+
+
टिप्पणी :

सत्ताराजनीतिले दुई किनारामा रेशम-रञ्जिता

थारूका मुद्दा भजाएर जन्मेको नागरिक उन्मुक्ति पार्टी विघटनको सँघारमा छ । विघटनको कारण कुनै सैद्धान्तिक मुद्दा भने छैन ।

दीर्घराज उपाध्याय दीर्घराज उपाध्याय
२०८० चैत २१ गते ६:००

थरुहट आन्दोलनका क्रममा ७ भदौ, २०७२ मा सात सुरक्षाकर्मी र एक नाबालक सहित आठ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डपछि पहिचानवादी र पहिचान विरोधीहरू दुई कित्तामा उभिए । पहिचान विरोधीहरू रेशमलाई खलनायक अर्थात् हत्याराका रूपमा हेर्न थाले । पहिचानवादीहरू खासगरी थारू समुदायका लागि त्यही घटनापछि रेशम नायक बने ।

माओवादीले १० वर्षे सशस्त्र संघर्षका क्रममा देखाएको थरुहट स्वायत्त प्रदेशको सपनालाई पछ्याउँदै सुरु भएको थरुहट आन्दोलनका क्रममा बीभत्स टीकापुर घटना हुन गयो । त्यतिबेला माओवादी भने यो मुद्दाबाट पछि हटिसकेको थियो ।

टीकापुर घटनाको मुख्य आरोपी मानिएका रेशम उक्त घटनापछि फरार भए । र, भारतमा लुकेर बसे । त्यही क्रममा २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा भूमिगत रूपमै उम्मेदवारी दर्ता गरे । र, भारी मतले चुनाव जिते । सधैं चुनावमा नराम्रोसँग पराजय भोग्दै आएका उनी त्यो चुनावबाट थारू समुदायको नायकका रूपमा उदाए ।

चुनाव जितेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरे । प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल सकियो । तर उनी जेलमुक्त भएनन् । त्यही बीचमा पुनरावेदन अदालतको निर्णय सदर गर्दै सर्वोच्च अदालतले उनलाई टीकापुर घटनामा दोषी ठहर गर्‍यो ।

दीर्घराज उपाध्याय

उनले जेलबाटै नागरिक उन्मुक्ति पार्टी स्थापना गरे । र, २०७९ सालमा भएको तीनै तहका निर्वाचनमा उम्मेदवार उठाए । र, पार्टी स्थापना गरेको सय दिन नबित्दै भएको निर्वाचनमा उनले कतिपय निर्वाचन क्षेत्रमा पुराना दलका उम्मेदवारहरूलाई संघ, प्रदेश र स्थानीय तहमा क्लिनस्वीप गरे ।

यो जित उनका लागि जेलबाट रिहा हुने माध्यम बन्यो । सत्ताको समीकरणमा उनको भोट र सहानुभूति आवश्यक बन्यो, र उनीमाथि लागेका सबै आरोप र खतबातहरूलाई सत्ताको समीकरणले माफ गरिदियो । उनी जेलबाट निस्किए ।

उनी जेलभित्र रहँदा उनको मिसनलाई साथ दिंदै आएकी थिइन्, पत्नी रञ्जिता श्रेष्ठ चौधरीले । त्यो मिसनले रञ्जितालाई कैलाली १ बाट प्रतिनिधि सभाको लागि निर्वाचित मात्र गरेन, राष्ट्रिय राजनीतिमा पहिचान दिलायो । त्यो पहिचानले उनी मन्त्री बनिन् ।

रेशमसँग प्रेम हुँदै विवाहमा जोडिएकी रन्जिता लामै समय उनकी पत्नीका रुपमा निश्चित घेरामा परिचित थिइन् । यसरी पत्नीका रूपमा मात्र रहेको उनको परिचय नयाँ परिस्थितिमा फेरिन पुग्यो । उनी सत्ता गठबन्धनको एउटा दलको अध्यक्ष थिइन् । त्यसमाथि निर्वाचित प्रतिनिधि सभा सदस्य र मन्त्री । सत्ता राजनीतिसँगै निर्माण हुन पुगेको उनको यो परिचय पति रेशमबाट दूरी बनाउने एउटा कारण बन्यो ।

