+
+

किम्फमा महिला फिल्ममेकरको उल्लेखनीय सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १७:३६

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करणमा महिला फिल्ममेकरको उत्साहजनक सहभागिता हुने भएको छ । फेस्टिभलमा स्क्रिनिङ हुने ६० फिल्ममध्ये ४० फिल्मको निर्माण महिलाले गरेका हुन् ।

किम्फले शुक्रबार पत्रकार सम्मेलन गर्दै आसन्न संस्करणबारे जानकारी दिएको हो । यस वर्ष २२ देशका ६० भन्दा बढी फिल्म स्क्रिनिङ हुनेछन् । १५ विदेशी फिल्ममेकर नेपाल आउँदैछन् ।

फेस्टिभलबारे जानकारी दिंदै आयोजक किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले यसपटक महिला मेकरको दबदबा हुने बताइन् । ‘६० मा ४० फिल्मको निर्माता महिला नै छन् । यो उत्साहजनक सहभागिता यसपटक देखिंदैछ,’ उनले भनिन् ।

फेस्टिभलमा बढीभन्दा बढी दर्शकको सहभागिता गराउन कार्यक्रम आयोजना र सञ्चारको पक्षमा काम हुने उनले बताइन् । ‘नेपालमा मात्र होइन, पछिल्लो समय विश्वभर नै फेस्टिभलमा दर्शकीय सहभागितामा कमी आएको छ,’ उनले भनिन्, ‘दर्शकको सहभागिता बढाउन प्रोग्रामिङ र कम्युनिकेसनमा काम हुनेछ ।’

आयोजक किम्फ फाउण्डेसनका सदस्य शेखर खरेलले सगरमाथा दिवसको अवसरमा महोत्सव आयोजना गरिएको बताए । यसअघि डिसेम्बरमा फेस्टिभलमा आयोजना गरिएपनि यसपटकदेखि गर्मीयाममा फेस्टिभल आयोजना हुन लागेको बताए ।

‘दिन लामो हुने भएकाले बेलुका ५ नबज्दै दर्शकलाई घरमा जान यसपटक हतार हुनेछैन । यसपटकदेखि हामीले यो अभ्यास थाल्दैछौं,’ उनले भने ।

पत्रकार सम्मेलनमा फिल्ममेकर र सञ्चारकर्मीबीच अन्तरक्रिया गरिएको थियो । यसपटक जेठ १६ देखि २० जेठसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फेस्टिभल आयोजना हुँदैछ । यस वर्षको किम्फको नारा ‘इकोज अफ चेन्ज’ राखिएको छ । महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरदेखि सुरु हुनेछ ।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतियोगितामा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् । नेपाल पानोरामा शीर्षकअन्तर्गत नेपालको कथा उजागर गर्ने कथा प्रस्तुत हुने जनाइएको छ ।

किम्फ २०२४ को एउटा मुख्य आकर्षणको रुपमा ‘बाइ दोज हु व्हेयर देअर १९२१, १९२२, १९२२, १९२४’ शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ फोटो तथा कथानकको प्रदर्शनी हुनेछ ।

नेपाल–कोरिया मित्रताको ५० औं वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्किने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन हुनेछ ।

निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र,  सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनोट गर्नेछ ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले एक-एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ शीर्षकको छलफल र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफल आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?