+
+

निर्मात्रीका रुपमा स्वस्तिमाको अनुभव : असल सहयात्री भएमा गन्तव्यमा पुगेको पत्तो नहुने रहेछ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १४:४३

काठमाडौं । निर्मात्रीको रुपमा अभिनेत्री स्वस्तिमा खड्काको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन सकिएको छ । भरतपुर आसपासमा ३४ दिनसम्म छायांकन चल्यो ।

सुटिङ सकिएको जानकारी दिंदै अभिनेत्री खड्काले पहिलोपटक निर्मात्री हुनुको अनुभव बाँडेकी छन् । पहिलो पाइला अघि बढाउँदा असाध्यै गाह्रो हुने उनले बताइन् । पाइलाले गति लिएपछि बोझहरु हल्का लाग्ने स्वस्तिमाको अनुभव छ ।

यात्रामा असल सहयात्री हुने हो भने गन्त्व्यमा पुगेको पत्तो नहुने स्वस्तिमाको कथन छ । आफूलाई निर्मात्री बन्ने यात्रामा सघाउने फिल्म को–एक्टर तथा श्रीमान निश्चल बस्नेत, निर्देशकद्वय आकाश बराल र सुजन काफ्लेलाई उनले धन्यवाद दिएकी छन् ।

स्वस्तिमाको स्टाटस पढ्दा थाहा हुन्छ– पक्कै पनि यो फिल्म सुन्दर बनेको छ । कलाकार र टिम सदस्यले ‘बेहुली फ्रम मेघौली’लाई मन र मुटुसँग सिंगारेको उनी बताउँछिन् ।

स्वस्तिमा लेख्छिन्, ‘नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असंख्य प्रश्नले घेर्छन् । सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौं हुन्छ । तर जब पाइलाले गति लिन्छ, ती सबै बोझहरू हलुका लाग्न थाल्छन् । झन् त्यो यात्रामा हिंड्ने असल सहयात्री हुने हो भने गन्तव्यमा पुगेको पत्तै हुन्न । धन्यवाद दुई निर्देशक आकाश बराल, सजन काफ्ले जसले चलचित्रमा आफ्नै बाटो कोरेका छन् ।’

उनी अगाडि लेख्छिन्, ‘कार्यकारी निर्माता, शंकर पाण्डे, फिरोज खड्का जसले डेढ महिना परिवारझैं हामीलाई पाइला–पाइलामा साथमात्रै दिएका छैनन्, सुटिङ यति सजिलो पनि हुन सक्छ भनेर उदाहरण दिएका छन् । ती कलाकार र टिम सदस्य, जसले ‘बेहुली फ्रम मेघौली’लाई मन र मुटुले सिंगारेका छन् । र, धन्यवाद निश्चल बस्नेत जसले मेरा हरेक निर्णय र कदममा साथ दिएर मलाई पूर्ण बनाएका छन् ।’

यो पोस्टमा स्वस्तिमाले छायांकन स्थलमा गरिएको सूर्यमुखी फूलको बारीमा हिंडेको आकर्षक फोटो सेयर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?