 
																			२७ चैत, सुर्खेत । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ ।
नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । उनले बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।
केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चैत २१ गते राजीनामा दिएका थिए ।
उनको राजीनामापछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कँडेलले आज प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दैछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । नयाँ सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ सिट रहेकाले सहज बहुमत पुग्छ ।
यसैगरी नेपाली कांग्रेसका १४ तथा राप्रपा र स्वतन्त्र एक-एक जना प्रदेश सभा सदस्य छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4