३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् ।
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने काम आफूहरुको भएको बुझेको बताए । त्यही बुझेर नै विस्तार र एकताबाट दुई तिहाइको अवस्थामा पुर्याएको भन्दै उनले भने, ‘त्यसलाई तोडेर आन्दोलन कमजोर भयो ।’
अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक रहेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’
वामपन्थी भन्ने, भोट चाहिं कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने बताए । उनले अगाडि भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नुहुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’
यसको अर्थ एकता नै गर्दैन भन्ने नभएको बताए । ‘एकता परेका बखत गर्छौं, तर छानेर’ उनले भने, ‘पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौं ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4