+
+

जापानमा नेपाली स्कुल : विद्यार्थीको घुइँचो

एभरेष्टबाट २३ जनाले एसईई दिंदै

जापानको टोकियोमा एभरेष्ट इन्टरनेशनल स्कुल, टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी र यहाँको तेस्रो ठूलो शहर नागोयामा तोकाई वाटिका इन्टरनेशनल स्कुल सञ्चालनमा छन् । एभरेष्ट इन्टरनेशनल स्कुलमा त विद्यार्थीको घुइँचो नै छ । यसपटक २३ जनाले एसईई दिंदैछन् ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८० चैत १५ गते १९:५३

१५ चैत, जापान । नेपालमा प्रायः ठूला शहरमा विदेशी भाषा सिकाउने कक्षा सञ्चालनमा छन् । त्यहाँ बिहानदेखि बेलुकासम्म विभिन्न देशका भाषा सिक्ने विद्यार्थीको घुइँचो नै लाग्छ । अझ भाषा पढाइने क्याम्पसमा नाम निकालेर जापानिज, चाइनिज भाषा पढ्नेको संख्या पनि कम छैन ।

यसरी नेपालमा विदेशी भाषाको लगाव बढिरहँदा अभिभावकसँगै जापान पुगेका नेपाली बालबालिका भने नेपाली भाषा र पाठ्यक्रममा राखिएका कुरा अध्ययन गर्न जापानमा सञ्चालित नेपाली विद्यालय धाइरहेका छन् । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो ।

एभरेष्टमा नेपाली पाठ्यक्रम अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक विष्णु भट्टले अनलाइनखबरलाई बताए । एभरेष्टमा नेपालीसँगै जापानिज, इन्डियन र जाम्बियाका विद्यार्थी पढ्छन् ।

विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । विद्यालयको क्षमता भन्दा धेरै विद्यार्थी भर्ना गर्न नमिल्ने हुँदा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई भर्ना लिन नसकिरहेको प्रधानाध्यापक भट्ट बताउँछन् । ‘पछिल्लो समय एभरेष्टमा पढ्न चाहने विद्यार्थी हृवात्तै बढेका छन् । तर हाम्रो स्रोत र साधनले नधान्ने हुँदा सबैलाई लिन सकिरहेका छैनौं’, प्रधानाध्यापक भट्टले भने ।

एभरेष्ट इन्टरनेशनल स्कुलमा नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुन्छ । आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ ले कक्षा ९ देखि १२ लाई माध्यमिक तह मानेको छ । यसपश्चात् २०७७ सालमा सरकारले विदेशमा १२ कक्षासम्म पठनपाठन गराउन पाइने व्यवस्था गरेको थियो । एभरेष्ट स्कुलकै पहलमा तत्कालीन मन्त्रिपरिषद्को बैठकले सो व्यवस्था गरेको विद्यालयका लगानीकर्ता भूषण घिमिरेले बताए ।

मन्त्रिपरिषद्को निर्णयपछि कक्षा १० सम्म सञ्चालित एभरेष्टले ११ र १२ कक्षा समेत सञ्चालनमा ल्याएको हो । ११ र १२ कक्षामा म्यानेजमेन्ट र विज्ञान संकायमा पढाइ हुँदै आएको छ ।

एसईई दिने विद्यार्थी ।

यो स्कुलबाट यसपटक २३ जनाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिंदैछन् । जसमा १५ छात्रा र ८ छात्र रहेका छन् । यहाँको  परीक्षा केन्द्रको नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने छ ।

प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । उत्तर पुस्तिका हुलाकमार्फत पठाइएको थियो भने प्रश्नपत्र इमेलमार्फत पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । यसरी हुने परीक्षाको विश्वसनीयतामाथि भने प्रश्न उठ्ने गरेको छ ।

एभरेष्टमा शिक्षक र स्टाफ गरी ६२ जना कार्यरत छन् । जसमा ९ जना जापनिज, १ जना अमेरिकन र २ जना फिलिपिन्स गरेर १२ जना विदेशी र अरू नेपाली शिक्षक छन् ।

जापानमा नेपालीको संख्या बढेसँगै विद्यालयको अभाव महसुस गरी सन् २०१३ बाट विद्यालय सञ्चालनमा ल्याएको संस्थापक अध्यक्ष भूपालमान श्रेष्ठले बताए । ‘टोकियोमा अमेरिका, इन्डियाले सञ्चालनमा ल्याएका अंग्रेजी माध्यमबाट पढाइ हुने इन्टरनेशनल स्कुलहरू थिए । महँगो शुल्कका कारण ती स्कुलमा नेपाली समुदायको पहुँच पुग्दैनथ्यो । जापानिज विद्यालयमा भर्ना गरे आफ्नो देशको भाषा, संस्कृति नजान्ने अवस्था रहने भएकाले नेपाली विद्यालयको आवश्यकता महसुुस गरी एभरेष्ट स्कुल सञ्चालनमा ल्याएका हौं’, संस्थापक अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने ।

जापानमा रहेर व्यापार व्यवसाय साथै रोजागारीमा संलग्न ६५ जनाको लगानीमा विद्यालय सञ्चालनमा छ । जसमा विद्यालय सञ्चालक समितिका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष श्रेष्ठ, व्यवसायीहरू महेश श्रेष्ठ, मेघराज नेपाल, दीपक सुवेदी, भूषण घिमिरे लगायत छन् ।

विद्यालयले सन् २०१७ नोभेम्बरमा टोकियोको ओगिकुबोमा ४० करोड येनमा भवन खरिद गरेको छ । जहाँ कक्षा ४ देखि १२ सम्म अध्ययन हुन्छ । नर्सरीदेखि युकेजीसम्म टोकियोको ओकुबोमा र १ देखि ३ कक्षासम्म आसागायामा पढाइ हुँदै आएको छ ।

अगाडि बढ्दै हिमालयन र तोकाई

एभरेष्टसँगै जापानमा अन्य दुई नेपाली विद्यालय पनि सञ्चालनमा छन् । टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी सञ्चालनमा छ । सन् २०२१ बाट सञ्चालनमा आएको उक्त विद्यालयमा नेपाली र विदेशी गरेर १९० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले बताए ।

आगामी शैक्षिक सत्रबाट विद्यालयले ७ कक्षासम्म पठनपाठन गराउने रिजाल बताउँछन् । स्कुलले हरेक वर्ष १ कक्षा वृद्धि गर्दै लगिरहेको उनले जानकारी दिए । विदेशी भूमिमा नेपाली पाठ्यक्रम पढाउन पाउँदा गर्व महसुस हुने उनी बताउँछन् । विद्यालयले भवन भाडामा लिएर कक्षा सञ्चालन गर्दै आएको छ ।

त्यस्तै जापानको तेस्रो ठूलो शहर नागोयामा पनि दुई वर्ष अघिदेखि तोकाई वाटिका इन्टरनेशनल स्कुल सञ्चालनमा आएको छ । जहाँ नेपाली पाठ्यक्रम अनुसार पढाइ हुन्छ । विद्यालयमा ६० जना नेपाली बालबालिका अध्ययनरत रहेको विद्यालयका सञ्चालक विमल अधिकारीले बताए । नागोयामा नेपाली समुदाय बढेसँगै नेपाली विद्यालयको आवश्यकता महसुस गरी विद्यालय सञ्चालनमा ल्याइएको अधिकारी बताउँछन् ।

तोकाई वाटिकामा ५ जना नेपाली युवाको लगानी रहेको छ । आगामी शैक्षिक सत्र २०८१ को वैशाखबाट सञ्चालनमा आउने गरी जापानको चिवास्थित साकुरामा गोर्खा पिक इन्टरनेशनल स्कुल सञ्चालनमा आउँदैछ । जहाँ नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने विद्यालय प्रशासनले जनाएको छ ।

रोजाइमा किन परे नेपाली विद्यालय

जापानका विभिन्न शहरमा नेपालीको बसोबास छ । सबैको पहुँचमा नेपाली विद्यालय भने छैन । टोकियो आसपास रहेका अधिकांश नेपाली आफ्ना सन्तानलाई नेपाली विद्यालय नै पठाउन चाहन्छन् । यसको मतलब जापानिज शिक्षा नराम्रो भएकाले नेपाली विद्यालय रोजाइमा परेको भने होइन । त्यसो त जापानको शिक्षा प्रणालीलाई विश्वमा नै उदाहरणीय मानिन्छ । जापानमा दीर्घकालीन बस्ने सोच नबनाएका नेपालीका लागि यो विद्यालयले फाइदा पुर्‍याएको छ ।

नेपाली विद्यालयमा पढाए छोराछोरीले देशको माटो सुहाउँदो शिक्षा पाउने अभिभावकहरू बताउँछन् । टोकियोमा व्यवसाय गर्दै आएका झापाको गौरादहका सन्तोष पोखरेलले आगामी शैक्षिक सत्र २०८१ बाट छोरी सानिया पोखरेललाई एभरेष्टमा पढाउने योजना बनाएका छन् । जापानिज विद्यालयमा जापानिज भाषामा पढाइ हुन्छ जसले भविष्यमा नेपालमा नै करिअर अगाडि बढाउन समस्या हुने भएकाले नेपाली विद्यालय रोजेको पोखरेल बताउँछन् ।

‘नेपाली विद्यालयमा नेपाली पाठ्यक्रम अनुरूप अंग्रेजी माध्यममा पढाइ हुन्छ । जहाँ जापानिज भाषाको पनि एउटा पुस्तक रहेको छ । जसका कारण, भविष्यमा आफ्नो सन्तान नेपाल, जापानसँगै विश्वका जुनसुकै देशका लागि योग्य जनशक्ति बन्छन्’, पोखरेलले भने ।

