+

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

२०८० चैत  २९ गते १६:११ २०८० चैत २९ गते १६:११
चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

कपालमा तेल धेरैले लगाउने गर्छन् । कपालमा तेल लगाउनु ठीक कि बेठीक यसमा आ-आफ्नै बुझाइ होलान् । कतिपयले कपालमा तेल लगाउनुलाई सही मान्छन् भने कतिपयले गलत ।

कपालमा तेल लगाउन मिल्छ तर सही तरिकाले लगाउन जान्नुपर्छ ।

कपालमा तेल किन लगाइन्छ ?

कपालमा तेलले मालिस गर्दा टाउकोमा रक्तसञ्चार राम्रो हुन्छ, जसले गर्दा कपाल अझ बलियो र लामो पनि हुँदै जान्छ भन्ने मान्यता छ । तर तेल नलगाइकन मालिस गर्दा पनि रक्तसञ्चार बढ्छ । त्यसैले टाउकोको रक्तसञ्चार बढाउनकै लागि तेल लगाउनुपर्छ भन्ने छैन । कपालमा रक्तसचार बढाउन दैनिक १०–१५ मिनेट मसाज गर्न सकिन्छ ।

नुहाउँदा कपाल टुक्रिने र हाँगा फाट्ने समस्या हुने भएकाले नुहाउनुअघि कपालमा तेल लगाउनु राम्रो हुन्छ । तर तालुमा नभई कपालको रेसाहरुमा मात्र तेल लगाउनुपर्छ । अझ नुहाउनुभन्दा एकघण्टा अगाडि कपालको रेसाहरुमा तेल लगाएर नुहाउँदा झन् यसले कपाल टुक्रिने समस्याबाट जोगाउँछ ।

किन लगाउनु हुँदैन कपालमा तेल ?

टाउकोमा तेल कपाल चिल्लो बनाउन लगाइन्छ । तर कपाल चिल्लो बनाउन बाहिरी तेल लगाउनुपर्दैन । किनभने कपालको जरामा स्वतः तेल निकाल्ने सिवासियस ग्रन्थी हुन्छ । यसले एक प्रकारको चिल्लो पदार्थ निकाल्छ, जसलाई सिवम् भनिन्छ । यसले कपाललाई नेचुरल मोइस्चराइजिङ गर्छ । यो सबैको छालामा हुन्छ ।

अनुहारमा वा निधारमा डन्डीफोर आउने समस्या छ भने कपालमा तेल लगाउनु हुँदैन । किनभने डन्डीफोर छाला धेरै चिल्लो भएर आउने गर्छ । कपालमा स्वत: चिल्लो पदार्थ निस्किने भएकाले थप चिल्लो बनाउन जरुरी हुँदैन । धेरै तेलमा भएमा छालाको रौंको प्वाल बन्द हुनसक्ने भएकाले छालामा विभिन्न समस्या आउन सक्छ ।

जस्तै फंगल वा ब्याक्टेरियल संक्रमण हुनसक्ने र चायाको समस्या बढ्दै जाने समस्या हुनसक्छ । सुत्नुअगाडि कपालमा तेल लगाउनु हुँदैन । यसरी बेलुका तेल लगाउँदा अनुहारमा पनि तेल सर्छ । जसकारण अनुहारको छालाको प्वालहरु बन्द भएर डन्डीफोर आउने जोखिम बढ्छ ।

कतिपयको छाला जन्मजात नै चिल्लो हुन्छ र चिल्लो बढी भएका कारण चायाको समस्या हुन्छ । यस्तो अवस्थामा पनि तेल लगाउनु हुँदैन । यसले झन् चाया बढाउने र ब्याक्टेरिया र फंगल संक्रमण भएर टाउको चिलाउने, घाउ हुने, पाक्ने, दुख्ने र पोल्नेलगायत समस्या हुनसक्छ ।

कपालमा एक घण्टाभन्दा बढी तेल लगाउनाले डन्डीफोर र फोहोर हुने खतरा बढ्छ । यसो गर्नाले टाउकोमा कपालका प्वालहरू बन्द हुनसक्छन् । यसले कपाललाई धेरै किसिमको क्षति पुर्‍याउन सक्छ ।

कपालमा तेल लगाउने सही तरिका ?

खासगरी तेल टाउको तालुमा अर्थात् छालामा लगाउने चलन छ हाम्रो समाजमा तर लगाउनुपर्ने तालुमा होइन कपालको रेसारेसा मात्र लगाउनुपर्ने हो । यसले कपाललाई घना, बलियो, बाक्लो, लामो र चम्किलो बनाउन मद्दत गर्छ ।

शिशुका लागि भने नुहाउनु अगाडि तेलले जिउमा मसाज गर्ने र टाउको पनि मालिस गर्न मिल्छ । तर मालिस गरेको एक-दुई घण्टापछि तेल पुछिदिने वा नुहाइदिने गर्नुपर्छ । किनकि धेरै तेल लगाइएमा घमौराको समस्या हुने हुन्छ । हिजोआज बच्चालाई घमौराको समस्या भएपछि चिपचिप तेल लगाउने चलन छ, जुन गलत हो । यसले बच्चालाई झन् असहज बनाउँछ । बच्चालाई भिटामिन डीको लागि तेल लगाएर घाममा दुई-तीन घण्टा राख्ने पनि चलन छ । घाममा राख्नका लागि तेल लगाउनैपर्छ भन्ने छैन, यत्तिकै १५–२० राख्दा पनि भिटामिन डी प्राप्त हुन्छ ।

के गर्ने ?

कपालको सुरक्षाका लागि सकेसम्म बिहान उठ्नेबित्तिकै वा आफ्नो समय मिलाएर दैनिक बिना तेल टाउको मसाज गर्न सकिन्छ ।

कपालमा नुहाउनुभन्दा आधा वा एक घण्टा अगाडि कपालको जरामा नभई रेसाहरुमा तेल राखेर मसाज गर्न सकिन्छ । यसले गर्दा कपाल बलियो र चमकदार हुन्छ । नुहाइसकेपछि हेयर ओइल भन्दा हेयर सिरम लगाएको राम्रो हुन्छ ।

कस्तो खालको तेल लगाउने ?

अनुसन्धानकर्ताहरुका अनुसार नरिवलको तेल उत्तम मानिन्छ । तोरीको तेलसम्बन्धी विवाद छ, किनभने कसैकसैलाई तोरीको तेलले एलर्जीको समस्या देखिन्छ ।

कपाल डा. रुपक घिमिरे
डा. रुपक विक घिमिरे
लेखक
डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

डा. घिमिरे हाल काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक हुन् । उनले डर्माटोलोजीमा एमडी गरेका छन् । कपाल प्रत्यारोपणका पनि विशेषज्ञ  काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत हुन् । उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिव हुन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय