 
																			६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिए । प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरे ।
‘जाँदाजाँदै म एउटा कुरामा सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु’ भन्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले संसदमा बोल्दा सकेसम्म सबै उपस्थित हुने परम्परा रहेको बताए ।
‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरु, सबै माननीय सदस्यहरु, मन्त्रीहरु इमर्जेन्सीबाहेक सबै माननीयज्यूहरु उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो’, उनले भने, ‘तर अब क्रमशः त्यो पातलिन थालेको छ ।’
संसदमा धेरै सांसद अनुपस्थित हुनुलाई उनले प्रधानमन्त्रीको अवमूल्यन हो कि भन्ने आशंका पनि गरे ।
‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंलै आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वास सहित बिदा हुन्छु’ प्रचण्डले भने ।
संसद सचिवालयका अधिकारीहरुका अनुसार बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिए । तर, प्रधानमन्त्री बोलिरहेका बेला बाहिरिए ।
सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा एमलेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि अनुपस्थित रहे ।
प्रधानमन्त्री बोलिरहँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा थिए । तर अरु दुई उपप्रधानमन्त्री एमालेका रघुवीर महासेठ र माओवादीका नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4