+
+
शब्द–श्रद्धाञ्जली :

रत्ना, जसले जीवनभर शंकर लामिछानेलाई काँधमा राखिन्

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८१ वैशाख ५ गते ८:०९

अन्ततः रत्ना लामिछाने विदा भइन् सदाको लागि !

दार्जीलिङमा जन्मिएकी रत्ना राईको नेपालका विख्यात साहित्यकार शंकर लामिछानेसँग विवाह भयो र रत्ना लामिछाने भइन् । उनीहरूलाई विवाह गरिदिने पुरेत थिए– प्रख्यात हास्यव्यङ्ग्यकार तथा मदन पुरस्कार गुठीका कार्यालय सचिव वासुदेव लुईंटेल उर्फ भूतको भिनाजु । उनका माइती थिए भोजपुरका नारदमणि थुलुङ। विवाह भएको थियो २० फरवरी १९५३ मा, बज्रवाराही मन्दिरमा ।

शंकर र रत्नाको जोडी जमेको थियो। दुवै शिक्षित। दुवै बौद्धिक छलफलका लागि सधैं तयार। तर शंकर लेखक भए, रत्ना पाठक र शंकरको सहयोगी मात्र भइन् ।

शंकरसँगको दाम्पत्य जीवनमा नेपाल तथा भारतका विशिष्ट साहित्यकारहरूलाई उनले आतिथ्यता प्रदान गरिन्। त्यस्तो आतिथ्यता पाउनेहरूमा शंकरका नजिकका मित्रहरू भूपी शेरचन, भीम दर्शन रोका लगायत महाकवि देवकोटा समेत थिए। महाकवि देवकोटा त भारतमा सम्पन्न हुने एशियाली लेखक सम्मेलनका लागि काव्य प्रतिष्ठानको कविता पत्रिका ‘इन्द्रेनी’ को अङ्ग्रेजी अनुवादका लागि केही दिन शंकर निवास ताहाचलमै वास बसेका थिए । ती दिनमा महाकविले अनुवाद मौखिक रुपले गर्ने र शब्दको विकल्प दिने अनि शंकर लामिछाने र भीम दर्शन रोकाले लिपिबद्ध गर्ने गरेको अपूर्व क्षणको सम्झना सधैंका लागि सँगालिन् । त्यो बसाइको क्रममा चिया, खाजा, खाना तयार गर्ने रत्ना नै थिइन् ।

एकपल्ट उनले मिटबलको तरकारी बनाएकी थिइन् । महाकविलाई त्यो परिकार निकै मन परेछ र रत्नालाई ‘त्यो मासुको मस्यौरा खूब मिठो लाग्यो ।  फेरि बनाउनोस् न है’ भनेको उनी जीवनभर सम्झना गर्थिन् ।

शंकरले २०२४ सालमा मदन पुरस्कार पाए ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ का लागि। तर २०२२ सालमा उनले लेखेको ‘बेजोड’ को भूमिका सहितको पारिजातको उपन्यास ‘शिरीषको फूल’ ले मदन पुरस्कार पाएको थियो। त्यो उपन्यासको पाण्डुलिपि शंकरले घरमै ल्याएर रत्ना र भीमदर्शन रोकाको सामु पढेर सुनाएका थिए र भूमिका लेखेका थिए। त्यसको साक्षी थिइन् रत्ना ।

रत्ना र शंकरबाट दुई सन्तान भए दीप र शिखा । दुवै हुर्किन थाले। जवान भए। लेखनमा सधैं प्रयोग गर्न रुचाउने शंकरले आफ्नो जीवनमा पनि प्रयोग गरे, आफ्नै अफिसकी टाइपिष्ट सुवर्णसँग प्रेम गरेर। त्यो प्रयोग प्रेममा सीमित भएन । सुवर्ण गर्भवती भएपछि शंकरले एक चिठी छाडेर गृहत्याग गरे ।

शंकरले गृहत्याग गरेपछि दीप र शिखालाई रत्नाले हुर्काइन् । लामै समय लाग्यो उनलाई शंकरको साथको अभावबाट मुक्त हुन। भौतिक साथबाट टाढा गए पनि उनले शंकरलाई मनबाट टाढा बनाउन सकिनन् । जीवनभर उनले दोस्रो बिहे गरिनन्। शंकरपत्नीकै रुपमा जीवन बिताइन् ।

