+

राखेपद्वारा मिसन २०२६ मा ५ खेल थप

२०८१ जेठ  ७ गते १९:४८ २०८१ जेठ ७ गते १९:४८
राखेपद्वारा मिसन २०२६ मा ५ खेल थप

७ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा ५ खेल थप गरेको छ ।

मिसन २०२६ अन्तर्गत दोस्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।

मिसन २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले दोस्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।

थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ ।

कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान ५–५ तथा एथलेटिक्समा समान ४–४ पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो चरणमा कराँते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।

जापानमा हुने २०औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत ख्याल गरी राखेपले २०८० माघ १५ देखि मिसन २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुवात गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।

सदस्य सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।

अभिनेता राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य सचिव घिसिङले भने ‘आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरू खोजिरहेका छौं । तपाईंहरु (खेलाडी) मध्येबाट नै हामीले खेलकुदको नायक पाउने छौं भन्ने मलाई पूर्ण विश्वास छ ।’

उत्प्रेरणा कार्यक्रममा अभिनेता हमालले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गरेर खेल्नुपर्ने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न यसले सघाउने छ ।’

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी विविध पक्षबारे जानकारी गराएका थिए ।

प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद्

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय