 
																			बजारतिर पनि मुद्दा-मामिला र कोर्ट-कचहरीकै कुरा बढी सुनिन थालेको छ। तपाईं स्वयं जानकार हुनुहुन्छ कि देशमा के कस्ता अपराधहरू भइरहेका छन् र त्यसमा कस्ता-कस्ता मान्छेहरू मुछिएका छन्। यहाँ पनि तपाईंले देख्न सक्नुहुन्छ एक अभियुक्तलाई, जो अहिले कठघरामा हाजिर छ।
अभियोग के हो भन्ने कुरा तपाईंले एकछिनपछि थाहा पाउनुहुनेछ। अभियुक्त कस्तो छ भनेर तपाईंले सोध्नुहोला। म देखिरहेको छु कि ऊ निष्फिक्री छ। अभियुक्तको अनुहारले भन्छ- आफूमाथिको अभियोगप्रति निजमा कुनै चिन्ता छैन। अभियुक्तको हुलियाबारे मैले यहाँ अरु केही बताउन चाहिनँ।
 निजको हुलिया त्यही हो जो तपाईं कल्पना गर्न सक्नुहुन्छ। आफ्नो कल्पनाशक्तिलाई बढाउने तरिका पनि हो यो। यस्ता मामिलामा तपाईंले लेखकको धेरै भर नगर्नुहोस्। किनभने, कल्पना लेखक मात्रको सम्पत्ति होइन। यसमा उसको मात्रै सर्वाधिकार लाग्ने होइन। अनि जे कुरामा पनि लेखकले जान्ने पल्टिएर बखान गरिहाल्नुपर्छ भन्ने छैन। लेखक त्यहाँ बोलोस् जहाँ आवश्यक छ र जहाँ सम्भव छ त्यहाँ पाठकलाई कल्पिने स्थान मिलोस्।
 निजको हुलिया त्यही हो जो तपाईं कल्पना गर्न सक्नुहुन्छ। आफ्नो कल्पनाशक्तिलाई बढाउने तरिका पनि हो यो। यस्ता मामिलामा तपाईंले लेखकको धेरै भर नगर्नुहोस्। किनभने, कल्पना लेखक मात्रको सम्पत्ति होइन। यसमा उसको मात्रै सर्वाधिकार लाग्ने होइन। अनि जे कुरामा पनि लेखकले जान्ने पल्टिएर बखान गरिहाल्नुपर्छ भन्ने छैन। लेखक त्यहाँ बोलोस् जहाँ आवश्यक छ र जहाँ सम्भव छ त्यहाँ पाठकलाई कल्पिने स्थान मिलोस्।
कुरा अलिपर गयो। म विषयवस्तुमै फर्कन्छु। अँ त, बयानका लागि अभियुक्त तयार भइसकेको छ। अभियुक्तले अभियोगका उपर साबिती वा इन्कारी जुनसुकै बयान दिन सक्छ। त्यसकारण अब मैले अरू कुरा केही भनिनँ। किनभने अब भन्ने पालो अभियुक्तको हो। इजलासको कामकारबाही पनि सुरु भइसकेको छ र इजलासबाट सवाल प्रस्तुत भएपछि जवाफमा अभियुक्तले यसप्रकारको बयान दिन्छ-
आफ्नो भएको व्यहोरा भन्दै गर्दा उमेरको कुन खण्डबाट सुरु गरौं भन्ने कुरामा म जहिल्यै अलमलमा पर्छु। अलमल यसकारण पनि पैदा हुन्छ कि सत्य उमेरको सापेक्षमा फरक-फरक हुन्छ। यसै पनि सत्य बहुधा हुन्छ। एक सत्य जो भन्ने गरिन्छ त्यो मिथ्या हो। र संसारका लागि त्यो अति खतरनाक सिद्ध भइसकेको छ। जगतमा एक सत्य कहिले हिटलर बनेर आयो कहिले स्टालिन बनेर आयो। जहानियाँ राणाशासन र पञ्चायत पनि एक सत्य थियो। एक सत्यले निम्त्याउने भनेको दुर्घटना मात्रै हो।
त्यसैले म उसैको कुराबाट सुरु गर्न चाहन्छु। जसलाई मैले पुस्तकमा फेला पारें। जसलाई मैले उपन्यासमा फेला पारें। जस्तो, पच्चीस वर्षको उमेरमा मानाचारेक रगत छाद्ने सत्कार्य गरेपछि उसले आफूभित्र साहित्यको योग्य पात्र विकसित भएको पाएछ। मलाई लाग्यो- उपयुक्त पात्रको अनिकाल परेको समयमा रगत छादेरै भए पनि साहित्यको ‘योग्य पात्र’ विकसित भएको पाउनु एउटा महान् उपलब्धि हो। आखिर आख्यान उज्यालिने भनेको पात्रको प्रतापले नै हो। लरतरो पात्रले त उपन्यासलाई भड्खालोमा मात्रै जाक्छन्।
त्यस्तै एक प्रतापी पात्रलाई मैले जगदीश घिमिरेको साबिती उपन्यासमा फेला पारेको थिएँ। साबितीको प्रतापी पात्र मलाई मेरो मानसमित्र झैं लाग्यो। वैचारिक जगतका अनेक खण्ड अनि खण्डहरहरूमा मानसमित्रलाई मैले आफ्नो साथमा लिइहिंडें। उसको अकण्टक आत्मालाप मेरो आत्माको गीत बनेको थियो। जसलाई उमेरमा मैले कैयौं पटक गुन्गुनाएँ। दिनहरू यस्ता पनि थिए कि म पुजारी झैं साबितीको दैनिक पाठ परायण गर्दथें। मेरो ठहर थियो- साबितीका प्रत्येक पंक्ति शब्दको जोडजाम होइनन्। ती एक-से-एक आणविक आविष्कार हुन्।
