+

नेपालसामू ठूला टोलीलाई स्तब्ध पार्ने अवसर

२०८१ जेठ  २९ गते २०:२३ २०८१ जेठ २९ गते २०:२३

टी–२० क्रिकेटमा कोही पनि ठूलो र सानो हुँदैन । त्यो खेलको दिनको प्रदर्शनमा भर पर्छ । त्यसैले टेष्ट टोलीको एसोसिएटमाथि हाबीपन घटेको छ । पछिल्ला तीन संस्करणको टी–२० क्रिकेटमा विश्वमा आएको परिवर्तनको एउटा राम्रो उदाहरण हुन् ।

नेपालसामू ठूला टोलीलाई स्तब्ध पार्ने अवसर

२९ जेठ, फ्लोरिडा । अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ मा यसअघि साना भनिएका टोलीहरुको प्रदर्शन उत्कृष्ट छ । पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य पूरा गर्न वेष्टइण्डिजले १९ ओभर खेल्दै ५ विकेट गुमाउनुपरेको थियो ।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै इतिहासकै एक ठूलो उथलपुथल गर्‍यो । १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले विश्वको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण भएको पाकिस्तानविरुद्ध ३ विकेट गुमाउँदै बराबर गरेको थियो । उता क्यानडाले आयरल्यान्डलाई १२ रनले स्तब्ध पार्‍यो । अफगानिस्तानले न्युजिल्याण्डलाई ७५ रनमा अलआउट गर्दै ८४ रनको जित निकालेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । दक्षिण अफ्रिकाले १२–३ को अवस्थामा जित हात पारेको थियो ।

नेपाल आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुन पुग्यो । समूह डी मा नेपालले अब दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग खेल्न बाँकी छ । बुधबार बिहान नेपालले श्रीलंकासँग खेल्दैछ । शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशसँग खेल्नेछ ।

विश्वकपअघि नेपालको लक्ष्य सुपर–८ थियो । सुपर– ८ मा पुगोस् वा नपुगोस् तर नेपाल कम्तीमा एक टेष्ट टोलीलाई हराउन चाहन्छ । कप्तान रोहित पौडेल श्रीलंका र दक्षिण अफ्रिकाको प्रदर्शन हेर्दा आफूहरु खेल जित्नेमा आशावादी रहेको बताउँछन् ।

‘श्रीलंकाले यो प्रतियोगिता सोचे जस्तो खेलेको छैन । ब्याटिङ राम्रो चलेको छैन । हामीले त्यो दबाबको फाइदा उठाउँदै राम्रो बलिङ गर्दै लक्ष्य पछ्याउन पाए पहिलो पटक टेष्ट टोलीलाई हराउन सक्छौं’, खेलअघि रोहितले भने ।

दक्षिण अफ्रिकासँग श्रीलंकाले पहिला ब्याटिङ गर्दै ७७ रनमा अल आउट भएको थियो । बंगलादेशसँग ९ विकेट गुमाउँदै १२४ रन जोडेको थियो । श्रीलंका ओपनर कुशल मेन्डिस र पाथुम निसांकाको प्रदर्शनमा बढी निर्भर हुन्छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग १०६ रनमा अल आउट भएको थियो । नेपालले राम्रो प्रदर्शन गर्न ओपनर कुशल भुर्तेल र आसिफ शेख चल्नुपर्ने हुन्छ ।

नेपालले हारेमा कुनै आश्चर्य हुने छैन । तर श्रीलंकाले हारेमा सुपर–८ बाट मात्रै बाहिरिने छैन । उसको इज्जतमा पनि ठूलो धक्का लाग्नेछ । रोहित नेपाललाई भन्दा बढी दबाब श्रीलंकालाई हुने बताउँछन् ।

नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । खेलेको ११६ बल मध्य ६५ डट बल मात्रै थियो । डट बल कम नगरी नेपालले ठूलो स्कोर बनाउन सक्दैन । अमेरिकाको पिचको अवस्था नबुझेका कारण डट बल बढी भएको कप्तान रोहित बताउँछन् ।

 