शंकरले दोस्रो बिहे गरे पनि उनीप्रति रत्नाको सम्मान थियो । पछि शंकर रत्ना र छोराछोरीलाई भेट्न घर फर्केर आए। एकपल्ट त कान्छी श्रीमती समेत लिएर आएका थिए । शंकरले सुवर्णसहित घर फर्कने प्रस्ताव गरेका थिए, तर रत्नालाई यो स्वीकार्य भएन । उनले दह्रो मन बनाएर अस्वीकार गरिन् र शंकर पुरानो घरमा कहिल्यै फर्केनन् ।

खासमा रत्नाबाट छुट्टिएर गएपछि शंकरको लेखनले खास गति लिएन। उनी रक्स्याहा भए। बिरामी भैरहे ।

शंकर २०३२ सालमा म्यानेन्जाइटिसले ग्रस्त भएर अचेत अवस्थामा वीर अस्पतालमा भर्ना भए। त्यो खबर पाउने वित्तिकै उनी वीर अस्पताल पुगिन् र शंकर अस्पतालमा रहुन्जेल रत्नाको वास अस्पतालमै भयो। सुवर्ण र रत्नाले शंकरलाई एकछिन छाडेनन्। तर शंकरले भने रत्ना र सुवर्ण मात्र होइन, दीप र शिखा मात्र तथा सुवर्णपट्टिबाट जन्मेका दुई अबोध बालकहरू प्रकाश र प्रभास मात्र होइन यो  संसार नै त्यागिदिए। अचेतावस्थामा अस्पताल पुर्याशइएका उनको होश खुल्दै खुलेन।

रत्ना लामिछानेसँग लेखक गोविन्द गिरी प्रेरणा

शंकरको देहान्तपछि वासु रिमाल यात्रीले ‘विदेह’ को शंकर स्मृति अङ्क प्रकाशन गरे। उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेले ‘रूपरेखा’ को भव्य शंकर लामिछाने विशेषाङ्क नै प्रकाशित गरे। रूपरेखाको शंकर लामिछाने विशेषाङ्कका लागि दीप र शिखाले मात्र होइन रत्नाले पनि शंकरको बारेमा लेखिन्।

जीवनभर चर्चामा रहेका, हरेक लेखनीले पाठकको मन जितेका शंकर लामिछानेको चर्चा विस्तारै सेलाउँदै गयो। उनका पुस्तक रुचाएर पढिन्थे। फाट्टफुट्ट उनका बारेमा समालोचनात्मक लेखहरू पनि प्रकाशित हुन्थे। तर उनको जन्मजयन्ती मनाउने परम्परा शुरु भएको थिएन।

मैले शंकर लामिछानेलाई उनको जीवनकालमा देख्न पाइनँ। उनको मृत्युको बेला म साहित्य जगतमा उदाएकै थिइन्। मैले जे जति जानकारी हासिल गर्न सकें, त्यो विभिन्न पत्रपत्रिकामा प्रकाशित जानकारीमै सीमित थियो। रत्ना लामिछाने वा दीप लामिछाने, शिखा लामिछाने कसैसँग कहिल्यै सम्पर्क भएन। न त सुवर्ण, प्रकाश, प्रभाससँग नै। तर शंकर लामिछानेप्रति मेरो उच्च आदर थियो। साहित्यमा भिज्न थालेपछि त उनीप्रति मेरो आदर झन् चुलिएको थियो।

अनि एक वर्ष जन्म दिवसको अवसर पारेर मैले शंकर लामिछानेको विषयमा एक आलेख कान्तिपुरमा प्रकाशित गरें। लामो अन्तरालपछि शंकर लामिछानेलाई जन्म दिवसमा सम्झना गरेर लेखिएको त्यो पहिलो आलेख थियो। त्यसपछि मात्र शंकर लामिछानेका प्रशंसकको हूल, अभियन्ताहरू निस्केका हुन् ।

जेहोस् त्यो लेख रत्ना लामिछानेको आँखामा पर्यों कि परेन, म जान्न उत्सुक थिएँ। तर मलाई उनी कहाँ बस्छिन्, कहाँ छिन् क्यै थाहा थिएन। त्यसका लागि २०५६ सालले पर्खेर बसेको रहेछ, एउटा साइत लिएर। नेपाली काव्य जगतका मुक्तक छन्दका जेठा र विशिष्ट कवि भीम दर्शन रोकाको एक मात्र पुस्तक ‘घाम डुबी तारा नउदाएको आकाश हुँ मु को विमोचन समारोहमा मैले पहिलोपल्ट रत्ना लामिछानेलाई भेट्ने अवसर पाएँ र हत्तनपत्त सोधिहालें, ‘मैले शंकरदाइको बारेमा लेखेको लेख कान्तिपुरमा पढ्न पाउनुभो ?’

