+
+
वार्ता:झलनाथ खनाल :

‘माधवजीले लामो समयपछि विचार बदल्नुभएको हो भने खुशीको कुरा हो’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते ९:२२

पूर्वप्रधानमन्त्री झलनाथ खनाल तत्कालीन नेकपा मालेको महासचिव चुनिंदा ३३ वर्षका थिए । ७५ वर्षको उमेरमा उनी फेरि आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको शीर्ष पदमा लड्दैछन् । दुई सातापछि हुने दशौं महाधिवेशनमा नेकपा (एस) का सम्मानित नेता रहेका खनाल सहित हालका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल पनि नेतृत्वको आकांक्षी छन् । अनलाइनखबरका लागि बसन्त बस्नेतसँगको यो अन्तर्वार्तामा आइतबार खनालले आफू पुनः नेतृत्वमा आउन चाहनुको औचित्यबारे तर्क गरे । साथै पार्टी जीवन, राष्ट्रिय राजनीतिबारे पनि चर्चा गरे :

तपाईं युवाकालमै पार्टी प्रमुख भइसकेको नेता । यस्तो बुढेसकालमा गर्मी खाँदै घरी मधेश, घरी सुदूरपश्चिमतिर कुदेर महाधिवेशनको तयारी गर्न गाह्रो भएको छैन ?

हाम्रो देश नै रमाइलो छ । कतै पहाड, कतै मधेश मिलेर बनेको छ । सबैैलाई रमाउने देश बनाउनुपर्नेछ । नेकपा मालेको महासचिव बन्दा २०३९ सालमा म ३३ वर्षको थिएँ । पार्टी नै हट्टाकट्टा युवाहरूको थियो । मभन्दा कान्छाहरू पनि थिए । अहिले पनि सक्रिय छु ।

हाम्रो बुवा पुस्ताले तपाईंलाई नेता मान्यो, हाम्रो पुस्ताले पनि मान्यो । अब आउने पुस्ताले पनि तपाईंलाई नै किन नेता मान्ने ?

उमेरले नेतृत्व हुने होइन । मान्छेहरू पुस्तान्तरको कुरा गर्छन् । नेपालमा युवाहरूको ५३ प्रतिशत जनसंख्या छ, तर आन्दोलनहरूबाट युवा पुस्ता क्षमता आर्जन गरेर नेतृत्वमा उदाउन सकेन । त्यसैले सबैजसो पार्टीमा अहिले पनि प्रौढ पुस्ता नै नेतृत्वमा छ । युवा पुस्ता अगाडि आउने वातावरण बनाउनुपर्छ ।

नौजवानको सामर्थ्य पुगेन होला, तर तपाईंहरूले पनि समर्थ बनाउन जोड लगाउनुभएन नि ?

मैले पार्टीको नवौं महाधिवेशनमा ७० वर्षलाई उमेर सीमा राखौं भनेको थिएँ । तर त्यो उमेरको नियम बनाउँदा पनि नयाँ पुस्ता आएन । उही बुढा पुरानाले गर्नु परेको छ । युवा तिनकै पछि लागे ।

एमाले र तपाईं एकीकृत समाजवादीहरूले उमेर सीमा फेरि हटाइहाल्नुभयो, कहाँबाट आउन् त युवा ?

हटाउन बाध्य बनाइयो । एमालेको दशौं महाधिवेशनमा पनि बुढा नै आए । त्यतिखेर युवाले कब्जा गरेको भए हुँदैनथ्यो ? सकेनन् नि त ! फेरि बुढाकै पछि लागे युवाहरू । अस्ति हाम्रो केन्द्रीय परिषद् बैठकले ७० वर्ष उमेरहद हटायो । त्यो पनि मैले हटाएको होइन नि ! युवाले हो हटाएको ।

तपाईं त बेलाबखत फरक मत राख्ने नेता । यसमा फरक मत राखेको सुनिएन नि ?

त्यसको के अर्थ थियो र ? राजनीतिक, सैद्धान्तिक कुरामा फरक मत राख्नुपर्छ । उमेर राजनीतिक कुरा होइन । जन्मदेखि मृत्युसम्मको खास अवधि हो उमेर । व्यक्तिले भिजन दिन्छ, क्षमता राख्छ भने उसले हो नेतृत्व गर्ने ।

उसो भए अब दुई सातापछिको महाधिवेशनमा २००६ सालमा जन्मेका झलनाथ र २००९ सालमा जन्मेका माधवबीच नै प्रतिस्पर्धा देख्नुपर्ने हो ?

यो दुई सातामा हेरुँ न प्रतिस्पर्धा हुन्छ कि सर्वसम्मति । कहिलेकाहीं उथलपुथल पो हुन्छ त !

अस्ति माधव नेपालसँग कुरा गर्दा पार्टीभित्र सबैले मलाई खोजिरहेका छन् भन्दै हुनुहुन्थ्यो । यस्तो अवस्थामा तपाईंको खोजी होला त ?

त्यो उहाँको बुझाइ हो । कहिलेकाहीं मान्छेलाई आफ्नो पार्टी मात्रै होइन, सारा देश र संसारले मलाई खोजिरहेको छ भन्ने भ्रम हुन सक्छ । वास्तविकता र व्यवहारले के हुन्छ भन्ने देखाउँछ । आत्मगत होइन, वस्तुगत परीक्षण गर्दै अघि बढ्नुपर्छ ।

पाँच दशकपछि पनि फेरि झलनाथ माधवकै खोजी हुनु सौभाग्य कि विडम्बना ?

जसले जे माने पनि भयो । हाम्रो पार्टीको आवश्यकता चाहिं जुन विचार, नीति अगाडि सार्छौं, जहिले पनि कम्युनिस्ट पार्टीले नीतिकै आधारमा नेतृत्व निर्माण गर्छ । नीतिका आधारमा नेतृत्वको कुरा गर्नुपर्दा झलनाथ खनालको नाम आयो भने अचम्म मान्नुपर्दैन ।

पार्टीभित्र त नीतिमा एकरूपता आइसक्यो होइन र ?

एकरूप बनाउने प्रक्रिया छ, कति एकरूपता आयो भन्ने कुरा अभ्यासमा जाँदा थाहा हुन्छ ।

माधवले नै जनताको बहुदलीय जनवाद (जबज) पुरानो कोट हो, समाजवादी क्रान्तिको कार्यक्रम नयाँ कोट भनेपछि अब के फरक रह्यो र ?

माधवजीले धेरै लामो समयपछि विचार बदल्नुभएको हो भने खुशीको कुरा हो । उसोभए जसले जुन बेलादेखि यो मान्यता र विचारको नेतृत्व गर्दै आए, उनीहरूकै अडानका कारण यो सम्भव भयो होला नि ! इतिहासको यस भूमिकाको ठिक मूल्यांकन हुनुपर्छ ।

महासचिव घनश्याम भुसालले पनि यही नीतिका आधारमा नेतृत्वको आकांक्षा राख्नुभएको छ नि ?

आकांक्षा राख्न पाइन्छ । सबैको मौलिक हक हो । यथार्थ चाहिं कसरी मूल्यांकन गर्ने त ? हामी जता जान खोज्दैछौं, विचारको ओरेन्टेशन कसरी आएको छ हेर्नुपर्छ । नेतृत्व निर्माण गर्दा योभन्दा अन्यथा जान खोजियो भने भड्खालाबाट जोगिन सजिलो छैन ।

पुस्तान्तरण चाहिं नहुने भयो उसो भए ?

क्रमिक रूपमा पुस्तान्तरण हुँदै आएको छ । कमरेड पुष्पलालले बनाएको पार्टी हो । मनमोहन अधिकारी हुनुहुन्थ्यो । उहाँहरूको पुस्ता त अहिले छैन । कुनै पनि कम्युनिस्ट पार्टीले यो काम गर्न सकेको छैन । अब त्यो काममा पनि लाग्नुपर्ने आवश्यकता छ ।

तपाईंहरूले एमाले विभाजन गरेर नयाँ पार्टी बनाउँदा माधवलाई अध्यक्ष स्वीकार्नुभयो । अहिले किन अध्यक्ष लड्न खोज्नुभएको ?

