+
+

खानेपानी सचिवमाथि अनुसन्धान गर्न अख्तियारलाई सतर्कताको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते २०:३०

२८ चैत, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यमाथि मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमण गएकोबारे अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग गरेर नियमविपरीत सचिव आचार्य विदेश गएको रातो पासपोर्ट समेत प्रयोग गरिएकोबारे अनुसन्धान गर्नुपर्ने भन्दै सतर्कता केन्द्रले अख्तियारमा पत्राचार गरेको हो ।

सतर्कता केन्द्रका सचिव रामआधार साहले खानेपानी मन्त्रालयको सचिव चढ्ने गाडी लिएर गएपछि फिर्ता गर्ने वा नगर्ने विषयलाई लिएर टकराब उत्पन्न भएको थियो । त्यसबीचमै सचिव आचार्य मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगरी विदेश गएपछि सतर्कता केन्द्रले सचिव आचार्यमाथि अनुसन्धान थालेको थियो ।

बायाँबाट खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य र  सतर्कता केन्द्रका सचिव रामआधार साह

३ माघमा यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सहभागी हुन सचिव आचार्यको नेतृत्वको टोली भारतको उडिसा गएको थियो । अचार्यसँगै मन्त्रालयका सहसचिवहरु मीना श्रेष्ठ र अर्जुन गौतम, खानेपानी तथा ढल निकास विभागमा महानिर्देश्क कमलराज श्रेष्ठ, सिनियर डिभिजन इन्जिनियरहरु रवीन्द्र पोखरेल, रञ्जित ओझा र देवेन्द्र झा, ततकालीन खानेपानी मन्त्रीका छोरा स्वीकय सचिव सुनिल अधिकारी भारत भ्रमणका गएका थिए ।

केन्द्रले सो भ्रमणका क्रममा प्रक्रिया गोलमाल गरिएको भन्दै सचिव आचार्यको भ्रमणसम्बद्ध कागजात माग गरेको थियो । कूटनीतिक (रातो) राहदानीबाहक रहेका सचिव आचार्य मन्त्रिपरिषदलाई छलेर भारत गएको देखिएको केन्द्रको प्रारम्भिक निष्कर्ष छ ।

सतर्कताले उक्त कार्यक्रममा सचिव आचार्यलाई पठाउन मन्त्रिपरिषदको स्वीकृतिका लागि मन्त्रीस्तरीय निर्णय भए पनि मन्त्रिपरिषदको निर्णय नभएको ठहर गरेको छ । सतर्कता केन्द्रका अधिकारीहरु सचिव आचार्य घर विदा लिएर सरकारी अधिकारीहरुसहित भारत भ्रमणमा गएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई भनिएको बताउँछन् ।

नियमअनुसार कुनै पनि सचिवले मुख्यसचिवको अनुमति नलिई काठमाडौं समेत छाड्न पाउँदैनन्, मन्त्रिपरिषदको निर्णय नभई देश छाड्न पाइँदैन । तर, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँग मौखिक सहमति लिएर गएका आचार्यलाई सतर्कताले अख्तियार दुरुपयोगमै अनुसन्धान गराउन चाहेको छ ।

सतर्कता केन्द्रले २७ पुसमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो । कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले सबै मन्त्रालय र निकायहरुलाई लिखित निर्देशन दिएको थियो ।

तर, खानेपानी सचिव आचार्य नेतृत्वको भारत भ्रमण गर्ने टोलीमा तत्कालीन खानेपानीमन्त्री महिन्द्रराय यादवका छोरा सुनिल पनि थिए । त्यसबारे जानकारी माग्दै सतर्कता केन्द्रले यसअघि नै मन्त्रालयसँग विवरण माग गरेको थियो । जसमा खानेपानी मन्त्रालयले २ फागुनमा जवाफीपत्र समेत पठाएको थियो ।

तर, सतर्कता केन्द्र सो पत्रको जवाफमा सन्तुष्ट भएन र अर्को पत्र पठाएको थियो । ‘केन्द्रको पूर्व पत्रद्वारा माग भएको विवरण प्रष्ट रुपमा प्राप्त भएको देखिएन,’ ९ फागुनमा अर्को पत्र लेख्दै सतर्कता केन्द्रले खानेपानी मन्त्रालयलाई भनेको थियो,‘..निमन्त्रणापत्रमा पाँच जना हाई लेभल गभर्नमेन्ट अफिसियल उल्लेख भएकोमा तहाँ मन्त्रालयबाट सचिव सरेश आचार्यको नेतृत्वमा ८ सदस्यीय टोली सहभागी भएको बुझिएको हुँदा सचिव आचार्यसमेत ८ जनाको विवरण आवश्यक कागजातसहित ७ दिनभित्र उपलब्ध गराइदिन अनुरोध छ ।’

तर, मन्त्रालयले स्पष्ट जवाफ नदिएको भन्दै सतर्कताले कर्मचारीका लागि आएको निमन्त्रणमा मन्त्रीका स्वकीय सचिव सुनिल अधिकारीलाई लगिएकाले अनुसन्धान गर्न भन्दै अख्तियारलाई पत्र पठाएको छ । सतर्कता केन्द्रले पत्रमार्फत संघीय खानेपानी आयोजना महेन्द्र्रनगरका सिनियर डिभजिनल इन्जिनियर देवेन्द्र झा माथि पनि अनुसन्धान गर्न अख्तियारलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?