रेशम उनलाई पत्नीका रूपमा मात्र हेर्थे । रञ्जितालाई रेशमको पत्नीभन्दा पनि आफू नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र मन्त्री हुँ भन्ने अनुभूति पलाइसकेको थियो । रेशम र रञ्जिताबीचको मूल जड नै यही बुझाइ र असमझदारी हो । अहिले जे भइरहेको छ, त्यसको सुरुवातको बिन्दु यही थियो ।

रेडियोकर्मी, गीतकार, गायक, कराँतेका खेलाडी, मोडेल, फिल्मका नायक हुँदै रेशम पनि राष्ट्रिय राजनीतिमा चिनिइसकेका थिए ।

जेलभित्र सबै दलका नेताहरू, प्रधानमन्त्री र राष्ट्रपति पदका उम्मेदवारहरू भेट्ने क्रम बाक्लिएपछि रेशमको खुट्टाले भुईं छोडिसकेको थियो । जेलबाट छुटेपछि उनले सार्वजनिक मञ्च र अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिबाट त्यो छनक पाउन कठिन हुँदैन ।

बाहिरबाट हेर्दा नागरिक उन्मुक्ति पार्टी रेशमको परिवार दल जस्तो थियो । पत्नी र बुवा प्रतिनिधि सभा, उनी पार्टीको सुप्रिम कमान्डर । तर बाहिर देखिए जस्तो परिवारका सदस्य उनीसँग थिएनन् ।

थारू समुदायका ती अगुवाहरू नागरिक उन्मुक्ति पार्टीभित्र अटाएनन्, जो वर्षौंदेखि थारूहरूको पहिचान, अधिकार र राज्यसत्तामा समावेशिता र समान अधिकारका लागि लड्दै आएका थिए ।

थारू बुद्धिजीवीहरू पनि समेटिएनन्, जो सधैं थारू समुदायको हकहित र अधिकारका लागि विभिन्न सार्वजनिक मञ्च र मिडिया मार्फत वकालत गर्दै आएका थिए । र, ती नेताहरू पनि नागरिक उन्मुक्तिको त्यो छाताभित्र गएनन्, जो टीकापुर घटना हुने दिनसम्म आ–आफ्नो भूगोल र कार्यक्षेत्रबाट थरुहट आन्दोलनलाई उचाइमा पुर्‍याउन अहोरात्र खटिएका थिए ।

थरुहट आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न पार्टीका थारू शुभेच्छुक संस्थाका नेताहरू पनि रेशमले पार्टी खोलेपछि टाढिइसकेका थिए । यद्यपि जुनसुकै पार्टीको सदस्य तथा नेता भए पनि २०७९ मा भएका तीनवटै तहका निर्वाचनमा कैलाली, कञ्चनपुरका थारू समुदायका व्यक्तिहरूले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियामा एक भोट हाले ।

नेपालको पश्चिम तराईको कैलालीमा जन्मिएको नागरिक उन्मुक्ति पार्टीले मध्य तराईसम्म पनि सहानुभूतिको भोट बटुल्यो । र, एउटा नयाँ शक्तिका रूपमा उसको उदय भयो ।

त्यही परिणामले रेशम जेलबाट निस्किए । रेशम जेलबाट बाहिर निस्किएपछि संभवतः सबैभन्दा दुःखी हुने व्यक्तिका रूपमा चित्रण गरिंदै आएकी पात्र हुन्, रञ्जिता चौधरी । रेशमले आफूलाई फेरि जेल हाल्ने षडयन्त्र भइरहेको अभिव्यक्ति दिएका छन्, जेल हाल्न खोज्ने व्यक्तिको नाम किटान नगरे पनि त्यो पात्र रञ्जिता हुन् भन्ने कुरा बुझ्न गाह्रो हुँदैन । किनकि रेशम जेल बाहिर निस्किएपछि रञ्जिताले कुनै पनि निर्णय आफ्नो विवेकले गर्न पाइनन् ।

