
काठमाडौं । गायिका अञ्जु पन्तकी छोरी पारितोषिका चाँडै फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । यसका लागि उनी मण्डला थिएटरमा ३ महिनाको अभिनय कोर्स सिकिरहेकी छन् । अभिनेता बुद्धि तामाङ लगायतले उनलाई अभिनय कला सिकाइरहेका छन् ।
यसैसाता आयोजित एक फिल्म अवार्ड समारोहमा पारितोषिका आकर्षणको केन्द्र बनिन् । उनीमाथि फिल्म डेब्युबारेका प्रश्न वर्षिए । आफूलाई फिल्मको अफर आइरहेको बताउँदै उनले कुन फिल्मबाट डेब्यु गर्ने निधो चाहिँ नभैसकेको बताइन् ।
तर, चाँडै कुनै एक फिल्मबाट डेब्यु गर्ने उनको तयारी छ । उनी चल्तीका अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्न चाहन्छिन् । ‘मलाई पछिल्लो पुस्ताका सबै कलाकार मनपर्नुहुन्छ । तर, प्रदीप खड्का एकदमै मनपर्छ । उहाँसँगै फिल्म डेब्यु गर्न पाए सुनमा सुगन्ध’ उनी सुनिइन् ।
प्रदीपको पछिल्लो फिल्म ‘पुजार सार्की’को अभिनयले आफू निकै प्रभावित भएको उनको भनाई छ । ‘म हरेक नेपाली फिल्म हेर्छु । एकदमै रमाइलो लाग्छ’ पारितोषिका भन्छिन्, ‘मैले ती फिल्मबाट केही न केही सिक्न पाइरहेको छु ।’ क्राइम थ्रीलर आफ्नो मनपर्ने जनरा रहेको उनको भनाई छ ।
आफूलाई गायन मनपर्ने उनको भनाई छ । ‘म घरमा गीत गुनगुनाउँछु तर, बाहिर गाउने आँट गर्न सक्दिन’ उनले भनिन् । पारितोषिका पछिल्लो समय केही म्युजिक भिडियोमा अभिनय समेत गरिरहेकी छन् ।
गतसाता आयोजित पत्रकार सम्मेलनमा गायिका पन्तले आफ्नी छोरीले चाँडै फिल्म डेब्यु गर्न लागेको खुलासा गरेकी थिइन् ।
तस्वीर सौजन्य : गोपिकृष्ण चापागाईं
प्रतिक्रिया 4