+
+

सौरभ राईले आइफोनबाट खिचेको फिल्म मामीमा छनोट, एप्पल कम्पनीले गर्‍यो फिचर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १७:५२
सौरभ राई (बायाँ) ।

काठमाडौं । नेपाली भाषाको फिल्म ‘गुराँस’का निर्देशक सौरभ राईले आइफोनबाट खिचेको फिल्म ‘क्रसिङ बोडर्स’ भारतको प्रतिष्ठित मुम्बई फिल्म फेस्टिभल (मामी)मा छनोट भएको छ ।

उदाउँदा र स्वतन्त्र फिल्ममेकरलाई प्रोत्साहन गर्न फेस्टिभलले गत वर्ष ‘मामी सेलेक्ट : फिल्म्ड अन आइफोन’ प्रतिस्पर्धाको आह्वान गरेको थियो । जसअनुसार आइफोन १५ प्रोम्याक्सले छायांकन गरिएका र म्याकबुक प्रोमा सम्पादन गरिएका पाँच फिल्म छनोट गरिएको हो ।

जसमा सौरभको फिल्मसहित अर्चना अतुल फड्के, फराज अली, प्रतीक वत्स र सौम्यानन्द साहीका फिल्म छनोट भएका हुन् । यी सबै आइफोन फिल्मलाई मामीको युट्युब च्यानलमा स्ट्रिमिङ गरिएको छ ।

केही दिनअघि छनोट भएका यी फिल्मलाई विशाल भारद्वाज, विक्रमादित्य मोटवाने, रोहन सिप्पी, शकुन बत्रा, शबाना आजमी, अदिति राव हैदरी र मंगेतर सिद्धार्थ, गुल पनाग, जिम सरभ, कबीर खान, किरण राव र मौनी रोयको उपस्थितिमा प्रिमियर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राई निर्देशित २६ मिनेट लामो फिल्मले जीविकोपार्जनको लागि नेपाल–भारत सीमामा अवैध रुपमा खाद्यान्न ओसारपोसार गर्ने तीन पात्रको कथा भन्छ । जब उनीहरु सीमा अधिकारीबाट समातिन्छन्, मुक्त हुन उनीहरुले गरेको संघर्षको कथा यसमा छ ।

आफ्नी काकीबाट प्रभावित भएर फिल्म बनाएका सौरभले यो फिल्मबाट आप्रवासी र पहिचानको कथा भन्न खोजेका छन् । ‘ती बच्चाहरुसँग परिचय पत्र छैन । उनीहरुले घर फर्किन सीमा अधिकारीहरुलाई आफ्नो पहिचानको पुष्टि गर्नुपर्छ,’ आइफोन निर्माता कम्पनी एप्पलले तयार पारेको फिचर आलेखमा सौरभले भनेका छन् ।

अमेरिकी फोन निर्माता कम्पनी एप्पलले आफ्नो आधिकारिक वेबसाइटमा सौरभसहित छनोट भएका पाँचै फिल्ममेकरबारे फिचर गरेको छ ।

फेस्टिभल निर्देशक अनुपमा चोपडाले स्वतन्त्र फिल्म निर्मातालाई नयाँ कामको लागि सहकार्यको अवसर सिर्जना गरी यसलाई धेरै दर्शकसामु देखाउन वातावरण गराउनु मामीको उद्देश्य रहेको बताइन् । आइफोनमा खिचिएका फिल्म त्यस दिशातर्फ महत्वपूर्ण पहल रहेको उनको भनाइ छ ।

आइफोनबाट खिचिएका यी फिल्मले मापदण्डलाई चुनौती दिएको र कथावाचनसहित निर्माणको सन्दर्भमा नयाँ रुप सिर्जना गरेको मामी फेस्टिभलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सौरभ राई निर्देशित ‘गुराँस’को कुरा गर्दा यो फिल्मलाई यसैवर्ष हलमा रिलिज गरिने निर्माता कम्पनी आइसफल प्रोडक्सनले जनाएको छ । यो फिल्म गत महिना नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा स्क्रिनिङ गरिएको थियो ।

आइफोनले खिचिएको फिल्म ‘क्रसिङ बोडर्स’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?