अध्यक्ष भएर पनि अध्यक्षको अधिकार प्रयोग गर्न पाइनन् । रञ्जिता मन्त्री त भइन्, तर मन्त्रालय रेशमले चलाए । निर्णय रेशमले गरे । रेशम जेलभित्र हुँदा रञ्जिताले राजनीतिमा जुन स्पेस पाइन्, त्यो रेशम बाहिर निस्किंदा मिल्दैन भन्नेमा उनी ढुक्क थिइन् ।

रेशम र रञ्जिता पति–पत्नी भए पनि भावनात्मक रूपमा उनीहरू एक हुन नसकेको उनी निकट व्यक्तिहरू बताउँछन् । पटक–पटक नेताहरू पदलोलुप भए त्यसैले पार्टीमा समस्या आयो भनेर रेशमले भनिरहेका छन् । रेशमकै भाषामा रञ्जिता पदलोलुप भइन् । त्यही भएर अहिले रञ्जिता सत्ताका लागि जस्तोसुकै कदम उठाउन तयार देखिन्छिन् ।

रेशम जेलमा भएको बेला नागरिक उन्मुक्ति पार्टी जन्मियो । रेशमले जेलमै पार्टीको विधान लेखे । जेलमै रणनीति बनाए । जेलबाटै प्रचार गरे । चुनावमा रञ्जितालाई उठाए । तर जनताले रेशमकै अनुहार हेरेर रञ्जिता लगायत उम्मेदवारलाई भोट दिए ।

रञ्जिताले मन्त्री बन्ने सम्भावना सहित रेशमसँग कुरा गरे पनि आफू जेलमा रहेको अवस्थामा पत्नी र पार्टीका नेताहरू मन्त्री बन्न नसक्ने अडान राखे । जब रेशम छुट्ने निश्चित भयो, तब मात्र रञ्जिता मन्त्री बनिन् ।

मन्त्री भएपछि रञ्जिताको शक्ति स्वाभाविक रूपमा बढ्यो । रेशमलाई यो चित्त बुझिरहेको थिएन । रञ्जिता स्वच्छन्द ढंगले सत्ता चलाउन चाहन्थिन् ।

उनलाई रेशमको हस्तक्षेप मन परिरहेको थिएन । रेशम भने मन्त्रीले गर्ने हरेक निर्णय सदर हुनुअघि आफूलाई जानकारी हुनुपर्ने जिकिर गर्न थाले । उनीहरूबीच त्यही विषयमा समेत खट्पट् हुन थाल्यो ।

रेशमले जेलबाट छुटेपछि पार्टीको महाधिवेशन बोलाए । महाधिवेशन मार्फत रञ्जिता अध्यक्ष बन्न चाहन्थिन् । तर प्रतिनिधिले रेशमलाई रोजे । त्यसपछि उनी महाधिवेशनस्थलबाट बाहिरिइन् । र, टीकापुरकै एक होटलमा गएर बसिन् ।

रेशमले उनलाई मनाउने कोशिश गरे । सहअध्यक्षमा मनोनीत गर्ने प्रतिबद्धता जनाए । उनी सहअध्यक्ष बस्न तयार भइनन् । र, महाधिवेशन चलिरहँदा उनी काठमाडौं फर्किन् ।

महाधिवेशनपछि रेशम र रञ्जिताबीच दूरी थप बढ्यो । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ समीकरण बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत लिएको भोलिपल्ट निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई मान्यता दिएन । बरु रञ्जिताकै नेतृत्वमा रहेको पुरानो कमिटीलाई मान्यता दियो । रेशम पदविहीन भए ।