यो पार्टी विद्रोह हुँदा म उपचारमा थिएँ । पार्टी एकताबद्ध होस् भनेर गएको थिएँ । पार्टीमा कुनै पनि किसिमले मेल नहुने भयो भनेपछि विद्रोहको विकल्प छैन भनेर मैले उहाँलाई भनेको थिएँ । उहाँले वैधानिक विभाजन खोज्नुभएको थियो, तर दक्षिणपन्थी अवसरवाद विरुद्ध लड्न विद्रोह नै बाटो हो, यो २० वा ४० प्रतिशतको कुरा होइन भनेर मैले तर्क गरेको थिएँ । यो प्राविधिक होइन राजनीतिक कुरा हो भन्दै मैले समर्थन गरेको थिएँ । मलाई गर्व छ उहाँको विद्रोहमा । हामीले दक्षिणपन्थी अवसरवाद विरुद्ध विद्रोह गरेका हौं, तर त्यसको पुष्टि गर्ने काम हुन सकेन ।

पार्टी बनाउने माधव नेपालको कोसिस खेरै गयो उसो भए ?

त्यसो पनि नभनुँ । आंशिक कुरामा राम्रै भएको छ । जसरी बन्नुपर्ने, त्यसरी बनेन भन्ने कुरा मात्र हो । जस्तो कि एमसीसी जस्तो अपमानजनक सम्झौता शर्मनाक रूपमा अनुमोदन भयो ।

तपाईंको पार्टीले पनि त अनुमोदन गरेकै हो नि एमसीसी ?

त्यही त भयो नि ! मैले भिन्न मत त्यसैले गर्दा राखेको थिएँ । यो गर्नुहुँदैनथ्यो भनें । अरू थुप्रै विषयमा भिन्नता देखा पर्दै गए । कार्यक्रममा पनि कहिले जबज कहिले समाजवादी कार्यक्रम भन्ने कुरा भयो ।

तपाईंले सित्तैंमा आएको एमसीसी जस्तो अनुदान नलिने, चीनका महँगा ऋण लिने शास्त्रीय कम्युनिस्ट पारा देखाउनुभयो भन्ने छ नि ?

नबुझ्ने र पूर्वाग्रहीको कुरा हो । चीनको ऋण नलिने, विश्व बैंक र एसियाली बैंकको ऋण चैं लिने ! के प्रश्न हो त्यो ? त्यसैले यस प्रश्नको पींध पनि छैन । अपमानजनक शर्तहरूको म सदासर्वदा विरोध गर्छु ।

यसलाई सम्बोधन गर्न व्याख्यात्मक टिप्पणी आयो त ?

त्यसको कुनै अर्थ छैन । अनुमोदन गर्ने बहानाबाजी मात्रै हो । त्यसलाई अमेरिकाले मान्यो त ? नेपालका कम्युनिस्टहरूले आत्मसमर्पणवादी नीति लिए ।

तपाईं पार्टी अध्यक्ष बन्नुभयो भने सच्याउनुहुन्छ एमसीसी ?

म त सच्याउँछु ।

उल्ट्याउनुहुन्छ ?

उल्ट्याउन चाहिं सक्दिनँ । उल्ट्याउन त संसद्मा बहुमत चाहियो नि ! तर पार्टीमा चाहिं सच्याउँछु । कसैले ३० दिनको सूचनामा सच्याउन सकिन्छ भन्छन्, तर त्यो हात काटेर दिएको जस्तो कुरा हो । फेरि जोड्न सकिंदैन ।

तपाईं प्रधानमन्त्री, मन्त्री भइसकेको नेता, जसलाई देश–विदेशको अध्ययनमा पनि रुचि छ । तपाईंलाई विश्व कता जाँदैछ भन्ने थाहा नभएको पनि होइन । तर झलनाथको शास्त्रीयतावादले जंगली युगतिर पुर्‍याउने हो कि भन्ने आरोप विपक्षीहरूले लगाउने गर्छन् नि ?

उदारवादको रसरंगमा डुबेकाहरूले गर्ने टिप्पणी हो यो । क्रान्तिको चेतले युक्त भएकाहरू झलनाथलाई त्यसो भन्दैनन् । या त दक्षिणपन्थी अवसरवाद, या त उदारवादको भूमिमा रहेकाले यसरी हेर्छन्, भन्छन् । तर नेपालमा आज पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको १८ वर्ष भयो । अहिले दलाल पूँजीवादको टोपी लगाएकाले कृषि र उद्योगमा यो हविगत छ । शिक्षा, स्वास्थ्यमा व्यापारीकरण छ । राज्यले भूमिका खेल्दैन । म प्रधानमन्त्री हुँदा बजेटको १७ प्रतिशत अंश शिक्षामा हालेको थिएँ । त्यो अहिले घटाउँदै लगे । आजको आवश्यकता बमोजिम नयाँ शैक्षिक शक्ति निर्माण भएको छैन ।

यस्ता प्रश्नहरूमा तपाईं र माधवबीच समान विचार नै छ ? कि भिन्नता पनि छ ?

