+
+

सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै, प्रदेशभरि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ६:३६

१९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले साेमबार (आज) एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएकाे हाे ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन् ।

राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै माैलिकता रहेकाे छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउन गर्छन् भने आफ्नो समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन छ ।

राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन् । खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ ।

खखहडेरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ । खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ।

खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ ।

गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरु नआउन् भनेर सामूहिक रुपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रुपमा मनाउने गरेका स्थानीय अगुवाहरू बताउँछन् ।

राना थारूको बसोबास बढी रहेको वस्तीमा खखडेहरा महोत्सवसमेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?