+

मधुमेह : १० भ्रम र सत्य

२०८१ जेठ  १० गते १८:१८ २०८१ जेठ १० गते १८:१८
मधुमेह : १० भ्रम र सत्य

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वको कुल जनसंख्यामध्ये ४५ करोडमा मधुमेह छ । तीमध्ये थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन ।

यसरी थाहा नहुनुमा समाजमा फैलिएको कतिपय भ्रममा विश्वास गर्नु पनि हुनसक्छ । यस्ता भ्रमले मानिसलाई तथ्यमा विश्वास गर्न समेत गाह्रो बनाउँछ । र, सही जानकारी नपाउँदा मधुमेहबाट प्रभावितलाई यसको सामना गर्न सजिलो बनाउन सक्छ ।

यस्तै, मधुमेहसम्बन्धी केही भ्रम छन्, जुन पहिलेदेखि सुनिंदै आएको छ ।

भ्रम : मधुमेह भएपछि भात, आलु र चिनी खानुहुँदैन ।

मधुमेह भएपछि भात, आलु र चिनी जस्ता गुलियो खानेकुरा खान हुँदैन भन्ने भ्रम व्यापक छ । यस्ता भ्रमले मधुमेह लागेकाहरु डराएर उसिनेको चामल खाने, चिनी र आलु पटक्कै नखाने गरेको देखिन्छ ।

मुख बार्नुमा बल लगाउनुभन्दा सबैभन्दा पहिला मधुमेह लागेपछि के खाने ? के नखाने ? भन्दा पनि मधुमेहबारे बुझ्नुपर्छ । हामीले खाएको सबै खानेकुरा पेटमा पुगेर पाचनप्रणालीले पचाएपछि ग्लुकोज (चिनी) बन्ने हो ।

चिनी सबै अंगमा आमाशयमा उत्पादन हुने इन्सुलिनको मार्फत पुग्छन्, जुन सामान्य प्रक्रिया हो । यस्तोमा कुनै कारणवश इन्सुलिनको मात्रा कम भएमा यसले खाएका खानेकुरा सबै अंगमा पुर्‍याउन सक्दैन । र, शरीरमा सुगरको मात्रा बढ्छ । यस्तोमा खाएको चिनीयुक्त खानेकुरा र कार्बोहाइड्रेटले मधुमेह बढाउने होइन कि कति खाने भन्ने हेक्का हुनु जरुरी हुन्छ । एकैपटक टन्न पेटभर क्यालोरीयुक्त खानेकुरा खाँदा शरीरले इन्सुलिनले सबै अंगमा पुर्‍याउन नसकी खेर जान्छ ।

त्यसैले पटक-पटक गरी खानेकुराको मात्रा मिलाएर खान सके मधुमेह नियन्त्रणमा रहन्छ । के खाने भन्ने सवालमा भने स्वस्थ व्यक्तिले समेत खान नहुने मदिराजन्य तथा धुम्रपान, अत्याधिक चिल्लो र अत्याधिक प्रशोधित खानेकुरा बाहेक सबैखालका खानेकुरा ठिक्क मात्रामा खान सकिन्छ ।

भ्रम : परिवारमा मधुमेह कसैलाई भएको छैन भने मलाई पनि मधुमेह हुँदैन ।

यो पनि समाजमा व्यापक फैलिएको अपवाह नै हो । रगतको नातामा कसैलाई छैन भने पनि मधुमेह हुनसक्छ । र, रगतको नातमा मधुमेह छ भने त्यस परिवारका सदस्यलाई हुन्छ नै भन्ने पनि हुँदैन ।

किनभने मधुमेह विलासी जीवनको प्रतिफल हो । खानपानको शैली अस्तव्यस्त हुने, तौल अनियन्त्रित, शारीरिक गतिविधि कम, राति अबेरसम्म बस्ने र तनावका कारण शरीरमा मधुमेहको मात्रा बढ्ने हो । र, केही प्रतिशत जोखिम वंशाणुगत पनि हुनसक्ने हुँदा खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ ।

