+
+

मिस नेपाल-२०२४ को आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १७:५७

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै यस वर्षको संस्करणको घोषणा गरेको हो ।

मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।

५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । भाग लिन शुल्क नलाग्ने हिडन ट्रेजरले उल्लेख गरेको छ ।

यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई फराकिलो बनाउन पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा अडिसन आयोजना हुने भएको छ । अन्तिम अडिसन मे १८ मा हुने जनाइएको छ । इच्छुकले मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

यस वर्ष मिस नेपाल आयोजनाको ३० औं वर्षगाँठ पनि मनाउने कार्यक्रम छ । यसैवर्षदेखि हिडन ट्रेजरले पुरुष सौन्दर्य प्रतियोगिता पनि आयोजनाको तयारी गरेको छ । संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंसाकारले चाँडै यसबारे विस्तृत जानकारी दिइने जनाए । सन् १९९५ मा पनि संस्थाले पुरुष सौन्दर्य प्रतियोगिता आयोजना गरेको स्मरण उनले गरे ।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह र मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले गत वर्षको अनुभव बाँडेका थिए ।

यस वर्षको संस्करणमा पनि डाबर वाटिका लगातार तेस्रो वर्ष मुख्य प्रायोजक छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?