+
+

सेयर बजारमा ‘सेक्टर रोटेसन’, यो साता होटलमा देखियो आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १९:०३

२८ वैशाख, काठमाडौं । गत साता १९९८ अंकमा बन्द भएको सेयर बजार यो साता १९६६ अंकमा बन्द भयो । यो साता नेप्से परिसूचक ३२ अंक अर्थात् १.६ प्रतिशत घट्यो ।

गत साता नेप्से ३३ अंक बढेको थियो । बजारमा केही सातायता उतारचढाव कम देखिएको छ । यो साता पाँचै दिन बजार खुल्यो । साताको पहिलो दिन आइतबार २४.५८ अंक घटेको बजार सोमबार थप १५.६२ अंक घट्यो । मंगलबार जम्मा २ अंक बढ्दा बुधबार ०.२१ अंक घट्यो भने बिहीबार ५.६३ अंक बढ्यो ।

नेप्से परिसूचक सामान्य दरमा घटे पनि कारोबार रकम बढ्न सकेको छैन । आइतबार ३ अर्ब ७९ करोडको कारोबार भएको थियो । सोमबार २ अर्ब ८९ करोड, मंगलबार २ अर्ब १४ करोड, बुधबार २ अर्ब १४ करोड र बिहीबार ३ अर्ब १२ करोडको कारोबार भयो ।

बजारमा सूचीकृत कम्पनीहरुले वैशाख महिनामा धमाधम तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सार्वजनिक वित्तीय विवरणले पनि कम्पनीहरुको मूल्यमा उतारचढाव ल्याएको छ ।

बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक भइसकेको छ भने माइक्रोफाइनान्स, हाइड्रोपावर, बीमा, होटल, उत्पादनमूलक कम्पनी तथा अन्य समूहका कम्पनीहरुले वैशाख मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गर्नेछन् । तीमध्ये केहीले सार्वजनिक गरिसकेका छन् ।

बजारमा ‘सेक्टर रोटेसन’
बजारमा केही सातादेखि ‘सेक्टर रोटेसन’ देखिएको छ । केही दिन एउटा समूहको सूचक बढ्दा अरू दिन अर्को समूहका सूचक बढेको देखिन्छ । समग्रमा गत साता विकास बैंक, फाइनान्स र माइक्रोफाइनानस समूह उच्च दरले बढे ।

गत साता विकास बैंक ६.८, फाइनान्स समूह ६.५२ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ६.३७ प्रतिशत बढेका थिए । यो साता भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.४ प्रतिशत बढ्यो । यद्यपि माइक्रोफाइनान्स समूहको वृद्धिमा निरन्तरता देखिएको छ ।

यो साता होटल तथा पर्यटन समूहमा लगानीकर्ता आकर्षण हुनुको मुख्य कारण राम्रो वित्तीय विवरण आउने अनुमान हो । पर्यटकीय व्यवसायमा आएको वृद्धिले होटल क्षेत्रका कम्पनीको आम्दानी बढ्न जान्छ । बजारमा सूचीकृत यस समूहका ६ कम्पनी (सोल्टी, तारागाउँ, ओरियन्टल, चन्द्रागिरि, कालिन्चोक र सिटी) छन् । यीमध्ये २ कम्पनी तारागाउँ रिजेन्सी र सोल्टी होटलले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार दुबै होटलको नाफा उल्लेख्य बढेको छ । समूहका अरु कम्पनीको पनि राम्रो वित्तीय विवरण आउने अपेक्षाले यो साता होटल तथा पर्यटन समूह बजारमा उच्च दरले बढेको हो । यो साता धेरै मूल्य बढेका कम्पनीहरुमा भने अधिकांश  माइक्रोफाइनान्स समूहका कम्पनी रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?