदा लोप हुन लागेको माथागढी १ का भुनबहादुर गाहामगरले बताए । आफूहरुले बाजेहरुसंग फागु खेलेको स्मरण गर्दै उनले भने, ‘अहिलेका पुस्तलाई चासो नै छैन । डेक र मोबाइलमा गीत बजाउँछन् हाम्रो पालको फागु हराउन थालेपछि अहिले हामी सबैलाई सिकाउन लागि परेका छौं ।’

फागु गाउँदा भाका ठाउँ अनुसार फरक फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजार गीतअनुसार नाच देखाउदै नाच्ने गरिन्छ । दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरुमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ ।

फागु सिक्न पाउँदा खुसी लागेको र आफ्ना छोराछोरीलाई पनि यसबारे जानकारी दिने चिदीपानीकी खगीसरा गाहाले बताइन् । विगतमा फागु पूर्णिमाको केहीदिन अघिदेखि नै पाल्पाको भैरवस्थान, खस्यौली, देउराली सर्देवा, सिद्देश्वरसहित जिल्लाका अधिकांश स्थानमा नाचिने फागु अहिले केही स्थानमा पूर्णिमाको दिनमा मात्रै नाचिन्छ ।

युवा पुस्ता विदेश जाने, गाउँमा रहेका मानिसहरु शहरतिर नै पर्व मनाउन उत्साहित हुने हुँदा मौलिक संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन् । फागु पर्वलाई जोगाउन युवालाई गाउँमै स्वरोजगार बनाउन सकेमा मात्रै सयले सार्थकता पाउने रैनादेवी छहरा गाउँपालिका-५ का पदम सोमैले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?