+
+

कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:५४
माओवादी संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्मा

२१ चैत, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ ।

मुख्यमन्त्री शर्माले राजीनामा दिने या प्रदेश सभाबाट विश्वासको मत लिने भन्ने विषयमा निर्णय लिन दलको बैठक बोलाइएको प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न माओवादी तयार भए पनि एमालेले नमानेको माओवादी नेताहरू बताउँछन् । केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली सरकारको नेतृत्व एमालेले लिने गठबन्धन दलहरूबीच सहमति भएको छ ।

तर उक्त सहमति कार्यान्वयनमा गर्न मुख्यमन्त्री शर्मा तयार छैनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरीत विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी छ ।

‘विश्वासको मत लिने कार्यसूची प्रदेश सभामा दर्ता भएको छ । प्रस्ताव संवैधानिक प्रक्रियाबाट निकास खोज्नु राम्रो हुन्छ’, प्रमुख सचेतक परियार भन्छन्, ‘विश्वासको मत लिएको केही समयपछि हामी आफैं केन्द्रीय सहमति अनुसार सत्ता हस्तान्तरणका लागि लिखित सहमति गर्न तयार छौँ । तर एमालेले मानेको छैन ।’

संवैधानिक प्रक्रिया अनुसार बुधबार नै मुख्यमन्त्री शर्माले राजीनामा दिने वा संसदबाट विश्वासको मत लिने भन्ने टुङ्गो बुधबार नै लगाउनुपर्नेछ । ‘दलको बैठकले अब के गर्ने भन्नेबारे अन्तिम निर्णय लिन्छ’, परियारले भने । संवैधानिक प्रक्रियामा गएपछि त्यसलाई रोक्न नमिल्ने माओवादी नेताहरूको तर्क छ ।

माओवादी संसदीय दलको मंगलबार बेलुका बसेको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बुधबार दिउँसो तीन बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?