रत्नाले भनिन्, ‘मैले पढें मात्र होइन, त्यसको फोटो कपी बनाएर छोरा र छोरीलाई अमेरिका पठाइदिएँ, तिमीहरूको हजुरबुवा कस्तो मानिस हो भनेर नातिहरूले गर्व गरुन्, उनीहरूलाई लेखको बारेमा बताइदिनु भनेर !’ म खुशीले गद्‍गद् भएँ।

त्यसपछि रत्नासँग मेरो भेट जुरेन। सन् २००० मा म अमेरिका आएँ र ६ महिना बसें। फेरि २००२ मा पुनः अमेरिका आएँ र साढे ११ महिना बसें। यो बसाइको क्रममा अमेरिकामै रहेका शंकर लामिछानेका जेठा छोरा दीप लामिछानेसँग फोन सम्पर्क गर्न सकें। तर जतिपल्ट फोनमा कुरा हुँदा पनि ‘मेरो ड्याडीका पुस्तकहरू किन बजारमा उपलब्ध छैनन् ?’  भन्ने उनको एकमात्र गुनासो हुन्थ्यो।

सन् २००९ मे ३० का दिन मैले अमेरिकाकै न्यूजर्सीमा अवस्थित उनकी छोरी शिखाको घरमा रत्नाको इन्टरभ्यू लिने अवसर पाएँ। त्यो बेलामा उनका छोराछोरी दीप र शिखासँग पनि भेटघाट र भलाकुसारी भएको थियो। खासमा म अरु नै सिलसिलामा न्यूजर्सी जान लागेको थिएँ दुईरतीन दिनका लागि। अतः एकदिन चाहिं रत्नालाई भेट्न चाहेको खबर पठाएँ। अनि बिहानको खाना सहित भेटघाटका लागि रत्नाले निमन्त्रणा गरेकी थिइन्।

त्यही साल महाकवि देवकोटाको शतवार्षिकी परेको थियो र वाशिंटन डिसीमा मेरो संयोजकत्वमा सम्पन्न सप्ताहव्यापी महाकवि देवकोटा शतवार्षिकी समारोहलाई रत्नाले मेरो अनुरोधमा लिखित सन्देश पठाएकी थिइन् र मैले उद्घाटन समारोहमा पढेर सुनाएको थिएँ।

त्यसपछि रत्नासँग मेरो सम्पर्क पूरै टुट्यो। उनको फोन र मोबाइल पनि मैले पत्तो त लगाएँ तर सम्पर्कै हुन सकेन। मैले करिब २० वर्ष लगाएर तयार पारेको पारिजातको जीवनी ‘सुश्री पारिजात’ विसं २०७९ मा प्रकाशित भयो। मैले जीवनी लेख्न चाहेका तीन प्रतिभाहरू पारिजात, शंकर लामिछाने र भूपी शेरचनमध्ये एक मात्र पूर्ण भएको थियो। दोस्रो जीवनी शंकर लामिछानेको लेख्ने मन बनाएर त्यसको लागि केही सूचना, सामग्री, फोटोहरू र थप अन्तर्वार्ताको लागि म रत्नालाई भेट्न आतुर थिएँ। कोरोनाकालपछि पनि उनी बाहिरका कसैसँग भेटघाट, सम्पर्कमा नरहेको जानकारी पाएको थिएँ।

तर २०८० फागुन ३ गते शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली तथा सविता ढुङ्गानाको साथमा उनको निवास बालुवाटारमा भेटघाटको अवसर जुट्यो। यो भेटघाटको चाँजोपाँजो मित्र राधेश्याम लेकालीले मिलाएका थिए। सो अवसरमा मैले थप अन्तर्वार्ता लिन चाहेको, शंकर लामिछानेको हस्ताक्षरको नमूना उपलब्ध भए लिन चाहेको, प्रकाशमा नआएका फोटोहरू लिन चाहेको तथा शंकर लामिछानेले गृहत्याग गर्ने दिन छाडेर गएको चिट्ठीको प्रति सम्भव भए लिन चाहेको बताएँ।

