+
+

नेपाली महिला क्रिकेटरमा फर्किएको खुसी

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १४ गते २१:३३

१४ चैत, काठमाडौं । फागुन पहिलो साता सम्पन्न वुमन्स एसीसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएपछि नेपालले एसिया कप खेल्ने अवसर गुमायो ।

खेलाडीहरु गहभरि आँशु लिएर स्वदेश फर्किए । विशेषगरी करिअरको अन्तिम समयतिर रहेका दुई सिनियर खेलाडी सीता रानामगर र रुबिना क्षेत्रीलाई यो पीडा भुल्न मुश्किल परेको थियो ।

‘मलेसिया जस्तो सहज विपक्षी पाउँदा पनि हामीले जितेनौं भने कहिले जित्ने ?’ सीता राना मगरले भावुक हुँदै भनेकी थिइन्, ‘यसअघि हामीले सधैं भाग्यले साथ नदिएको भन्थ्यौं । तर यसपटक हामीले आफ्नै हातले खेल गुमाएका हौं ।’

तर एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सहभागी टोलीको संख्या ७ बाट ८ पुर्‍याएसँगै नेपालले पनि आगामी जुलाईमा श्रीलंकामा हुने एसिया कप खेल्न पाउने भएको छ । नेपालको समूहमा भारत, पाकिस्तान, युएई र नेपाल छन् । अर्को समूहमा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।

यससँगै नेपाली टोलीमा खुसी फर्किएको छ । ‘सेमिफाइनलमा सबैभन्दा सहज विपक्षी पाउँदा पनि जित्न नसक्दा धिक्कार लागेको थियो । अझै पनि सम्झदा पीडा लाग्छ’, सीताले भनिन्, ‘अहिले सुन्दा एकदमै खुसी लागेको छ ।’

रुबिना पनि यो खुसी बयान गर्न नसक्ने बताउँछिन् । ‘सबैभन्दा बढी खुसी सीता र मलाई हुन्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘यो समयमा भारत र पाकिस्तानसँग खेल्न पाउनु हाम्रो लागि एउटा सपना थियो । म यसको बयान नै गर्न सक्दिन ।’

उनका अनुसार मलेसियाबाट फकर्किएको १५ दिनसम्म पनि उनले पीडा भुल्न सकेकी थिइनन् । सहभागी टिमको संख्या बढाउनसक्ने गाइँगुइँ सुनेकी थिइन् । ‘मान्छेहरुले यतिकै मनोबल बढाउन भनेको होला भन्ने लागेको थियो । यसरी हामी छनोट हुन्छौं भनेर मैले सोचेको नै थिएन’ उनले अगाडि भनिन्, ‘अब मेरोमा यस्तो जुनुनु जागेको छ, नयाँ इनर्जी आएको छ ।’

अवसरसँगै चुनौती पनि

भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपाली महिला क्रिकेटरका लागि अवसर हो । सँगै टेष्ट मान्यता पाएका पाएको अवसरमा सम्मानजनक प्रदर्शन गर्नुपर्ने चुनौती पनि छ ।

नेपाली महिला क्रिकेट अझै पनि सीता, रुविना र इन्दु बर्मामा बढी निर्भर छ । पूर्वकप्तान रुविना पनि एसिया कप युवा खेलाडीले बुझ्न आवश्यक भएको बताउँछिन् । ‘यसले हामीलाई माथि लैजान पनि सक्छ । तल लैजान पनि सक्छ । हाम्रो लागि एउटा चुनौती पनि हो’, रुबिनाले भनिन्, ‘अहिलेको अवस्थामा हाम्रो टोली मलेसियासँग पनि हारेको छ । एसिया कपमा अहिले भन्दा डबल मिहिनेत गर्नुपर्छ । यो सबै खेलाडीले बुझिदियोस् जस्तो लाग्छ ।’

एसिया कपको तयारीका लागि दुईतीन महिना छ । यस्तो अवसर सहजै नपाउने भएकोल गल्ती गर्नु नहुने रुबिना बताउँछन् । भन्छिन्, ‘आशा गरौं, क्यानले पनि प्रोगामहरु ल्याउँछ होला ।’ नेपालले तेस्रो पटक वुमन्स एसिया कप खेल्नेछ । यसअघि २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?