+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अण्डाको भाउ बढ्दा पनि किसानले पाएनन् उत्पादन लागत

सुवास पण्डित सुवास पण्डित
२०८१ जेठ ११ गते ९:४४

११ जेठ, चितवन । एक साताअगाडि अण्डाको मूल्य १४ रुपैयाँ प्रतिगोटाबाट बढेर १५ रुपैयाँ ३३ पैसा पुग्यो । तर, अझै पनि अण्डा उत्पादक व्यवसायीहरुले लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

अण्डा उत्पादनमा निरन्तरको घाटा खानुपरेको र व्यावसायबाट नै पलायन हुनुपर्ने खतरा देखिएको भन्दै व्यावसायीहरुले समर्थन मूल्य तोकिदिन सरकारसँग माग गर्दै आएका छन् । व्यावसायीहरुको भनाइ अनुसार कुखुराको एउटा अण्डा उत्पादन गर्न औसतमा१६ रुपैयाँ ५६  पैसा खर्च भइरहेको छ । तर हाल औसतमा १ रुपैयाँ २३ पैसा घाटा खानुपरिरहेको कुखुरा व्यवसायीहरु बताउँछन् ।

नेपाल कुखुरा व्यावसायी मञ्चले अण्डा उत्पादन लागत निकाल्न पोल्ट्री क्षेत्रका विज्ञहरु सहितको टिम गठन गरेको थियो । विज्ञ समितिले दिएको प्रतिवेदनमा अण्डाको प्रतिगोटा उत्पादन लागत १६.५६ पैसा लाग्ने रिपोर्ट तयार गरेको छ ।

पोल्ट्री विज्ञ एवं नेपाल उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा गठन गरिएको विज्ञ टोलीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. सुबीर सिंह, सहप्राध्यापक डा. रेवन्तकुमार भट्टराई, डा. अनन्त दाहाल र डा.विष्णु पोखरेल सदस्य थिए ।

सो समितिले अण्डाको लागत अनुसारको मूल्य पाउन वा अण्डाको लागत घटाउन सरकारी निकायले पहल गर्नुपर्ने सुझाव दिएको छ । अण्डाको मूल्य बढ्दासमेत उत्पादन घट्नु र उत्पादन लागत नपाउनुमा समग्र प्रणालीमै समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

विज्ञ समितिको प्रतिवेदनको आधारमा व्यावसायीहरु अण्डाको मूल्य थप बढाउन वा उत्पादन लागत घटाउने उपायको खोजीमा छन् ।

पोल्ट्री व्यवसायी राजेन्द्र लामिछाने निरन्तरको घाटा व्यहोर्न नसकेपछि धेरै पोल्ट्री व्यवसायी पलायन भइसकेको बताउँछन् । पोल्ट्री व्यावसायी मञ्च चितवनका पूर्व अध्यक्षसमेत रहेका लामिछाने भन्छन्, ‘अहिले उत्पादन ठ्याक्कै आधाले घटेको छ, व्यावसायिक फर्म घटेर ७०० बाट १४० मा झरेका छन्, बचेका १४० मध्ये ४० वटा ठूला फर्म हुन् । यस्तै अवस्था रहीरहे अण्डा खान पनि भारतको भर पर्नुपर्ने अवस्था आउनसक्छ ।’

पोल्ट्री क्षेत्रमा हालसम्म नेपाल आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानीको रुपमा परिचित छ । तर चितवनको पोल्ट्रीको राजधानीको परिचय संकटमा पर्दै गएको छ ।

यतिबेला अण्डाको भाउ बढे पनि गर्मीका कारण उत्पादन घट्दो छ । गर्मीका कारण जिल्लामा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशतले कमी आएको व्यावसायीहरु दावी गर्छन् । गर्मीको समयमा एकातिर उत्पादन लागत बढ्ने र अर्कोतिर अण्डा उत्पादन घट्ने समस्याबाट व्यावसायीहरु पीडित छन् । गर्मीले गर्दा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम पनि उच्च हुन्छ । एच–नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल चर्को गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउँछन् । नेपालबाट दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधाले घटेको पोखरेलले बताए ।

दाना बनाउने कच्चा सामग्री ९५ प्रतिशत भारतसहितका तेस्रो देशबाट आयात गर्नुपर्ने अवस्था छ । व्यवसायीहरूका अनुसार दाना बनाउन प्रयोग हुने मकै ५० प्रतिशतमध्ये ७०/८० प्रतिशत भारतबाट ल्याउनुपर्छ । त्यसमा सरकारले १ प्रतिशतबाट कर बढाएर ५ प्रतिशत पुर्‍याएको छ ।

यस्तै, दानाका लागि प्रयोग हुने २५ प्रतिशत भटमास शतप्रतिशत नै आयात गर्नुपर्दछ । त्यसको भन्सार दर बढाएर १ प्रतिशतबाट ९ प्रतिशत पुर्‍याउँदा लागत बढेको व्यवसायीहरुको गुनासो छ । तोरी, डीसीपी, बोन मिल जस्ता सामग्रीहरु पनि विदेशबाटै आयात गर्नुपर्छ ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेको भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य अहिले पनि कम रहेको बताउँछन् । उनले सरकारले न्यूनतम लागत मूल्य तोकेर व्यावसायीहरुलाई बचाउनुपर्ने माग गरे ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?