+
+
समीक्षा :

‘शहरक भीडमे एसगर हम’ भित्रका धर्मेन्द्र विह्वल

काव्यिक रचनाको नवीनतम प्रयोगमा उत्तर आधुनिकताको झलक विम्बित हुने यो कृति जति आस्वादनपूर्ण छ त्यति नै विसङ्गत समाजप्रतिको मार्मिक र कठोर प्रहार बन्न गएको छ ।

किरण पोखरेल किरण पोखरेल
२०८० चैत २४ गते १०:१७

मैथिली भाषाका सिद्धहस्त कवि धर्मेन्द्र विह्वलको प्रभावशाली कविता संग्रह हो, ‘शहरक भीडमे एसगर हम ।’ काव्यिक रचनाको नवीनतम प्रयोगमा उत्तर आधुनिकताको झलक विम्बित हुने उनको यो कृति जति आस्वादनपूर्ण छ त्यति नै विसङ्गत समाजप्रतिको मार्मिक र कठोर प्रहार बन्न गएको छ ।

जीविकोपार्जनका सन्दर्भमा नेपाली भाषाका माध्यमले पत्रकारिता गर्ने धर्मेन्द्र झा नै मैथिली साहित्यका प्रयोगवादी हस्ताक्षर ‘धर्मेन्द्र विह्वल’ हुन् । उनका यसअघिका अघिल्ला कविता–कृति एक सृष्टि एक कविता (दीर्घ कविता), धुवाँएल आकृतिसभ (व्यंग्य कविता संग्रह), एक समयक बात (हाइकु संग्रह), व्योमक ओहि पार (तांका संग्रह) मध्ये अधिकांश प्रयोगसँग सम्बन्धित छन् ।

हाइकु र तांका जस्ता केही कृति त समग्र मैथिली साहित्यमै पहिलो मानिन्छन् । यस्तै पुस्तकाकार प्रकाशित दीर्घ कविता पनि विह्वलकै पहिलो मानिन्छ । यसै क्रममा उनको पछिल्लो कृति– ‘शहरक भीडमे एसगर हम’ पनि मैथिली साहित्यमा एक नव प्रयोग नै हो ।

यस संग्रहमा एउटै शीर्षक शहरमा एकाउन्न वटा कविता संग्रहित छन् । वि.सं. २०४७ देखि २०६६ सम्मको अवधिभित्रका यी कविता त्यस समयको राजनीतिक र सामाजिक प्रतिविम्बन हुन् भन्दा अस्वाभाविक हुँदैन । नेपालमा यस अवधिमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनका शब्द–साक्षी बनेका धर्मेन्द्रका कविताहरू सामाजिक मनोभावका अभिव्यक्ति पनि हुन् ।

समाजभित्रको सनातन वैविध्यले खनेको उँच–नीच अनि सम्पन्नता–विपन्नताको खाडलभित्र पिल्सिएका तमाम जनसमूहको साझा आक्रोश र विद्रोहको ज्वालामुखी पनि हो उनको यो कृति ।

राजनीतिभित्रको अपराधले जन्माएका अमानवीय विकृतिबाट आक्रान्त व्यक्ति र समुदायको रोदनको प्रतिलिपिका रूपमा समेत यो सङ्ग्रहले आफूलाई परिचित गराएको छ ।

धर्मेन्द्रको यस कृतिमा यस्तै भाव व्यक्त भएका छन् । केही मानिसलाई केही मानिसले प्रयोग गरेर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्तिप्रति कवि असहमत छन् र यसका विरुद्धमा खबरदारी गर्ने प्रयत्न गर्छन् अनि कविता जन्मन पुग्दछ र उनी स्रष्टा बन्न पुग्दछन् ।

अति विशिष्ट भाषिक निर्मितिमा स्तरीय पाठकहेतु तयार पारिएको यो कृतिले सरलता कम र विशिष्टता बढी प्रदर्शन गरेको भान भए पनि साहित्यिक उचाइ र योग्यताको कसीमा निर्विकल्प रोजाइ बन्न भने यो कृति पूर्ण रूपमा सफल देखिएको छ । अनेकौं ठाउँमा कविका शब्द र भाव दुवै क्लिष्ट हुन् कि भन्ने भान पर्न जान्छ ।

