+
+
विचार :

‘नो नट अगेन’ भन्‍ने, पालैपालो तिनैको ट्वाइसी बन्‍ने !

आफू सत्तामा भएका बखत त्यही चिज असल र उत्कृष्ट देख्ने सुदृष्टि र सत्ता बाहिर जानासाथ सोही चिज कमसल र निकृष्ट देख्ने दृष्टिदोष हाम्रो अर्को समस्या भएको छ ।

खिमलाल देवकोटा खिमलाल देवकोटा
२०८० चैत १३ गते १४:४८

गठबन्धन संस्कृतिको अभावमा बग्रेल्ती गठबन्धन सरकारहरू चलिरहने देश नेपाल हो । गठबन्धन बनाउनु नेपाली राजनीतिको बाध्यता हो । माओवादी युद्धले स्थापित गरेका थुप्रै कुराहरूमध्ये समावेशी राजनीति पनि एक हो । समानुपातिक समावेशी राजनीति नेपाली राजनीतिको एक भिन्नै विशेषताका रूपमा रहिआएको छ ।

अझ भनौं विश्व समुदायका सामुन्नेमा नेपालको सबैभन्दा बिकाउ एजेन्डा नै यही बनेको छ । देशभित्र माओवादीलाई रातो-दिन सरापेर नथाक्नेहरू पनि नेपाली अध्यागमन पार गरेपछि भने नेपाली राजनीतिको सबैभन्दा क्रान्तिकारी र सकारात्मक कुरा भनेको समावेशी समानुपातिक प्रतिनिधित्व हो भन्नेबाट आरम्भ गर्छन् ।

संसारभरिका मुलुकहरूमध्ये थोरै मुलुकमा पर्ने नेपाल महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चित भएको मुलुक हो । स्थानीय तहमा त झन्डै ४० प्रतिशत महिलाको उपस्थिति रहेको छ जो विश्व मञ्चमा बिक्ने नेपाली राजनीतिक उपलब्धि हो ।

यस्ता थुप्रै राजनीतिक परिघटनामध्ये संक्रमणको राजनीति, अस्थिर राजनीति र नैतिकताको खडेरी परेको राजनीति नकारात्मक पाटाहरू हुन् । यी सबै नकारात्मक पाटा पक्षको कारकमध्येको एक गठबन्धन राजनीति पनि हो । समानुपातिक समावेशी राजनीतिका लागि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको हो ।

समानुपातिक निर्वाचन प्रणाली अवलम्बन नगरिएको भए विश्व रंगमञ्चमा नेपालले पस्कने विषय सायद थिएन होला । तर त्यसै निर्वाचन प्रणालीका कारणले गठबन्धनको राजनीति र यसका कारणले राजनीतिक अस्थिरता निम्तिएको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने यतिबेलाको अहम् प्रश्न हो ।

मिश्रित निर्वाचन प्रणाली भएका कारणले कुनै पनि एक दलको बहुमत नआउने कुरा निश्चितप्रायः छ । त्यसैले गठबन्धन अनिवार्य जस्तै बनेको छ । त्यसो त नेपाली राजनीतिले के कुरा पनि सिद्ध गरेको छ भने एकै पार्टीको बहुमतको सरकार पनि पूरा अवधि टिक्दैन ।

२०४७ को नयाँ संविधानपछिको कांग्रेस एकल बहुमतमा थियो । उसले बहुमतको सरकार टिकाउन सकेन । बहुमतको सरकार टिकाउन मात्रै नसकेको हैन, उसले पार्टी विभाजनबाट बचाउन पनि सकेन ।

लगत्तै एमालेले अल्पमतकै भए पनि सरकार बनाएको थियो । तर उसले पनि न सरकार न पार्टी जोगाउन सक्यो । त्यही रोग माओवादीलाई सर्‍यो । जनविद्रोह र २०६२÷६३ को आन्दोलनपछि आयोजना गरिएको संविधान सभाको निर्वाचनमा सर्वाधिक ठूलो पार्टी बनेको माओवादी पनि सरकार र पार्टी दुवै सुरक्षित गर्न नसक्ने हालतमा पुग्यो । नयाँ संविधान जारी भएपछिको निर्वाचनले झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार पनि पूरा अवधि टिकेन । बलियो र एकल बहुमत र वर्चस्वको कम्युनिस्ट पार्टी पनि एक हैन थुप्रै चिरामा विभाजन हुनपुग्यो ।

