+
+

मापसे गरे ट्राफिक स्वयम्‌सेवक बन्नुपर्ने !

तयारीविनै घोषणा गरिएको भन्दै असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते २०:४९

१५ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार गणतन्त्र दिवसको शुभकामना दिँदै फेसबुकबाट महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा काम गर्नु नपर्ने घोषणा गरे । उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयम्‌सेवकका रूपमा सडकमा खटाउने योजना रहेको उनले जानकारी दिएका छन् ।

उपत्यकामा १८०० ट्राफिक प्रहरी सडक व्यवस्थापनमा खटिन्छन् । जमध्ये कम्तिमा ३०० महिला प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । सडकमा खटिने महिला ट्राफिक प्रहरीको स्वास्थ्यसँग जोडिएको विषयमा गृहमन्त्रीबाट आएको यो भनाइले महिला प्रहरी उत्साहित छन् ।

तर मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने कारबाही लगायतमा पर्नेले सडकमा स्वयम्‌सेवकको रूपमा काममा लगाउने विषयको कार्यान्वयनमा चाहिँ थुप्रै जटिलताहरू रहेको ट्राफिक प्रहरीका अधिकृतहरू नै बताउँछन् ।

हाल ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी चालकलाई कारबाही तथा जरिवाना गराउँदै आएको छ । ऐनमा कारबाहीमा परेकालाई अनिवार्य कक्षा लिने व्यवस्था पनि छैन ।

तर सचेतनामूलक कार्यक्रम गर्नसक्ने प्रावधान अनुसार प्रहरीले मादक पदार्थ सेवन, लेन अनुशासन, ट्राफिक लाइट उल्लंघन र तीव्र गतिमा कारबाहीमा पर्नेलाई कक्षा दिँदै आएको छ । ‘जरिवाना पनि लिने, अनि स्वयम्‌सेवकका रूपमा पनि काम गर्नुपर्ने भनेर दोहोरो सजाय गर्न मिल्छ भन्ने प्रश्न उठ्नसक्छ’, ट्राफिक प्रहरीका एक अधिकृतले भने, ‘कानूनी प्रावधान र तयारीविनै कार्यान्वयन जाँदा अरू थुप्रै जटिलता पनि देखिन सक्छन् ।’

ट्राफिक प्रहरी कार्यालयका पूर्वप्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माका ट्राफिक व्यवस्थापनमा स्वयम्‌सेवक खटाउने अन्तर्राष्ट्रिय अभ्यास भए पनि ऐन, नियमावली वा कार्यविधिमा राखेर मात्र अभ्यासमा जानुपर्ने बताउँछन् । ‘फेरि गल्ती नगरुन् भन्ने उद्देश्यले यसरी स्वयम्‌सेवक परिचालन गर्ने हो’ शर्मा भन्छन्, ‘तर, यसरी परिचालन गर्नुअघि कानूनअनुसार व्यवस्थित गरेर मात्र लानुपर्छ ।’

ट्राफिक प्रहरीको तथ्यांक अनुसार अहिले दैनिकम कम्तिमा ३ हजार जना ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । सचेतना कक्षा लिने दैनिक ६ सय जना हुने ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन् ।

‘यस्तोमा कतिलाई स्वयम्‌सेवकको रूपमा खटाउने, कसरी खटाउने भन्ने पनि कठिन कुरा हो’, एक अधिकृत भन्छन्, ‘कारबाहीमा परेकालाई अनिवार्य गर्न सकिने अवस्था पनि कुन आधारमा बनाउने ?’

जरिवानामा परेकालाई स्वयम्‌सेवकका रूपमा खटाउने अवधारणा लोकप्रिय सुनिए पनि पूर्वअध्ययन र व्यवहारिकतासँग नजोडी एक्सनमा जाँदा राम्रो नतिजा नदिने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

‘मादक पदार्थ सेवन गरेकालाई एकातिर जरिवाना गराउनुहुन्छ, कक्षा लिनु हुन्छ । अर्कातिर फेरि स्वयम्‌सेवक खटाउने !’, उनी भन्छन्, ‘हाम्रो कानूनी व्यवस्थाहरू सुधारमा जोड दिनुपर्ने किसिमको हुनुपर्नेमा दण्डात्मक बढी हुँदैछ । दण्डभन्दा अरू सोच्नै सकिएको छैन ।’

कुनै नीतिले रोक्नेभन्दा कारबाहीमा मात्र ध्यान भएको भन्दै उनी भन्छन्, ‘पर्याप्त तयारीविना कार्यान्वयन जटिल बन्छ ।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठ भने भोलि (बुधबार) बाटै गृहमन्त्रीको निर्देशन कार्यान्वयनमा जाने बताउँछन् । ‘अहिले मापसे लगायत चार वटा कसुरमा जसरी कक्षा लिइरहेका छौं, उनीहरूलाई नै स्वयम्‌सेवकका रूपमा खटाउने हो’, उनले भने, ‘कति समयसम्म गराउने र कुन क्षेत्रमा खटाउने भन्ने चाहिँ आवश्यकताका आधारमा टुंग्याउँछौं ।’

सवारी चापको अनुपातमा ट्राफिक प्रहरीको जनशक्ति कम भएकाले स्वयम्‌सेवीलाई सडकमा खटाइँदै आएको थियो । उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलका अनुसार, हालै स्वयम्‌सेवक परिचालन कार्यविधि संशोधनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो । ‘विद्यार्थी, विभिन्न गैरसरकारी संस्था लगायतकाले न्यूनतम ४० घण्टासम्म काम गर्दा उनीहरूलाई अनुभवको प्रमाण पत्र दिने व्यवस्था छ’, डीआईजी पोखरेलले भने, ‘यसले कतिपय विद्यार्थीलाई उहाँहरूको करियरमा पनि सहज हुन्थ्यो ।’

तर १५ दिनसम्म हुने यो अभियानमा कम रुचि देखिएकाले ३० घण्टामा घटाउने प्रस्ताव ट्राफिक प्रहरीबाट आएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्की बताउँछन् ।

‘ड्युटी आवर घटाउन कार्यविधि संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेका छौं, स्वीकृत भएर आइसकेको छैन’, उनले भने, ‘यसमा इच्छुक व्यक्ति वा संघसंस्थाका पदाधिकारीले तोकिएको अनुसूची अनुसार फारम भरेर तोकिएको जिम्मेवारी अनुसार काम पूरा गर्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने व्यवस्था छ ।’

तर कार्यविधिको संशोधन प्रस्तावमा कारबाहीमा परेकालाई स्वयम्‌सेवीका रूपमा खटाउने व्यवस्थाबारे उल्लेख छैन ।

गृहमन्त्री लामिछानेको घोषणापछि ट्राफिक प्रहरीले गृहकार्य थालेको छ । ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठ बिरामी वा अन्य समस्या भएकालाई स्वयम्‌सेवकका रूपमा नखटाइने बताउँछन् । भन्छन्, ‘सडकमा खटिएका ट्राफिक प्रहरीको मातहतमा रहेर काम गर्ने हो, अवस्था अनुसार सडकमा खटाउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?