+
+

वैदेशिक रोजगारीका क्रममा १५ वर्षमा मकवानपुरका १९३ जनाले गुमाए ज्यान

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० चैत १२ गते १४:४३

१२ चैत, हेटौंडा । परिवारको खुशी र सुखी जीवन खोज्दै वैदेशिक रोजगारीमा होमिएका मकवानपुरका युवाहरूमध्ये केहीले उतै ज्यान गुमाउने क्रम रोकिएको छैन ।

पछिल्लोपटक २१ माघ २०८० मा मकवानपुरगढीका एक युवकले मलेसियामा ज्यान गुमाए । घरको कमजोर आर्थिक अवस्था उकास्न मलेसिया पुगेका थिए, मकवानपुरगढी–५ का माधव ढुंगाना ।

घरको जेठो छोराको जिम्मेवारी काँधमा बोकेर २५ वर्षको उमेरमै वैदेशिक रोजगारीका लागि मलेसिया गएका माधवको शव बाकसमा फर्किंदा गाउँ शोकमग्न बन्यो ।

मकवानपुरस्थित आप्रवासी स्रोत केन्द्रका अनुसार माधव जस्तै मकवानपुरका १९३ जनाले २०६५ सालदेखि २०८० को फागुनसम्म वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।

आप्रवासी स्रोत केन्द्र सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन (सामी) परियोजनामा विगत १० वर्षमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका ६२ जना बिरामी तथा अंगभंग भएको तथ्यांक छ ।

त्यस्तै २०७५/७६ मा बागमती प्रदेशका ९७ जनाको मृत्यु भएको सामी परियोजनाले जनाएको छ । २०७६/७७ मा ९५ जना, ०७७/७८ मा १६९ जना, २०७८/७९ मा १६९ जना र २०७९/८० मा १२५ जनाको मृत्यु भएको जनाइएको छ ।

मकवानपुरबाट गत आर्थिक वर्ष २०७९/८० मा १३ हजार १०१ जना वैदेशिक रोजगारीमा गएको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गत आर्थिक वर्षमा २३ हजार ३८३ जनाले राहदानी लिएका थिए । चालु आव २०८०/८१ को फागुनसम्म ६ हजार ३५० जनाले राहदानी लिएका छन् । मकवानपुरबाट चालु आवको फागुनसम्म ७ हजार ६४७ जनाले पुनः श्रम स्वीकृति लिएको र ५ हजार ३३७ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक छ ।

सामी परियोजनाले विदेश जान चाहनेलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाको परिवारलाई वित्तीय शिक्षा तथा मनोसामाजिक परामर्श दिइरहेको छ । सामी परियोजना मकवानपुरकी संयोजक अञ्जिता थापा मगरले वैदेशिक रोजगारीबाट फर्किएकाबाट सूचना तथा अनुभव आदानप्रदानको लागि समुदायस्तरका कामसमेत गरिरहेको बताइन् । विदेशमा काम गर्दा सुरक्षित हुने तरिकाबारे पनि परियोजनाले प्रशिक्षण दिंदै आएको छ ।

‘सामी परियोजनामार्फत वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप, भाषालगायतको तयारीबारे परामर्श दिने गरिएको छ,’ मगरले भनिन्, ‘वैदेशिक रोजगारीबाट फर्केकाहरू र वैदेशिक रोजगारीमा रहेकाहरूको परिवारलाई वित्तीय साक्षरता कक्षामार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुल खर्च कटौती जस्ता कार्यमा प्रोत्साहित गर्दै आएका छौं ।’

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?