+
+
उपनिर्वाचन :

बझाङमा गठबन्धन बेगर प्रतिस्पर्धा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते २१:१८
बायाँबाट क्रमश : कांग्रेस उम्मेदवार अभिषेक सिंह, एमाले उम्मेदवार दमन भण्डारी र माओवादी उम्मेदवार जनक बुढा ।

२२ चैत, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा (१) का लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेकाले उम्मेदवार तय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चार दिन लगातार बैठक गरी बिहीबार उम्मेदवार तय गरेको छ । बझाङ प्रदेश सभा (१) का लागि सिफारिसमा परेका १० जनाबाट अभिषेक सिंह उम्मेदवार हुने संसदीय बोर्डले निर्णय लिएको छ ।

टिकट प्राप्त गरेका अभिषेक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । गत असारमा तत्कालीन मन्त्री सिंहको सडक दुर्घटनामा मृत्यु भएको थियो । अभिषेककी आमाको पनि उक्त दुर्घटनामा मृत्यु भएको थियो । सिंहलाई टिकट दिलाउन सभापति शेरबहादुर देउवाको जोड थियो ।

पार्टीभित्रको अर्को समूह (शेखर–गगन) पक्षले भने जिल्लाका पाका नेता जगत जोशीलाई उम्मेदवार बनाउन चाहेको थियो । दुर्घटनामा बुबा/आमाको मृत्यु भएको कारण देखाउँदै छोरालाई टिकट दिनुपर्ने मत देउवाले पार्टी बैठकमा राखेका थिए ।

प्रदेश सभामा टिकट पाएका सिंह गत निर्वाचनमा स्थानीय तहको वडाध्यक्षमा भने पराजित भएका थिए । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा तेस्रो स्थानको मत सिंहले पाएका थिए । उनी नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै पार्टी राजनीतिमा आएका हुन् ।

सिंहका लागि अघिल्लोपटक कांग्रेसले जितेको स्थान कायम राख्नुपर्ने चुनौती छ । गत निर्वाचनमा गठबन्धनबाट कांग्रेसले जितेको थियो । कांग्रेसका सिंहले १७ हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका अफिलाल ओखेडालाई पराजित गरेका थिए । ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । उक्त क्षेत्रमा राप्रपा नेपाल तेस्रो र राप्रपाले चौथो स्थानको मत ल्याएका थिए ।

यसपटक सत्ताका लागि नयाँ समीकरण बनेकाले कांग्रेस एक्लो बलमा चुनावमा होमिनुपर्ने अवस्था छ । त्यस समय सिंहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन थियो । कांग्रेसले जितेको स्थान बझाङमा गुम्न नदिने सुदूरपश्चिमका कांग्रेस सभापति वीरबहादुर बलायरले दाबी गरे । ‘युवा उम्मेदवार उठाएका छौं । गठबन्धनको मत अघिल्लोपटक पनि धेरै आएको होइन । हामीले जित्छौं,’ बलायरले भने ।

गत निर्वाचनको पाएको मतको आधारमा प्रतिस्पर्धी शक्ति कांग्रेस र एमाले देखिएका छन् । उपनिर्वाचनमा एमालेबाट अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवार हुन पाएनन् । आकांक्षीहरू बीच प्रतिस्पर्धा गराएर एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार तोकेको छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकांक्षी ६ जनाबीच मतदान गराउँदा भण्डारीले सबैभन्दा धेरै मत पाएका थिए । ९४ मत प्राप्त गरेर अरू आकांक्षीलाई पछि पारेका भण्डारी उम्मेदवार बने । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए ।

गठबन्धनका दलबीच चुनावी तालमेल हुन नसकेपछि आ-आफ्ना उम्मेदवार तय गरेका छन् । माओवादी केन्द्रको तल्लो तहले जनक बुढाको एकल नाम केन्द्रमा सिफारिस गरेको छ । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य हुन् । इलाम–२ मा एमालेलाई सहयोग गर्ने भएकाले बझाङमा माओवादीलाई एमालेले सघाउनुपर्ने बुढाले तर्क गरे । उनले अनलाइनखबरसँग भने,‘हामीलाई सघाउनुस् भनेका छौं । एमालेले समर्थन नगरे मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

सत्ता गठबन्धनको अर्को दल एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।

जनता समाजवादी पार्टीले बझाङबाट रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले संघीय परिषद् सदस्य जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?