+
+

हेरेपछि प्रकाशको चरित्र त फेरिन्छ, हामी त मान्छे हौं 

राज्यको अभिभावकीय चरित्र परिवारका कसैले खराबी गरेको भेटिएला कि भनेर सजग गराउन खोके जस्तै गरेर आवाज निकाल्दै भर्‍याङ चढ्ने बाबुआमा जस्तो हुनुपर्छ न कि कति बेला गल्ती गरेर बाहिर निक्लेला र समाउँला भनेर शिकार कुर्ने ब्वाँसो जस्तो।

गणेश कार्की गणेश कार्की
२०८० चैत १९ गते १८:००
Photo Credit : pixabay.com

क्वान्टम फिजिक्समा डबलस्लिट प्रयोग भनेर चिनिने एक अचम्मको प्रयोग छ। यो प्रयोगमा प्रकाशलाई दुइटा प्वालबाट छिराइन्छ अर्कोपट्टि राखिएको पर्दा जस्तो वस्तुमा त्यसको छाप हेरिन्छ। 

आश्चर्यलाग्दो विषय के भने एउटै प्रकाशलाई दुई भिन्न–भिन्न प्वालमा समान किसिमले समान वातावरणमा जान दिए पनि अवलोकन गरिएको वा छैन भन्ने आधारमा त्यसले फरक विशेषता देखाउँछ। जुन प्वालबाट प्रकाशलाई जान दिएर हेरिंदैन वा मापन गरिंदैन, त्यसमा प्रकाशले तरंगको रूप लिन्छ भने जुन प्वालबाट जान दिएर हेरिन्छ वा मापन गरिन्छ, त्यसमा प्रकाशले कण (पार्टिकल) को रूप लिन्छ। मानौं कि, कसैले हेरिरहेको प्रकाशले थाहा पाएर नाटक गरेको होस्। 

कण तरंग बीच प्रकाशको यो अनौठो नृत्यले लामो समयदेखि वैज्ञानिकहरूलाई मोहित पारेको छ। कुनै कारणले प्रयोगका क्रममा नै केही हस्तक्षेप भएकाले यस्तो नतिजा आएको हो कि भनेर यो प्रयोगलाई सयौं पटक दोहोर्‍याइयो। तर जहाँ, जसरी जति पटक दोहोर्‍याए पनि नहेरेको अवस्थामा प्रकाश तरङ्गका रूपमा रह्यो भने हेरेपछि प्रकाशले कणको जस्तो चरित्र देखायो। यसलाई डबल स्लिट एक्सपेरिमेन्ट अब्जर्भर इफेक्टअर्थात् द्विछिद्र साक्षी प्रभाव भनियो। 

शोध अध्ययनमा परिचित सिद्धान्त

प्रकाशको यो विशेषता कता कता गुणात्मक अनुसन्धान गर्दा अनुसन्धान गरिरहेको व्यक्ति (रेस्पोन्डेन्ट) लाई अनुसन्धानको बारेमा थाहा दिइयो भने प्राकृतिक अनुसन्धान हुनसक्दैन भन्ने सिद्धान्तको उदाहरण जस्तो देखिन्छ। व्यक्ति (रेस्पोन्डेन्ट) सजक भइदिनाले अनुसन्धानमा त्यसको प्राकृतिक अवस्थामा प्रभाव पर्ने वास्तविक प्रतिक्रिया उत्पन्न नहुने कुरा सो सिद्धान्तले भन्छ। 

जस्तो कि, कुनै पनि कर्मचारीको अध्ययन गर्नुछ भने उसलाई थाहै नदिई उसका बारेमा जानकारी बटुल्ने हो भने मात्र कर्मचारीको काम गर्ने तरिका, थकाइ मार्ने खाजा खाने समय लगायत वास्तविक कुराहरू थाहा हुन्छ। कर्मचारीलाई थाहा दिने हो भने आफूलाई परिश्रमी देखाउन कर्मचारीले औसत भन्दा बढी मिहिनेत गर्न सक्छ वा सहानुभूति पाउन धेरै दुःख पाएको देखाउन सक्छ। 

यसैले अध्ययनका लागि मात्र होइन, कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूको प्राकृतिक अवस्थामा रहन दिनका लागि उनीहरूमा नजर भन्ने जानकारी दिन हुन्न। 

ओशोको साक्षीभाव भागवत गीताको कर्मयोग भर्सेस एक्टनको निरपेक्ष शक्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा शक्तिशाली निकाय बनाउन सकिन्छ। त्यस्तो संस्थाले नियमित रूपमा खबरदारी गरिरहन्छ, मापन गरिरहन्छ, हेरिरहन्छ। यसबाट चोर बनाएर समात्ने भन्दा कसैलाई चोर बन्ने वातावरण नै नहुने अवस्था बनाउन सकिन्छ। किनभने, हेरेपछि प्रकाशको चरित्र फेरिन्छ, हामी मान्छे हौं

हुनत ओशोले आफ्नो जीवनकालका धेरै समय साक्षीभावलाई व्यवहारमा प्रयोग गर्नु भन्ने शिक्षा दिनमा बिताए। उनी भन्थे, ‘कुनै पनि विषय, व्यक्ति, क्रिया प्रतिक्रिया माथि आग्रह, पूर्वाग्रह, राग, द्वेष केही नराखी त्यसको परिणामप्रति नितान्त आशा निराशा हुनुहुन्न। यसलाई साक्षीभाव भनेर ओशोले भनेका छन्। साक्षीभावपछि मान्छेसँग कर्तव्य मात्र बाँकी रहन्छ। तब मात्र काम गर्नुको अर्थ रहन्छ।

सायद भागवत गीताकोकर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन: !’ अर्थात् काम गर फलको आशा नगर भने जस्तो पनि हुन पुग्छ। तर राजनीति कोही पनि जोगी हुन गर्दैन भन्ने व्यक्ति अहिले नेपालकै सर्वोच्च पद राष्ट्रपतिमा आसीन छन्।

यसैले राजनीतिक व्यवहारमा ओशो भागवत गीता भन्दा उन्नाइसौं शताब्दीको अन्त्यतिर लेखक लर्ड एक्टन बढी उपयोगी लाग्न सक्छन्। उनले लेखेका थिए, ‘शक्तिले भ्रष्ट बनाउँछ। , निरपेक्ष शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ।भ्रष्ट हुन नदिन के गर्ने ? ती साधनका निश्चितता समय अनुसार फरक–फरक प्रवृत्ति प्रकृतिले गर्ने हुन्। तर सबैमा समान रहन सक्ने एउटै साधन हुनसक्छ, अवलोकन। 

जसरी अवलोकनले प्रकाशको तरंग स्वरूपलाई ध्वस्त पार्छ, त्यसरी नै अवलोकनले राजनीतिक चरित्रमा पनि अन्तर ल्याउँछ। समयक्रमसँगै राजनीतिक रणनीति, गठबन्धन, सत्तारोहण तिकडमले राजनीतिकर्मीहरूले तरंगहरू जस्तै व्यवहार प्रदर्शन गर्न सक्छन्। हामीले देखेको, भोगेको कुरा हो कि बहाना बनाएर तिनीहरू आफ्नै एजेन्डाको लहरबाट परपर बग्दछन्। तर सार्वजनिक नजर उनीहरूमा परेको क्षणमा, तिनीहरू जवाफदेहीको मूर्तरूप लिएर कणहरूमा स्थिर हुन्छन्। 

सामान्य रूपमा भन्ने हो भने, जसरी डबलस्लिट प्रयोगमा अवलोकनले प्रकाशको व्यवहारमा प्रभाव पार्छ, त्यसरी नै आमनागरिक तथा सम्बन्धित संस्थाहरूको सतर्कता संलग्नता मार्फत कसैको आचरणलाई आकार दिन सकिन्छ।

त्यसका लागि अवलोकनलाई वैधानिक प्रावधानहरू मार्फत बलियो परिष्कृत बनाउने प्रवृत्ति संसारभर बढिरहेको छ। यसका लागि सूचनादाता नियम (ह्विस्टलब्लोअर ल) तथा सूचनाको अधिकारहरूको प्रयोग गरिएका छन्। 

धेरै देशमा छन् कानुनी प्रावधान

संयुक्त राज्य अमेरिकामा सूचनादाताको संरक्षणका लागि परिष्कृत कानुनी प्रावधानहरू छन्। तिनले सूचनादाताहरूको संरक्षणका लागि बहुआयामिक कवचको काम गर्छन्। उनीहरूमाथि हुनसक्ने प्रतिशोधबाट जोगाउने मात्र होइन, सूचना दिने भरपर्दो सुरक्षित संयन्त्र बनाउने तथा सूचना दिएबापत उनीहरूलाई आर्थिक फाइदा दिने समेत गरिन्छ। यस्ता प्रावधानहरूका कारणले नै अमेरिकालाई संसारकै सबैभन्दा स्पष्ट भरपर्दो सूचनादाता कानुन भएको मुलुक भनिन्छ।

हाम्रै छिमेकमा रहेको मुलुक भारतमा पनि सन् २०१४ पछि भ्रष्टाचार तथा अख्तियार दुरुपयोगका सम्बन्धमा सूचना पाउने कानुनी प्रावधानहरूमा प्रगति भएको छ। सूचनादाताहरूको परिचय गोप्य राख्ने प्रावधानले त्यसमा सहजता थपेको छ। 

कार्यान्वयन पक्ष फितलो हुँदा व्यावहारिक रूपमा ती कानुनहरू लागू भएका सन्दर्भहरू कम छन्। तर पनि भारत सूचनादाताहरूका सम्बन्धका कानूनमा प्रगति गरिरहेको भन्नेमा त्यस्ता कानुनी प्रावधानहरूकै कारण मात्रले पनि सहमत हुन सकिन्छ। 

नेपालमा अवलोकन गर्ने संयन्त्रको अभाव

तर नेपाली राजनीतिको इकोसिस्टममा नै त्यस्तो अवलोकनकर्ताको अभाव छ। हामीसँग त्यस्ता संरचना नभएका होइनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। नेपाल प्रहरी छ। त्यसमा सीआईबी पनि छ। सतर्कता केन्द्र छ। भूमिगत जासुसको सञ्जाल भनिने राष्ट्रिय अनुसन्धान विभाग छ। दुई दुई वटा सदन छन्। तिनमा समितिहरू छन्। नागरिक समाज छ। प्रेस छ। सम्मानित अदालत छ। तर धेरैजसो भन्नलाई मात्र छन्। अपवाद बाहेकको अवस्थामा कागजमा वा औपचारिकतामा छन्। 

सरकारी संस्थाहरू अतिराजनीतीकरणको चपेटामा छन्। राजनीतिक भागबन्डाको संक्रमणले बिरामी छन्। सदनले नीति कानुन भन्दा बढी नेताहरूको अन्तहीन वृत्ताकार दन्तबजान मार्फत समाचारका शीर्षकहरू उत्पादन गर्नमा समय खर्चिन्छ। नागरिक समाज राजनीतिक दल जत्तिकै बाँडिएको छ। 

प्रेसलाई बजार सम्हाल्नुछ बजारमा दह्रोसँग उभिनुछ। यस्तो लाग्छ, प्रेसमा आफूलाई डोर्‍याउने सत्य तथ्य भन्दा बजार विज्ञापनको पिछलग्गु बन्नैपर्ने बाध्यता छ। अरू अरू, अदालत समेत विवादरहित नबन्न प्रयासरत छ।

माथि उल्लेख गरिएका सतर्कता केन्द्रका केही बाहेक अन्य सम्पूर्ण संस्था संरचनाहरू सबैको काम, कर्तव्य अधिकारहरू घटनापछि मात्रै सक्रिय हुन्छन्। यसैले हाम्रो राज्यको चरित्रले अवलोकन, खबरदारी गर्ने भन्दा पनि चोर बनिसकेपछि समात्नमा नै विश्वास छ। 

हाम्रा सरकारी संस्था संरचनाहरू चोर बन्नै नदिन हेरिराख्न तयार हुने गरी बनाइएकै छैनन्। राज्य संरचनामा त्यस्ता संस्थाहरूको खडेरी पर्नु पक्कै पनि अभिभावकीय राज्यको चरित्र होइन।

राज्यको अभिभावकीय चरित्र परिवारका कसैले खराबी गरेको भेटिएला कि भनेर सजग गराउन खोके जस्तै गरेर आवाज निकाल्दै भर्‍याङ चढ्ने बाबुआमा जस्तो हुनुपर्छ न कि कतिबेला गल्ती गरेर बाहिर निक्लेला समाउँला भनेर शिकार कुर्ने ब्वाँसो जस्तो। चोर बन्न दिने समात्ने होइन, चोर बन्न लागिस् कि भनेर सम्झाउने, खबरदारी गर्ने कानुन संयन्त्र चाहिन्छ। 

नेपालमा कस्तो संयन्त्र ? कस्तो कानुन ?

नेपालमा अवलोकन सजगताका लागि कानुन नीतिको कमी छ। सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २९ मा सूचनादाता सम्बन्धी केही व्यवस्था तर त्यसमा बेग्लै संरचनाको नभई कार्यरत संस्थाका कर्मचारीहरूलाई नै सूचनादाता बनाउने प्रयोजन छ। त्यसमा पनि कसैले गल्ती गरेपछि सूचना दिने हदमा नै सीमित छ।

नेपालमा सूचनादाताको लागि त्यस्तो प्रावधान मात्र चाहिने होइन। कसैले गलत गर्न लाग्दैछ कि भनेर सजग बनाउन सक्ने अवलोकन गर्न सक्ने सामर्थ्य भएको संरचनाको पनि हो। काम गर्न गैरकानुनी रूपमा कुनै किसिमको लाभ लिनुभन्दा पहिले त्यो निकायले खबरदारी गर्न सकोस्। गर्नुपर्ने काम नगर्न अल्मल्याउँदै गर्दा त्यो निकायले थाहा पाउने साधनहरू बनाइयोस्। कुनै अवैधानिक लाभका लागि नगर्नु पर्ने काम गर्ने बाटो खोज्दै गर्दा त्यो निकायले त्यो कानुनको छिद्र पहिले पत्ता लगाओस्। यसका लागि टाइम कार्डको व्यवस्था, कार्य सम्पादन मूल्यांकनको वैज्ञानिकीकरण लगायत कामहरू हुनुपर्छ। हरेकलाई देखिरहने संयन्त्रको आवश्यकता पर्छ। 

यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा शक्तिशाली निकाय बनाउन सकिन्छ। त्यस्तो संस्थाले नियमित रूपमा खबरदारी गरिरहन्छ, मापन गरिरहन्छ, हेरिरहन्छ। यसबाट चोर बनाएर समात्ने भन्दा कसैलाई चोर बन्ने वातावरण नै नहुने अवस्था बनाउन सकिन्छ। किनभने, हेरेपछि प्रकाशको चरित्र फेरिन्छ, हामी मान्छे हौं।

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?