आम रूपमा ठूलो भिन्नता छैन, कार्यक्रम र अवधारणामा धेरै भिन्नता छैन । प्रधान अन्तरविरोध, संयुक्त मोर्चा, प्रतिद्वन्द्वी को हो भन्ने खालका कुरामा हाम्रो भिन्नता छ ।

एउटा देशका राजदूतले देशका योजनाहरूमा सीधै २० करोडसम्म दिने प्रस्ताव आयो । तर सरकारमा हाम्रो पार्टीको भिन्नता रहेन । हामी चुकेका कुरा हुन् यी । यस्ता अरू पनि छन्, जहाँ नेतृत्व चुक्यो ।

माधव चुक्नुभयो ?

म नाम लिन चाहन्नँ । नेतृत्वको जिम्मेवारी हो ।

मूल नेतृत्व उहाँ हो । तपाईं पनि नेतृत्वमै हुुनुहुन्छ !

हो । अब हेर्नुस् न, यत्रा अपराधी जसलाई तीन तहको अदालतले जेल हाल भन्छ, हाम्रो मूल्यमान्यता के हो, न्यायिक मन के हो ? यसरी हाम्रो औचित्य पुष्टि हुँदैन । वैचारिक भिजन राखेर जानुपर्छ ।

महाधिवेशनमा उहाँलाई काउन्टर गर्ने तपाईंको रणनीति र टिम कस्तो छ ?

पहिलो कुरा त नीति र विचारले लड्ने हो । जे कुरा मैले अघि सारेको छु, सिंगो पार्टी यसमा सचेत छ । १ लाख ४४ हजार पार्टी सदस्य छन्, तिनलाई मैले सकेसम्म सचेत बनाउन खोजेको छ । पर्सि ५ गते त प्रतिनिधि निर्वाचित गर्ने काम हुँदैछ । त्यसले पनि अवस्था बताउँछ नै । विचारमा के ठिक, के बेठिक भन्ने कुराले नै अग्रगति नापिन्छ । नेतृत्व सकेसम्म सहमतिमै आउँछ ।

तर अहिलेसम्मको छाँट हेर्दा सहमति हुने देखिंदैन नि ?

जसको नीति उसैको नेतृत्व नै हुन्छ ।

तपाईंकै विगतको उदाहरण हेर्दा विचार एउटाको, नेतृत्व अर्काको भएको पनि छ नि ? फेरि त्यस्तो नहोला ?

कम्युनिस्ट आन्दोलनमा दुईचोटि यस्तो भयो । २०१४ सालमा नीति एउटाको, नेतृत्व अर्काको भयो । यस्तो हुँदा पार्टी विभाजन भयो । प्रतिवेदन मैले मस्यौदा गरें, त्यो पास भयो । नेकपा नामको पार्टी बनाउँदा १० लाख सदस्य थिए । दुई तिहाइ नजिक बहुमत थियो । तलसम्मै हाम्रो बहुमत, तर त्यो कहाँ पुग्यो ? तर गलत वैचारिक राजनीतिक कार्यदिशाले हामी गलत ठाउँमा पुगियो । कुनै पनि कम्युनिस्ट पार्टीको वैचारिक कार्यदिशा सही छ भने सानो पार्टी पनि ठूलो हुन्छ, गलत भए ठूलो दल पनि भत्किन सक्छ । फेरि दुर्भाग्य नआओस् भन्नलाई वैचारिक राजनीतिक कार्यदिशालाई नै सही बनाउन लाग्नुपर्छ ।

एमाले र माओवादी दुईवटा धार हुँदाहुँदै तेस्रो कम्युनिस्ट पार्टी उदाउन सम्भव छ ?

एकदमै सम्भव छ । वैचारिक राजनीतिक कार्यदिशा सही बनाएपछि त्याग तपस्याका क्रियाकलापले त्यो गराउँछ । म २०२२/२३ सालमा विद्यार्थी हुँदा कम्युनिस्ट आन्दोलन चकनाचूर थियो । म जति नेतालाई भेट्थें, चिसो भेट्थें । यी नेताले काम गर्ने रहेनछन् भन्ने म १७–१८ वर्षको विद्यार्थीलाई लाग्थ्यो ।

पछि हामी आफैं पुनर्गठन गर्न गयौं । त्यतिबेला पार्टी बनाउन कठिन थियो, त्यस्तो कठिन अवस्थामा पनि हामीले पार्टी पुनर्गठन गर्‍यौं । कम्युनिस्ट आन्दोलन एकताबद्ध भयो । २०४६ सालको आन्दोलन भयो । २०६२/६३ को क्रान्ति भयो । बनाउन नसकिने होइन तर समर्पण, लगनशीलता, भिजन, सही राजनीतिक वैचारिक कार्यदिशा लिएर जान सक्ने आँट–हिम्मत चाहिन्छ । त्योभन्दा अगाडि सही विचार, सिद्धान्त र नीति चाहियो र त्यसलाई कार्यान्वयन गर्ने आँट चाहिन्छ ।

तपाईंलाई अर्काे कम्युनिस्ट पार्टी बनिहाल्छ नि भन्ने आत्मविश्वास होला । मतदाताको झुकाव त न कम्युनिस्ट, न कांग्रेस– अर्कैतिर जाने जस्तो देखिन्छ नि ?

यो संकेतले के बताइरहेको छ भने अघि मैले भने झैं एकताको बेला नेकपा ठूलो शक्ति बनेको थियो, त्यतिबेला यदि यो देशमा कृषि क्रान्ति, राष्ट्रिय औद्योगीकरण, व्यापक उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्न र आम जनताले चाहेको आधारभूत परिवर्तन गर्न सकेको भए आज युवा खाडी र मलेसिया जानुपर्ने थिएन । शिक्षा र स्वास्थ्यमा व्यापक परिवर्तन गर्न सक्थ्यौं । हामीसँग १८ (२) वटा विश्वविद्यालय छन् तर त्यहाँ पढ्ने विद्यार्थीको अभाव हुनथाल्यो । न पाठ्यक्रम छ न आकर्षण । यी विषयमा आमूल परिवर्तन गर्न सकियो भने बाहिर गएका युवा स्वदेश फर्कन्छन् । आफ्नो देशप्रति माया छ नि ! मान्छेलाई सीमा पार गरेपछि आफ्नो देशप्रतिको माया उम्लेर आउँछ । देशको मायाका बावजुद विवशताले विदेशिएका छन् । त्यसलाई बुझेर आत्मविश्वास र भिजनयुक्त नयाँ नेतृत्व निर्माण गरौं र त्यस्ता कार्यक्रम लागू गर्न थालौं त, यो देशमा फेरि आकर्षण बढेर जान्छ ।

तपाईंहरूले यस्ता धेरै अवसर गुमाइसक्नुभयो । कसरी पत्याउने ?

यो चुनौतीपूर्ण कुरा हो । यसलाई विश्वासमा बदल्न स्पष्ट विचार शृङ्खला अगाडि सार्नुपर्छ भने व्यवहार पनि सँगसँगै सच्याउनुपर्छ । कहिलेकाहीं राम्रो विचार ल्याउने नेताकै व्यवहार कोही तानाशाही, कोही भ्रष्ट, कोही परिवारवादी देखिन्छ । यस्तो गर्नुहुन्न ।

एउटा कम्युनिस्टले राजनीतिलाई जनसेवाको विषय बनाउनुपर्छ । राजनीति पेशा र कमाउ धन्दाको विषय होइन । समर्पण, त्यागको विषय बन्नुपर्छ । हिजो भूमिगत भएर काम गर्दा हामी न परिवार भन्थ्यौं न विवाह । यी सबै कुरा त्यागेर हिंडेका थियौं । त्यो खालको समर्पण गरेर यो देशका १०–२० कम्युनिस्टहरू हिंड्न सुरु गरौं त ! जनताको आशा फेरि पलाएर आउँछ जसरी चैत-वैशाखमा सारा वनस्पतिका मुनाहरू पलाएर आउँछन् । मान्छेको मन त हो, वनस्पतिभन्दा चाँडो पलाएर आइहाल्छ । यदि हामीले सही ढंगले काम गर्छाैं, भिजन दिन्छौं र समृद्धिमा पुग्ने बाटो देखाउन सक्यौं र जनताले विश्वास गरे भने आँधीहुरी आउँछ ।

राज्यका स्रोतहरू कब्जा र दोहन गर्नेतिर बढी नेता कार्यकर्ताको ध्यान गएको छ होइन ?