‘अमेरिकाको कन्डिसनमा धेरै डट बल बनेको छ । पाकिस्तानविरुद्ध भारतले पनि ११९ रन मात्रै बनाउन सकेको थियो । जसले १४० रनमाथि बनाउन सक्छ त्यो विजयी इनिङ हुनसक्छ । सुरुवात पाएको ब्याटरले सदुपयोग गर्न एकदमै आवश्यक छ । पहिलो खेल सोचे जस्तो भएन । तर टिममा हामी अर्को खेल जित्छौं भनेर विश्वास गरेका छौं’, उनले भने ।

नेपाल तीन ओपनर अनिल साह, कुशल भुर्तेल र आसिफ शेखका साथ मैदान उत्रदै आएको छ । अनिल साहलाई खेलाउन मध्यक्रमका ब्याटर सन्दीप जोरालाई बेञ्चमा राखेको छ । तर अनिलले तेस्रो नम्बरमा खेल्दै आएका छन् । कुशल र आसिफ पछिल्लो ६ महिनादेखि लयमा छैनन् ।

लगातार खराब प्रदर्शन गर्दै आएका छन् । तर पनि टोलीले लगातार विश्वास देखाउँदै आएको छ । पहिलो खेलमा कुशल ७, आसिफ ४ र अनिल ११ रनमा आउट भएका थिए । सुरुवातमै विकेट जादा मध्यक्रम र तल्लोक्रमका ब्याटर खुलेर खेल्न सकेका छैनन् ।

टेष्ट टोलीलाई हराउने सोच राखेको नेपाललाई खराब लयमा भएका ओपनर खेलाउनु ठूलो जोखिमपूर्ण छ । ‘मलाई लाग्छ विश्वास गर्न एकदमै जरुरी छ । एउटा टिममा एक अर्कामाथि विश्वास गरेनौं भने नतिजा आउँदैन । यो समयमा धैर्यता हुन एकदमै जरुरी छ । सोचे जस्तो नतिजा नआएपनि परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्दैन’, रोहितले ओपनरबारे भने ।

२०२२ को टी–२० विश्वकपमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध भएको थियो । यस विश्वकपमा १०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १२–४ को अवस्थाबाट १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । बंगलादेशलाई विश्वकपअघि तीन खेलको टी–२० सिरिजमा अमेरिकाले २–१ ले हराएको थियो ।

२०२१ को टी–२० विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो । २०२२ को टी–२० विश्वकपमा श्रीलंकालाई ५५ रनले हराएको थियो ।

२००९ मा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ४ विकेटले हराएको थियो । २०१४ मा हङकङले बंगलादेशलाई २ विकेटले हराएको थियो । २०१४ मा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ४५ रनले हराएको थियो ।

२०२१ मा आयरल्यान्ड नामिबियासँग ८ विकेटले पराजित भएको थियो । युगान्डाले जिम्बावेलाई हराउँदै पहिलो पटक विश्वकपमा खेलेको छ । यी केही उदारण मात्रै हुन् ।

स्कटल्यान्ड, नामिबिया र नेदरल्यान्ड्स नेपालसँगैका एसोसिएट टोली हुन् । तर नेपालसँग टेष्ट टोलीलाई हराएको अनुभव छैन । नेपालले अहिलेसम्म एसोसिएटले टेष्ट टोलीलाई हराएको मात्रै देखेको छ । अहिले नेपाललाई त्यो अवसर आएको छ ।

एकै ओभरमा ६ छक्का हान्नेदेखि ९ बलमा अर्धशतक प्रहार गर्ने दीपेन्द्रसिंह ऐरीले विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । त्यस्तै कुशल मल्ल र गुलशन झा आफ्नो क्षमता अनुसार आक्रामक अलराउन्ड प्रदर्शन गर्दै विश्वको ध्यान तान्नुपर्छ ।

कुशल भुर्तेल र आसिफ शेखले टोलीको विश्वासलाई न्याय गर्नुपर्छ । करण, सोमपाल र अभिनाशले बलिङ युनिटमा उच्च प्रदर्शन गर्नुपर्छ । एउटा खेलाडीको उत्कृष्ट प्रदर्शनमा पनि नतिजा धेरै फरक पार्छ ।

खेलाडीलाई आफ्नो क्षमता विश्वलाई देखाउने यो भन्दा राम्रो अवसर आउने छैन ।

अमेरिका आईसीसी टी-२० विश्वकप नेपाल श्रीलंका
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय