+
+

सबै राष्ट्रले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ११:३९
फाइल तस्वीर !

१२ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैं अडिग रहेको बताएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ -आईपीयू) को १४८औँ महासभालाई सम्बोधन गर्दै उनले नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको पनि बताए ।

‘ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणामहरू हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौं’ सभामुख घिमिरेले भनेका छन्, ‘असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैं अडिग छ ।’

नेपालको संविधानले नै संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध नीति निर्दिष्ट गरेको उनले बताए ।

संविधानले अंगीकार गरेको यो नीतिलाई नेपालको संघीय संसदले आत्मसात गरेको पनि उनले बताए ।

वर्तमान समयमा भने संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सिर्जना भएको पनि उनले स्मरण गराए ।

राज्यको नेतृत्वले संसद र आम नागरिकको भावना नबुझी आफूखुसी चालेका कदमहरूबाट धेरैजसो तनावहरूको उत्पति भएको उनको बुझाइ छ ।

सरकारका गतिविधिहरूको निगरानी गर्ने भूमिकामा रहेको संसदले यस्ता स्वेच्छाचारी कदमहरूमा रोक लगाएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति र समझदारी कायम गर्नुपर्ने उनले बताए ।

सभामुख घिमिरेले भनेका छन्, ‘कूटनीतिको कार्यक्षेत्र युद्धको रोकथाम गर्ने वा भइरहेका युद्धको अन्त्य गर्नेमा मात्रै सीमित छैन ।

विश्वका ज्वलन्त चुनौतीहरूको सामना गर्न समान चासो भएका मुलुकहरूको सहकार्य र सामूहिक प्रयास अपरिहार्य छ ।’

‘नेपालले जलवायु परिवर्तनको मार सहिरहेको छ’

सभामुख घिमिरेले नेपालले जलवायु परिवर्तनको मार सहिरहेको पनि बताए ।

नेपाल आफैँमा अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर नेपालले जलवायु परिवर्तनको धेरै ठूलो मार सहन गर्नुपरिरहेको छ ।’

नेपालमा रहेका उच्च हिमालहरूको हिउँ पग्लिने क्रम तीव्र हुँदा त्यस मुनिका पर्यावरण चरम जोखिममा परेको उल्लेख गर्दै उनले यसले समुद्रसँग नजिक रहेका टापु राष्ट्रहरूलाई पनि जोखिममा पारेको बताए ।

यो गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउनुपर्नेमा उनको जोड छ ।

विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकहरूले यसको प्रभाव बढी भोग्ने मुलुकहरूप्रति गरेका प्रतिबद्धताहरू कार्यान्वयन हुनुपर्नेमा पनि सभामुख घिमिरेले जोड दिए ।

आफ्नो राष्ट्रले गरेका वाचाहरू इमानदारीका साथ पूरा गर्न सरकारहरूलाई झकझक्याउनु सांसदहरूको कर्तव्य भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?