+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालमा निजी क्षेत्रबाट हाइड्रोजन उत्पादन प्रयास, बुद्धभूमि र केयूबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १९:३०

७ वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू) सँग ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो ।

यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।

बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए ।

‘वर्षामा विद्युत् उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरूको विद्युत् खेर गइरहेको छ,’ खतिवडाले भने, ’यसरी खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत् आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’

दुई पक्षबीच भएको तीन बुँदे सम्झौतामा ग्रिन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजना क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।

सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा र एकेडेमिया इन्डस्ट्रीका संयोजक डा. राम लामा तथा कम्पनीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रिन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढंगले सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताए ।

थापाका अनुसार केयूलाई थप अनुसन्धान गर्न निजी क्षेत्रको जलविद्युत् आयोजनासँग भएको सम्झौताले सहज भएको र निजी क्षेत्रका अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्ने बाटो खुलेको पनि बताए ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रिन हाइड्रोजन उत्पादन एवम् यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए ।

उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रिन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताए ।

उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?