जापानमा लामो समय बसे पनि स्थायी बसोबासको अनुमतिपत्र पाउन त्यति सहज छैन । जसका कारण ‘भिसा सकिएर अथवा रद्द भएर बीचमा नै जापान छोड्नुपर्ने अवस्था आए दुई देश बीचको शिक्षा नमिल्ने भएकाले पनि नेपाली अभिभावकको रोजाइमा यो विद्यालय परेको हो’, अभिभावक कामना भण्डारीले भनिन् । नेपाली विद्यालयमा शिक्षासँगै आफ्नो देशको भाषा, संस्कार, संस्कृति तथा चाडपर्वको बारेमा पनि बालबच्चाहरूले सिक्ने भण्डारी बताउँछिन् ।

नेपाली पाठ्यक्रम अनुसार जापानमा ११/१२ कक्षा उत्तीर्ण भएका विद्यार्थीले नेपाली, जापनिज र विश्वका अन्य विश्वविद्यालयमा पढ्न सक्छन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त एभरेष्ट स्कुललाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको विद्यालयको मान्यतासमेत दिएको छ ।  जसकारण यो स्कुलबाट १२ उत्तीर्ण भएका विद्यार्थीलाई जापानका साथै अन्य देशका विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गर्न कुनै पनि समस्या नरहने विद्यालयका प्राधानाध्यापक भट्टले बताए ।

कस्तो छ चुनौती र सरकारी सहयोग ?

एभरेष्टका प्रधानाध्यापक विष्णु भट्ट ।

स्थापनाकालमा भने स्कुलले थुप्रै चुनौती सामना गर्नुपर्‍यो । ‘जापानमा सञ्चालित विद्यालय भएकाले जापानको नियम पालना गर्नुपर्ने अवस्था विद्यालयलाई थियो । अर्कोतर्फ नेपालको शिक्षा नीतिमा विदेशमा विद्यालय सञ्चालन गर्ने विषय समावेश नभएकाले तालमेल मिलाउन झमेला खेप्नुपर्‍यो’, संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन् ।

नेपाल सरकारले शिक्षा सम्बन्धी सम्पूर्ण अधिकार र जिम्मेवारी स्थानीय सरकारलाई दिएसँगै विदेशमा सञ्चालित विद्यालयको निरीक्षण सोही देशमा रहेको राजदूतावासले गर्न पाउने व्यवस्था छ । अहिले राजदूतावासले नै विद्यालयको निरीक्षण गर्दै आएको श्रेष्ठले बताए ।

स्कुलमा विदेशी विद्यार्थी पनि अध्ययनरत रहेकाले विदेशी विद्यार्थी र नेपाली विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा सहजै घुलमिल हुन सक्दैनन् । नेपालकै हकमा पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका विद्यार्थी छन् । उनीहरू आफैंमा फरक प्रकृतिका छन् । नीतिनियमबारे विद्यार्थीलाई जानकारी नहुनुका साथै पालना गर्न नसक्नु पनि विद्यालयका लागि चुनौती बन्ने गरेको छ । भाषागत समस्याका कारणले जापान सरकारले उपलब्ध गराउने सेवा-सुविधाबारे थाहा नपाउनु पनि चुनौती रहेको विद्यालयका प्रधानाध्यापक भट्टले सुनाए ।

विद्यालयमा अध्ययनरत ३ देखि ५ वर्ष (नर्सरीदेखि युकेजी) उमेर समूहका विद्यार्थीलाई जापानको स्थानीय सरकारले शुल्क तिरिदिंदै आएको छ । विद्यार्थी बस्ने स्थानीय पालिका अनुसार फरक, फरक नियम रहेका छन् । स्थानीय सरकारले कुनै महिना विद्यार्थीको पूरै शुल्क तिरिदिन्छ भने, कुनै महिना न्यूनतम ३७ हजार येनसम्म सहयोग उपलब्ध गराउँदै आएको छ । स्थानीय सरकारले यो सहयोग अभिभावकलाई मासिक रूपमा उपलब्ध गराउँछ ।

जापानमा नेपाली पाठ्यक्रम पढाइ हुने स्कुलहरू थपिनु सकारात्मक रहेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरे बताउँछन् । ‘एभरेष्टकै कुरा गर्ने हो भने विदेशीलाई समेत नेपाली पाठ्यक्रमको अध्ययन गराउनु सबै नेपालीका लागि गौरवको विषय हो । पछिल्लो समय विदेशिने नेपालीको संख्या बढ्दो क्रममा छ । नेपाल सरकारले नेपालीको बाहुल्य धेरै भएका अन्य देशहरूमा एभरेष्टकै मोडेलमा स्कुल खोल्न सके नेपाल बाहिर रहेका नेपालीलाई समेत नेपालसँग जोड्न सकिन्छ’, निउरे भन्छन् ।

 

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?