यो हविगत नेपाली राजनीतिको नकारात्मक विरासत हो । यसका आधारमा के भन्न सकिन्छ भने नेपालमा सरकार गठबन्धनकै बन्ने हो । दुई वा दुईभन्दा बढी पार्टीहरूको सरकार नै आजको यथार्थ हो । गठबन्धन नेपाली राजनीतिको बाध्यता हो । तर सो अनुकूलको चरित्र र संस्कार संस्कृतिको भने सख्त अभाव छ । आजको मुख्य समस्या यही हो ।

प्रेम र युद्धमा सबै चिज जायज हुन्छ भन्ने मान्यता प्रेम र युद्धमा हैन, नेपाली राजनीतिमा हुबहु लागू भएको छ ।

 

नेपालमा राजनीतिक अस्थिरताका लागि निर्वाचन प्रणालीलाई दोष दिइन्छ । जुन कुरा सर्वथा अनुचित छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाएका (नर्वे, स्वीडेन, डेनमार्क र फिनल्याण्ड) नोर्डिक मुलुकहरू, जहाँ कहिल्यै एकल पार्टीको बहुमत आउँदैन । तर कहिल्यै समय अगावै संसद् विघटन भएको पनि छैन । मध्यावधि निर्वाचन सामना गर्नु परेको पनि छैन । सधैं गठबन्धनकै सरकार बनेको छ ।

गठबन्धनमा खटपट परे पनि समाधान गर्न नसकिने अवस्थाको सिर्जना भएको भेटिन्न । यो अनुभवले के देखाउँछ भने समस्या प्रणालीमा हैन संस्कार र संस्कृतिमा छ ।गठबन्धन, राजनैतिक बाध्यता बन्ने । तर हाम्रो संस्कार र संस्कति तदनुकूल हुन नसक्ने । यो बाध्यता र संस्कार बीचको अन्तरविरोध नै हाम्रो मूल समस्या हो ।

सत्ता र शक्ति नै राजनीतिको अन्तिम सत्य हो भन्ने फर्मूला नेपाली राजनीतिमा राम्ररी प्रयोग भएको छ । तर सत्ता र शक्तिका आधारमा सत्य र तथ्यलाई देख्ने, देखाउने र व्याख्या गर्ने संस्कृति त्यत्ति नै हावी भएको छ ।

आफू सत्तामा भएका बखत त्यही चिज असल र उत्कृष्ट देख्ने सुदृष्टि र सत्ता बाहिर जानासाथ सोही चिज कमसल र निकृष्ट देख्ने दृष्टिदोष हाम्रो अर्को समस्या भएको छ ।

सत्ता र शक्तिका लागि जे पनि गर्ने अर्को समस्या हो । प्रेम र युद्धमा सबै चिज जायज हुन्छ भन्ने मान्यता प्रेम र युद्धमा हैन नेपाली राजनीतिमा हुबहु लागू भएको छ । मौसमको भविष्यवाणी गर्न सकिन्छ । तर नेपाली राजनीतिको असम्भव छ भन्ने उखान चरितार्थ हुन थालेका छन् ।

राजनीतिमा सामान्य नैतिकताको मापन र सोको अवलम्बनमा खडेरी परेको छ । त्यसैले सत्ता र शक्ति प्राप्तिका लागि जो जससँग पनि मिल्न र नमिल्न सक्ने सम्भावना बराबर छ ।

कसैसँग किन मिलेको वा किन नमिलेको ? भन्ने बारेमा कुनै औचित्यपूर्ण जवाफ पनि छैन सो जवाफ दिन पनि जरूरी ठान्दैनन् र जस्तोसुकै जवाफ दिए पनि जनता विश्वस्त हुने अवस्था पनि छैन । त्यसैले राजनीति एक अराजक खेल बनेको छ । यो नेपाली राजनीतिको अर्को नकारात्मक चित्र हो ।

जतिसुकै नकारात्मक चित्र भए पनि देशको भूगोल बदल्न सकिन्न । छिमेकी फेर्न सकिन्न । राजनीतिमा पात्र फेर्न सकिन्छ प्रवृत्ति फेर्न सकिन्न भन्ने भाष्य स्थापित भएको छ । तर स्थापित भाष्यमाथि पनि प्रश्न गर्ने बेला भएको छ । पात्र बदल्न सकिन्छ प्रवृत्ति बदल्न किन सकिन्न ?