यदि यो समस्या हो भने यसलाई सम्बोधन गर्ने प्रयत्न गरेका छन् कलाकार चित्रकार एस सि सुमनका चित्रले । यो कृतिको महत्वपूर्ण विशेषता हो प्रत्येक पृष्ठमा कवितासँग चित्र । चित्रकार सुमनले कविताका भावलाई चित्रमार्फत बोधगम्य तरिकाले पस्केका छन् । मैथिली कविता कृतिमा सम्भवतः यो पनि एक प्रयोग नै हो ।

कलाकार सुमन मिथिला चित्रकलामा मात्र होइनन् समग्रमा चित्रकलाका क्षेत्रमा एक स्थापित नाम हुन् । विशेषतः मिथिला लोक कला र आधुनिक कलाको संयोजनका आधारमा चित्र सिर्जन गर्न खप्पिस सुमनले आफ्ना यस्तै चित्र मार्फत यस कृतिलाई अर्थपूर्ण बनाउँदै सम्पूर्ण बनाउने प्रयास गरेका छन् । यस आधारमा यो कृति विह्वल र सुमनको संयुक्त कृति होभन्दा फरक पर्दैन ।

प्रत्येक मानिसको भिन्न–भिन्न बुझाइले निर्माण गर्ने सत्यको आकार भन्दा वास्तविक सत्य आफैंमा निराकार हुन्छ र त्यो निराकार सत्यलाई भेट्न चर्मचक्षुको भन्दा अन्तर्मनको आलोकको खोजी आवश्यक पर्छ भन्ने कुरामा केन्द्रित देखिएका छन् विह्वल यस सङ्ग्रहभित्र र विह्वलका भावले साकार रूप प्रदान गरेका छन् कलाकार सुमनले ।

मैथिली साहित्यका कलमजीवीहरूले देश र समाजलाई पस्किने कृतिगत आहाराहरूमध्ये यो कृति फरक वैशिष्ट्य प्रदर्शन गर्न प्रयत्नशील देखिएको छ । गुणात्मक उचाइका दृष्टिले विह्वल एक स्वनामधन्य स्रष्टाका रूपमा स्थापित हुन पुगेका छन् । उनको कल्पनाशीलताले यथार्थलाई असीमित रूपमा अङ्गीकार गर्न सकेको देखिन्छ ।

धर्मेन्द्रले यस कृतिमा मानवीय मूल्य र मान्यताहरूको लागि सामाजिक र राजनीतिक शुद्धीकरणको अपरिहार्यता औंल्याएका छन् ।

उनको विचारमा सीमा हराएको छ आजको मानिसको । आजका सम्पूर्ण नक्साहरू अस्पष्ट छन् । प्रत्येक व्यक्ति घेरिएका छन् एक प्रकारको अदृश्य भित्ताहरूबाट । जिन्दगीको सिमांकनको प्रयास दिशाहीन, भ्रमित भएर छटपटाइरहेका छन् ।

कविको यो भाव निकै महत्वपूर्ण छ र कठोर सत्य पनि । आजका मानिस सत्यभन्दा पनि भ्रमहरूका आधारमा निर्देशित हुनुपर्ने बाध्यतामा छन् । भविष्य के हो ? दिशाहीन र अनिश्चित छ । यस्तोमा मानिसले स्वमूल्यांकन गरी आफूलाई सत्यका आधारमा भविष्यका लागि तयार गर्नुपर्ने कविको सुझाव छ ।

समाजमा विद्यमान विकृति र विसङ्गतिको समूल अन्त्यपश्चात् मात्र स्वीकृति स्थापित गर्न बल पुग्दछ भन्ने अभिप्राय कविको रहेको छ । यस हिसाबले यो कृति व्यङ्ग्यात्मकताको बलियो झटारो पनि बन्न सफल भएको छ । समग्रमा कवि धर्मेन्द्र घरी रोदनका कवि, घरी आक्रोशका स्रोत घरी स्वच्छन्दताका नवनिर्माता भएर यो काव्यभित्र चम्किएका छन् ।

उनको रचनात्मक उच्चतालाई सामान्य पाठकको आँखाले सहजै मूल्याङ्कन गर्न नसक्ने देखिन्छ । यसका लागि गम्भीर अनुसन्धान सहितको एकाग्रता अपरिहार्य हुन जान्छ । वास्तवमा धर्मेन्द्रलाई यो कृतिले एक मूल्यवान् स्रष्टा सिद्ध गरिदिएको छ । मैथिली साहित्यलाई गरिमामयी बनाउन उनी निश्चय नै सफल बनेका छन् भन्दा अन्यथा नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?