+
+

राखेप वार्षिक उत्सवमा खेलाडी पुरस्कृत, सुष्मा र दीपक सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते २१:०९

२१ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवको अवसरमा बुधबार ५ खेलाडीसहित १८ जना सम्मानित भएका छन् ।

बक्सिङकी सुष्मा तामाङ र एथ्लेटिक्सका दीपक अधिकारीले सर्वोत्कृष्ट खेलाडीको सम्मानसहित जनही १ लाख रुपैयाँ पाए ।

नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण बिजेता हुन् ।

दीपकले दोस्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत पदक जितेका थिए ।

सुष्माले थाइल्याण्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको यो नै पहिलो घटना थियो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।


भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको छ ।

जुनियर पुरुष खेलाडीमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैले जनही ५० हजार रुपैयाँ पाए । नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्री स्टाइलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए ।

त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकाले उत्कृष्ट स्थानीय तहको पुरस्कार पाएको हो । त्यस्तै उत्कृष्ट खेल संघको अवार्ड नेपाल भलिबल संघले पाएको छ ।

वार्षिक उत्सवको अवसरमा राखेपका कर्मचारी प्रशासनिक तर्फ नायब वरिष्ठ प्रशासकीय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकीय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकीय अधिकृत शारदा दाहालले परिषद सेवा पुरस्कार प्राप्त गरे ।

प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसले सर्वोत्कृष्ट परिषद सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए ।

सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्मचारीतर्फ नै इन्जिनियर सबिन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो ।

खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सबिना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार रुपैयाँ नगद पुरस्कार पाएका हुन् ।

पुरस्कृत हुनेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरेका हुन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?