भूगोल वा छिमेक समस्या हैन भूगोल र छिमेकको प्रवृत्ति समस्या होला । त्यसैगरी नेपाली राजनीतिको पात्र वा प्रवृत्ति दुवै गलत होला भने दुवै बदल्न किन सकिन्न ? यसरी पो सोच्ने हो कि ?

यसरी सोच्दा समय लाग्न सक्छ । नेपाली राजनीतिले पैदा गरेको नेतृत्व रातारात बदल्न सकिन्न । पुराना विरुद्ध विद्रोह गरेका पात्र र प्रवृत्ति तिनै पुरानासँग गठजोड नगरी अघि बढ्न नसकेको विरासत हामीसँग छ । राणा विरुद्धको विद्रोह तर विद्रोह सफल भएपछि पनि तिनै राणा प्रधानमन्त्री ? राजा विरुद्धको विद्रोह पछि तिनै राजासँग सम्झौता ?

संसदीय व्यवस्था विरुद्धको विद्रोह तर पछि त्यही सुधारिएको संसदीय व्यवस्थाको महारथी ? पुरानासँगको सम्बन्धविच्छेद, सबै पुराना ‘नो नट अगेन’ तर पालैपालो तिनैको ट्वाइसी (सेकेन्ड म्यान) ? यी आजको राजनीतिक यथार्थ हुन् । यो यथार्थलाई अनदेखा गरेर वा इन्कार गरेर कहीं पुगिंदैन ।

त्यसो हो भने अबको बाटो भनेको संस्कार बदल्ने हो । आजको वास्तविकतालाई स्वीकार गर्ने हो । आजको परिस्थितिमा गर्न सकिने के हो त्यसको पहिचान गर्ने हो ।

पहिचान गरिएको आजको वास्तविकताका आधारमा राजनीतिलाई हिंडाउने कोसिस गर्ने हो । यति गर्न सक्दा सबै कुराको जवाफ दिन वा धेरै समस्याको समाधान गर्न नसकिएला तर धेरै कुराको जवाफ दिन र धेरै समस्याको समाधान गर्न सकिन्छ ।

आजको एउटै बाध्यता र वास्तविकता यो हो कि नेपाली राजनीतिले धरातलीय यथार्थलाई आत्मसात् गर्न जरूरी छ । यसो भनेको आजको राजनैतिक र संवैधानिक सीमाभित्र एकल पार्टीको बहुमत असम्भवप्रायः छ ।

बहुमत हासिल गरिहाले पनि हाम्रा राजनीतिक क्षमताका कारणले तिनलाई टिकाउन सम्भव छैन भन्ने कुरा पुष्टि भएको छ । त्यसैले फेरि पनि गठबन्धन–गठबन्धन–गठबन्धन आजको वास्तविकता हो ।

गठबन्धन टिकाउको पहिलो आधार विश्वास, विश्वास र फेरि पनि आपसी विश्वास पहिलो आधार हो । दोस्रो सत्य भनेको विचारको आधारमा गठबन्धन हो कि ? एजेन्डाको आधारमा गठबन्धन हो ? वा सत्ता र शक्ति बाँडफाँटमा आधारित गठबन्धन हो ? भन्ने बारेमा प्रष्ट हुन जरूरी छ ।

यो प्रष्टताका आधारमा ती वास्तविकताप्रति इमानदार हुने प्रण गर्ने र सो बमोजिमको संस्कार र संस्कृति बनाउने प्रयत्न गर्ने अर्को आवश्यकता हो । यसैमा नेपाली राजनीतिको स्थायित्व र भविष्य दुवै निर्भर गर्नेछ ।

लेखकको बारेमा
खिमलाल देवकोटा

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?