भ्रम : चिनी धेरै खाएर मधुमेह हुन्छ ।

गुलियो खानेकुरा अत्याधिक खाएर मधुमेह हुने होइन । बरु चिनी खाएर शरीरमा बोसोको मात्रा अनावश्यक बढ्छ । अनावश्यक रुपमा बोसो बढेर वजन बढ्दै गएमा त्यो व्यक्ति मधुमेहको जोखिमा पर्न सक्छ ।

त्यसैले चिनी वा चिनीबाट बनेको परिकार धेरै मात्रामा नखानु राम्रो हुन्छ ।

भ्रम : मधुमेह भएको व्यक्तिले शारीरिक व्यायाम गर्नु सुरक्षित हुँदैन ।

शारीरिक व्यायाम मधुमेह रोगको औषधि जस्तै हो । मधुमेह भएका व्यक्तिले दैनिक व्यायाम गरे तौल र मधुमेह नियन्त्रण हुन्छ । र, मधुमेह नभइसकेकालाई हुने सम्भावना कम हुन्छ ।

त्यसैले मधुमेह भएका व्यक्तिले आफ्नो शरीरको प्रकृति, क्षमता र उमेरअनुसार विभिन्न किसिमका व्यायाम गर्न सक्छन् । यदि युवा उमेर छ, मधुमेह नियन्त्रणमा छ भने अन्तर्रराष्ट्रिय खेलाडी मेसी जतिको लेभलमा फुटबल खेल्न सक्ने सामर्थ्य राख्छन् ।

सुगरको मात्रा अनियन्त्रित छ भने व्यायाम गर्नुअघि चिकित्सको सल्लाह लिनु उपयुक्त हुन्छ ।

भ्रम : मधुमेहको औषधि एकपटक खाएपछि आजीवन खानुपर्छ ।

मधुमेह होस् वा अन्य दीर्घरोग, त्यसको मात्रा अस्वाभाविकरुपमा बढेको छ भने त्यसलाई सन्तुलनमा ल्याउन औषधि खानैपर्छ ।

कतिपय मधुमेह भएपछि औषधि एकपटक खाएपछि आजीवन खानुपर्छ भन्ने डरले परीक्षण नगराई बसेको पनि देखिन्छ । र, जटिल अवस्थामा पुगेर बाध्य भई उच्च मात्रा भएको औषधि लिनुपर्नेसम्मको अवस्था आउनसक्छ ।

तर यी कुरामा पूर्ण सत्यता छैन ।

कुन औषधि चलाउनुपर्ने हो ? कति मात्राको दिनुपर्ने हो ? भन्नेकुरा औषधि कति समयसम्म खाने भन्ने तय मधुमेहको स्तर हेरेर गरिन्छ । कतिपय अवस्थामा औषधि बीचमै रोक्न सकिने अवस्था पनि हुनसक्छ ।

यदि समयमै पहिचान भयो, चिकित्सकको सल्लाहअनुसार खानपान, तौल र औषधि सेवन गरेमा औषधि छुटाउन मिल्नेसम्मको अवस्था हुनसक्छ । कतिपय अवस्थामा छुटाउन नमिले पनि औषधिको मात्रा घट्दै जाने सम्भावना रहन्छ ।

भ्रम : सुगर फ्री खानेकुरा जति पनि खान सकिन्छ ।

सुगर फ्री खानेकुरामा पनि कार्बोहाइड्रेट हुने हुँदा अत्याधिक खाँदा सुगर बढाउँछ । त्यसैले सुगर फ्री खानेकुरा स्वस्थकर हो भनेर ढुक्कले खान सकिंदैन ।