पूँजीवादी नेताहरू त्यता ध्यान गयो भने आश्चर्य मान्नुपर्दैन । उनीहरूको कामै त्यही हो । तर वामपन्थी नेताहरूमा यस्तो प्रवृत्ति देखिनु दुःखद् विषय हो । वामपन्थी आन्दोलनप्रतिको विश्वासघात हो ।

अहिलेका ठूला-ठूला भ्रष्टाचारका प्रकरणहरूमा सबै वामपन्थी भनिएकाहरू नै जोडिएका छन् ?

त्यो भनेको कम्युनिस्ट नेताहरूमा आइरहेको अधपतनको कुरा हो । यदि यो आरोप सही छैन भने उनीहरूले साफ गर्नुपर्छ । परीक्षण गर्न तयार हुनुपर्‍यो र प्रमाणित गर्न चुनौती दिनुपर्‍यो ।

अहिले तपाईंले लेख्नुभएको समाजवादी क्रान्तिको कार्यक्रम के हो ? नयाँ कुरा के छ र अरूभन्दा फरक के हो ?

अहिले हामी पूँजीवादी व्यवस्थामा छौं । अहिले आम जनतामाथि व्यापक शोषण, दमन, अन्याय, अत्याचार छ । समाजवादी व्यवस्थाले यो कुरा समाप्त गर्छ । मान्छेले मान्छेमाथि गरिरहेको शोषणलाई समाप्त पार्ने व्यवस्थाको नाम हो समाजवाद ।

दोस्रो कुरा, अहिले विभेदै विभेद छन् । पुरुष र महिलाहरूबीच, जातीय विभेद छ । वैदिकभन्दा पूर्वकालदेखिको व्यवस्था हो छुत, अछूत भन्ने । संविधान, ऐनले मान्दिनँ भनिसक्यो तर पनि व्यवहारमा यही छ । यसलाई अन्त्य गर्ने व्यवस्था भनेकै समाजवाद हो । शिक्षा र स्वास्थ्यमा व्यापारीकरण छ । यो त नागरिकको मौलिक हक हो । बालबच्चाहरूको शिक्षाको निम्ति राज्यले जिम्मा लिनुपर्छ । समाजवादले यसलाई परिवर्तन गर्छ ।

अहिले भ्रष्टाचार व्याप्त छ । यसलाई अन्त्य गरेर भ्रष्टाचार गर्नै नपर्ने र मनै नलाग्ने व्यवस्था हामी सिर्जना गर्न चाहन्छौं । त्यो भनेको समाजवाद हो । पूँजीवादी व्यवस्था त भ्रष्टाचार, कालोबजारी, कमिसनखोरी नगरी चल्दै चल्दैन । यसलाई अन्त्य गर्न समाजवाद चाहिन्छ । यी सार वस्तु भएको र श्रमिक वर्गको नेतृत्व भएको नयाँ समाजवादी लोकतन्त्र जहाँ सबै प्रकारका हकअधिकारले समाज युक्त हुन्छ । त्यहाँका जनता युक्त हुन्छ । त्यस्तो खालको व्यवस्था ल्याउने कार्यक्रम हो समाजवाद ।

एमाले र अन्य पार्टीले भनेको भन्दा कति भिन्न हो यो ?

विल्कुलै भिन्न । अरू कुनै कम्युनिस्ट पार्टीहरूले यस्तो कार्यक्रम अगाडि सारेकै छैनन् । अब पूँजीवादी पार्टीहरूले यस्तो कार्यक्रम अगाडि सार्ने कुरै भएन । सार्वजनिक स्वामित्व प्रधान रहेको नयाँ समाजवादी लोकतान्त्रिक अर्थतन्त्र र संस्कृति भएको व्यवस्था विल्कुलै एउटा नयाँ व्यवस्था हो । अहिले हाम्रो पार्टीले अगाडि सारेको यो कार्यक्रम विल्कुलै नयाँ कार्यक्रम हो । यो समाजवादी क्रान्तिको सिंगो कालभरिको कार्यक्रम हो । हरेक महाधिवेशनमा फेरि राजनीतिक र संगठनात्मक प्रतिवेदन पेश गर्नेछौं । तर कार्यक्रम सम्बन्धी दस्तावेज हो त्यो चाहिं सिंगो क्रान्तिको दस्तावेज हो । फेरि फेरि प्रस्तुत भइरहँदैन ।

तस्वीर र भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?