निर्वाचन आयोगले अचानक पत्र हटाएर आफूलाई अध्यक्षको मान्यता नदिनु रेशमले रञ्जिता–दाहाल–ओलीको षड्यन्त्र ठाने । त्यसयता रेशमले सार्वजनिक मञ्चहरूमा भन्दै आएका छन्, सरकारले हाम्रो पार्टी चलायो ।

विगतमा प्रचण्डप्रति नरम रहे पनि आफ्नो नेतृत्वको कमिटीलाई आयोगले मान्यता नदिएपछि क्रूद्ध भएका रेशम त्यही दिनदेखि नयाँ गठबन्धनको विपक्षमा उभिएका हुन् । सरकारले साना पार्टीहरूलाई कमजोर बनाउन षड्यन्त्र गरेको रेशमले त्यसयता आरोप लगाउँदै आएका छन् ।

हुन पनि रञ्जिताको रेशमभन्दा बढी भेटघाट दाहाल र ओलीसँग छ । रञ्जिता जसरी पनि मन्त्री बन्न चाहन्थिन् । अझ यस पटक उनको महत्वाकांक्षा उपप्रधानमन्त्री हुने थियो । उनलाई त्यसको ग्रीन सिंग्नल पनि दाहालबाट प्राप्त भएको थियो । उनको महत्वाकांक्षामा तगारो बनिदिए, रेशम । रेशम र रञ्जिताबीच दूरी बढ्नुको मुख्य कारण यही हो ।

रेशमका बुवा समान, जो सधैं रेशमको पक्षमा उभिए; तिनै दामोदर पण्डित पनि यस पटक भट्किए । त्यसको कारण पण्डितलाई प्रधानमन्त्री दाहालले प्रदेश प्रमुख बनाउन दिएको आश्वासन हो भन्ठान्नेहरू पनि छन् ।

रेशमले पार्टी निर्माणको सुरुवाती चरणमा विभिन्न पार्टीमा खत–बात लागेकाहरूलाई स्थान दिए । आज तिनै मान्छे उनको विपक्षमा छन् । जसलाई थारू मुद्दासँग कुनै सरोकार न हिजो थियो, न आज छ ।

रेशम र मुख्यमन्त्री शाहको गाउँ एउटै हो । उनीहरू छिमेकी हुन् । तर रेशमले सुदूरपश्चिम सरकारलाई समर्थन गरिरहनुको अर्थ मुख्यमन्त्री शाहसँग उनको निकटता वा मोह होइन ।

निर्वाचन आयोग मार्फत प्रचण्ड सरकारले आफूलाई पार्टीको अध्यक्षबाट बेदखल गरेको बदलाभावबाट रेशमको यो निर्णय प्रेरित छ । रञ्जिताले प्रचण्ड सरकारलाई निशर्त समर्थन गरेकी होइनन्, उनलाई दिने पद र सरकारबाट पाएको आश्वासन नै नयाँ गठबन्धनलाई उनले समर्थन गर्ने आधार हो ।

एकातिर थारूका मुद्दा यथावत् छन् अर्कोतिर त्यही मुद्दालाई भजाएर जन्मेको नागरिक उन्मुक्ति पार्टी विघटनको सँघारमा छ । विघटनको कारण कुनै सैद्धान्तिक मुद्दा भने छैन ।

सत्तामा जाने विषय नै विघटनको कारण बन्दैछ । बस्, फरक यत्ति छ कि; कसले चाहेको सरकारलाई समर्थन गर्ने– पति रेशमले चाहेको सरकारलाई कि ? पत्नी रञ्जिताले चाहेको सत्तालाई ! पति–पत्नीको झगडा र सत्ता–स्वार्थमा बन्धक भएको छ, थारू मुद्दा ।

रक्सी भन्दा खराब चिज हो सत्ता त्यसै भनिएको होइन । रक्सीको नसा उत्रिन्छ तर सत्ताको नशा सधैंभरि रहिरहन्छ । नागरिक उन्मुक्ति पार्टीमा पनि भएको त्यही हो ।

उपाध्याय लामो समयदेखि कैलालीमा रहेर पत्रकारिता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?