भ्रम : मधुमेह भएपछि चोटपटक निको हुन गाह्रो हुन्छ ।

मधुमेह भएका अरुमा स्वस्थ व्यक्तिसरह नै चोटपटक लागेको छ भने औषधिउपचारपछि ठीक हुन्छ । तर मधुमेह अत्याधिक उच्च छ भने घाउहरु निको नहुने हुनसक्छ । यदि वर्षौंसम्म मधुमेह उच्च छ तर अतियन्त्रित छ भने घाउ निको नहुने मात्र होइन । रक्तसञ्चार विस्तारै बन्द भई विना चोटपटक पाकेर हात खुट्टै कुहिएर जानसमेत सक्छ ।

भ्रम : मधुमेह भएपछि सन्तान जन्मिन सक्दैन ।

मधुमेह भएपछि सन्तान जन्मिंदैन भन्ने कुरामा कुन सत्यता छैन । मधुमेह भएकी महिलाले आफ्नो सुगरको स्तर नियन्त्रण गरेर गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सक्छिन् । तर सुगरको मात्रा उच्च छ भने सन्तानमा जटिलता देखिने हुँदा नजन्माउनु उपयुक्त हुन्छ ।

त्यस्तै, पुरुषको हकमा पनि सोही कुरा लागू हुन्छ । सुगर नियन्त्रण छ भने सन्तान हुनसक्छ । तर अनियन्त्रित भए बच्चामा जटिलता देखिने सम्भावना उच्च हुन्छ ।

यस्तोमा मधुमेह छ भने सन्तान योजनाअघि परीक्षण मधुमेहलाई नियन्त्रित पारेर गर्भधारण गर्न सकिन्छ ।

भ्रम : आयुर्वेदिक औषधिले मधुमेह निको पार्छ ।

सत्य : धेरैजसो मधुमेह भएका व्यक्तिले खाइरहेको औषधि खान छोडेर आयुर्वेदिक औषधि खाएको भेटिन्छ । तर कतिपय आयुर्वेदिक भनिएका औषधिमा ठूलो जनसंख्यामा प्रयोग भएपनि अध्ययन अनुसन्धान भएका छैनन् । कति खाने र खाएपछिको नतिजा दिने प्रमाण पनि छैन भने नखानु उचित हुन्छ ।

त्यसैले विश्वमान्यताप्राप्त औषधि मधुमेहको स्तर अनुसारको मात्रा उल्लेख भएको र प्रमाणित औषधि चिकित्सकको सल्लाहमा खानुपर्छ ।

भ्रम : इन्सुलिन लगाएपछि आजीवन लगाउनुपर्छ ।

इन्सुलिन लगाएपछि आजीवन लगाउनुपर्छ । र, यो नै मधुमेहको अन्तिम अवस्था भन्ने डरले चिकित्सकको सम्पर्कमा नआउने पनि थुप्रै केस भेटिन्छन् ।

तर सत्य के हो भने इन्सुलिन अमृतसरह हो । यसको कुनै साइड-इफेक्ट हुँदैन । इन्सुलिन नभई मधुमेह भएकालाई बचाउनै सकिंदैन । इन्सुलिन जति कम हुन्छ त्यति मधुमेहको स्तर बढ्छ ।

सुगरको मात्रा बढेको दुई-तीन महिनामै सुरु गरेर रोक्न मिल्छ । र, औषधि नै रोक्न मिल्ने अवस्था पनि आउन सक्छ । यो जुनसुकै मधुमेहको चरणमा लगाउन सकिन्छ । सुगरको दुईवटा टयाब्लेट खाएर सुगर घटेको छैन भने इन्सुलिन केही महिना लिएर मात्रा घटाउन सकिन्छ । तर मधुमेह भएको वर्षौं भइसक्यो । तर पनि नियन्त्रणमा छैन भने लामो समयसम्म इन्सुलिन लगाउनुपर्ने हुनसक्छ ।

डा. रुपक भारी मधुमेह स्वास्थ्य
डा. रुपक भारी
लेखक
डा. रुपक भारी
हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ

डा. भारी ललितपुरको कुपण्डोलको आरुष लाइफ स्टाइल अस्पतालका सञ्चालक समेत हुन् । उनको नेपाल मेडिकल दर्ता नम्बर ५१८१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय