+
+

त्रिविमा रेक्टर र रजिष्ट्रारको नियुक्ति किन रोकियो ? उपकुलपति बराल भन्छन्, ‘त्यो मलाई थाहा भएन’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १३:१७
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराल

२० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.केशरजंग बरालले रेक्टर र रजिस्ट्रार पदमा दुई जनाको नाम सिफारिस गरे पनि दलीय भागबण्डा नमिल्दा ६ दिनदेखि नियुक्ति प्रकृया रोकिएको छ । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

उपकुलपति बरालले आफूले सिफारिस गरेर पठाएको नाममा प्रधानमन्त्रीबाट अहिलेसम्म निर्णय नआएको बताए । सिफारिस गरिएका नाम परिवर्तन गर्न दबाब आएको सम्बन्धमा अनलाइनखबरसँग कुरा गर्दै बरालले आफूलाई अहिलेसम्म कसैले पनि फोन गरेर दबाब दिने काम नगरेको तर हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति नदिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यूलाई कसले दबाब दिइरहेको छ मैले थाहा पाउने कुरा भएन । मलाई चाहिँ अहिलेसम्म कसैले पनि यो गर, त्यो गर भनेको छैन । तर प्रधानमन्त्रीबाट निर्णय आएको छैन ।’

त्रिवि स्रोतका अनुसार उपकुलपति बरालले रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजालको नाम सिफारिस गरिसकेका छन् । तर, सत्ता साझेदार नेकपा (एमाले) ले रेक्टरमा प्रगतिशील प्राध्यापक संघका अध्यक्ष प्रा.डा.बेदराज केसीलाई अगाडि सारेपछि नियुक्ति प्रकृया रोकिएको छ ।

आफूलाई टिम बनाउन दिनुपर्ने अडानमा रहेका बराल कुनै पार्टीले सिफारिस गरेको व्यक्ति, त्यसमा पनि राजनीतिक दलको संगठनकै नेतृत्व सम्हालेको व्यक्ति,लाई पदाधिकारी बनाउन नसकिने अडानमा  छन् ।

प्रा.डा. खड्क केसी र प्रा.डा. केदार रिजाल

प्रा.डा. बरालले उपकुलपतिको नियुक्ति लिएसँगै त्रिवि ठूलो संस्था भएकाले ‘राजनीतिक संयोजन’ र ‘सन्तुलन’ जरुरी रहे पनि पार्टीले जसलाई पठायो, त्यसलाई स्वीकार गरेर विश्वविद्यालय चलाउन नसकिने तर्क गर्दै आइरहेका छन् ।

त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० फागुन २०८० मा प्रा.डा. बराललाई उपकुलपति नियुक्त गरेका थिए । बरालले आफूलाई टिम बनाउन दिने भए मात्रै नियुक्ति पत्र बुझ्ने सर्त राखेका थिए ।

तर अहिले सिफारिस गरेका नामहरुमा पनि व्यक्ति तोकेर भागबण्डा खोजिन थालेपछि उनी आफूले सिफारिस गरेको व्यक्ति नियुक्ति नहुने हो भने पदमा नबस्ने मुडमा पुगेको उनी निकट प्राध्यापकहरु बताउँछन् । यो मामिला थाहा पाउने एकजना प्राध्यापक भन्छन्, ‘टिम बनाउन नदिने हो, अर्थात आफूले सिफारिस गरेको व्यक्तिहरुको नियुक्ति नहुने हो भने उहाँ राजीनामा दिने सोचाइमा हुनुहुन्छ ।’

उपकुलपति बरालले ६ चैतमा सात दिनको समयावधि दिएर रेक्टर र रजिष्ट्रार पदमा आवेदन माग गरेका थिए । सोही समयमा परेका आवेदनहरुमध्येबाट उनले दुई जनाको नाम सिफारिस गरेका हुन् ।

१२ पुस २०८० मा रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि रिक्त पदमा १८ पुसदेखि कानुन संकायका डीन डा. कृष्णप्रसाद बस्याल निमित्त रजिष्ट्रार छन् । यसैगरी तत्कालीन रेक्टर प्रा.डा. शिवलाल भूसालको कार्यकाल ६ चैतमा पूरा नहुँदै उनी निमित्त उपकुलपति भए । त्यसपछि रिक्त रेक्टर पदमा निमित्त उपकुलपति भूसालले कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.डा.भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?