रत्नाले सबै प्रस्ताव स्वीकारिन्, तर त्यो चिट्ठी निकै नै ‘संवेदनशील’ र ‘निजी’ भएको हुँदा परिवारका सबैको सहमति बेगर दिन नसकिने हुनाले त्यो बाहेक अरु सहयोग गर्न तयार भएको बताइन्। साथै २५ फरवरी २०२४ आइतबारका दिन पुनः भेटघाटको टुङ्गो लगायौं। सो अवसरमा मैले ‘सुश्री पारिजात’ उनलाई उपहार दिएर आएँ। र २५ फरवरी अर्थात् १३ फागुन २०८० का दिन निर्धारित समय ३ बजेपछि म उनको निवास पुगें। उनी मलाई दिनका लागि सामग्रीको फाइल र फोटो अनि मेरा जिज्ञासाको जवाफ दिन मूड र मनस्थिति लिएर पर्खिरहेकी थिइन् ।

भेट हुने वित्तिकै रत्नाले भनिन्, ‘मैले सुश्री पारिजात अक्षरश: पढें। कति निष्पक्षतापूर्वक सारा डिटेल्स सहित लेख्नुभएको। मलाई साह्रै चित्त बुझ्यो। तपाईंले शंकरको जीवनी माथि न्याय गर्नुहुन्छ भन्नेमा म ढुक्क भएँ। अनि मैले यौटा निर्णय गरें १’

त्यसपछि उनी टक्क अडिइन् र भनिन्, ‘मैले धेरै विचार गरेर त्यो शंकरले लेखेको चिट्ठी पनि तपाईंलाई दिने निर्णय गरें। त्यसको कपी बनाइदिएको छु !” यो मेरो लागि निकै खुशीको कुरा थियो।

मैले त्यसदिन आफ्ना केही थप जिज्ञासा पनि टेप गरें। म आफू आफ्नै निजी तनावमा भएकोले त्यति धेरै प्रश्नको तयारी गर्न सकेको थिइनँ। तर जे जति सोध्न सकें, सोधें र उनले जवाफ दिइन्। उनी हरेक प्रश्नको जवाफ दिनका लागि उदात्त रुपमा तयार थिइन्।

आफ्नो बेडरुममा राखेको शंकरको सबैभन्दा मन पर्ने फोटो देखाइन्। भित्तामा टाँगिएको शंकर र रत्ना मोटरसाइकलमा सवार फोटो पनि देखाइन्। मैले ती सब फोटो मोबाइलमा खिचें। मेरो लागि ल्याइएको उसिनेर दुई फ्याक पारी मसला छर्किएको अण्डा र चिया पिएँ। बाँकी जिज्ञासा हवाटस् एपको माध्यमबाट मैले पठाउने र उनले जवाफ पठाउने पनि सहमति गर्‍यौं। उनले थप फोटो र सामग्री पनि फोटो खिचेर ह्वाटस्एपमा नै पठाउने बताइन्।

त्यसपछि म विधिवत् विदा भएर आफ्नो निवास फर्किएँ। म अमेरिका फर्केपछि १३ मार्च २०२४ का दिन केही फोटोहरू र सन्देश पठाइन्। फोटोहरूमा एक ग्रुप फोटो पनि थियो जुन शंकर बनारसबाट फर्किएपछि खिचिएको पारिवारिक फोटो थियो जसमा उनका पिता, हजुरबुवा, हजुरआमा, काका, कान्छी आमा, भाइ लगायत फोटोमा हुनेहरूको नामहरू समेत विस्तृत रूपमा लेखेर पठाएकी थिइन्।

सन्देशमा उनले लेखेकी थिइन्, ‘मेरोमा भएको तस्वीरहरू पठाउँदैछु। अरू सामग्रीहरू पनि खोजिरहेकी छु। सम्पर्क राखिरहनुहोला। शंकरको जीवनीले नेपाली साहित्यमा एउटा अर्को इतिहास थप्नेछ र म विश्वस्त छु कि तपाईंबाट लेखिने शंकरको जीवनीमा न्याय हुने नै छ। मेरो शुभकामना रहिरहनेछ ।’

रत्नासँगको १३ फागुनमा भएको भेट नै अन्तिम भयो र उनले १३ मार्चमा पठाएको सन्देश नै अन्तिम संवाद हुनगयो।

अब मैले शंकर लामिछानेको जीवनी लेखेर न्याय गर्नु छ। गृहत्याग गरेर गएका श्रीमान् शंकर लामिछानेलाई गौरवका साथ जीवनभर काँधमा बोक्ने रत्नाको लागि मेरो सही साहित्यिक श्रद्धाञ्जली त्यही हुनेछ।

फल्सचर्च, भर्जिनिया।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?