यसरी म उसको मोहमा चुर्लुम्म थिएँ। म कामना गर्थें- मानसमित्र मेरो मनसबाट असमयमै हराएर कतै नजाओस्। सौन्दर्यको बीउ जो उसले मेरो मनसमा रोपिदिएको थियो र हुर्कंदै थियो। यसकारण पनि म चिन्ता गर्थें कि कुनै दुःखान्त प्रेमकथामा प्रेमीले आफ्नो गर्भिणी प्रेमिकालाई छोडेर अलप भए झैं नहोस्। समयको रफ्तारमा, यो गोलाकार धरामा, गोधूलि झैं केहीबेरपछि यसै विलाएर नजाओस्।
त्यसपछि मैले बजारबाट साबितीका भेटेसम्मका प्रति उठाउन थालें। मैले ती प्रतिहरू उनीहरूलाई बाँडे जो जिन्दगीको लाइफमा मै जसरी भड्किइरहेका थिए। अथवा भड्कावमा जसको रुचि थियो; आस्था थियो; विश्वास थियो।
जीवनका सरदर मान्यतामा म हिंड्न सकिनँ वा जानिनँ। त्यसबखत मेरो जीवनको रूप र सार नै भड्काव थियो। भड्कनु नै मेरो जीवन-दर्शन थियो। तर मेरो त्यो दर्शनप्रति घर, परिवार, मित्र, आफन्त, समूह, समाज, राज्य कोही कसैको पनि समर्थन थिएन। हुने कुरा पनि भएन। कुनै त्यस्तो कवि, कलाकार वा साहित्यकार समेत फेला पारेको थिइनँ जसले मेरो ओड ढाकिदियोस्। कुनै समीक्षक/समालोचक भेटेको थिइनँ जसले मेरो दर्शनमाथि व्याख्यात्मक टिप्पणी गरिदियोस्। मेरो भड्कावलाई वैधता दिने कुनै सार्वभौमसत्ता वा एजेन्सी भेटाएको थिइनँ मैले। यस्तैमा संजोगले भेटाएको थिएँ जगदीश घिमिरेको साबितीलाई। जसले मेरो भड्कावलाई प्रथमदृष्टिमा नै अनुमोदन गरिदियो। जो मेरो प्रमाण बन्यो। गवाह बन्यो।
मृत्युको दायरामा उभिएर जनताको अदालतमा उसले फलाकेको बयान पहिलो पटक पढ्दा म पनि पच्चीस वर्ष पुग्दै थिएँ। आज म स्वयम् तपाईंको अदालतमा उभिएर फलाक्दैछु। आदर्श उपदेशकहरूले भन्लान् कि पच्चीस वर्षको उमेर कति महत्वपूर्ण हुन्छ भनेर। जीवनको निर्णायक मोड यही उमेर वरपर आउँछ पनि भन्लान्। तर जीवनको मोड वा उमेरको खास कालखण्डप्रति मलाई कुनै अनुराग छैन।
धेरैले बाल्यकालको स्वर्णिम चर्चा गर्दछन् तर अभावग्रस्त एवं प्रेरणाशून्य आफ्नो बाल्यकाल मलाई कहिल्यै मन परेन। मलाई जगजित सिंहको त्यो गीतले कहिल्यै आकर्षित गरेन जहाँ उनले आफ्नो धन जवानी लुटाएर बाल्यकाल फिर्तीको याचना गरिरहेका छन्। बरु मिल्ने भए उमेरको फाँटवारीबाट म आफ्नो बाल्यकालको लगत कट्टा गर्न चाहन्छु।
अनि देश-दुनियाँले सुझाए बमोजिम औसत मान्छे बन्नुपर्ने त्यो समयमा, इलमको भारी बोकेर हिंड्नुपर्ने पच्चीस वर्षे उमेरको त्यो उकालोमा म भने बेइलमको भञ्ज्याङमा सुस्ताइरहेको थिएँ। आफ्ना समवयी साथीहरू पद, पैसा र पावरको पछाडि जोडतोडले कुदिरहेको बखतमा म भने शून्यताको आराधनामा शून्यसरी विलाइरहेको थिएँ। घण्टौं ध्यान गरी बस्नु, किताब पढ्नु अनि हावाले जता उडाएर लैजान्छ त्यतै जानु नै थियो मेरो गोरखधन्दा।
भोलि उठी कहाँ जाने भन्ने कुरा कालीप्रसाद रिजाललाई झैं मलाई पनि केही थाहा थिएन। आहार-विहारको समय-सन्तुलन कत्ति थिएन। ज्यानप्रतिको यस्तो लापरवाहीले गर्दा मैले पनि रगत छाद्नेवाला थिएँ र छादें पनि। त्यसपछि आफूभित्र कस्तो पात्र विकसित हुने हो भनेर म गम्न थालेको थिएँ।
साबितीको मुख्य पात्र जसलाई मैले आफ्नो मानसमित्र बनाएँ, उपन्यासमा ऊ आफैं कथावाचकको भूमिकामा प्रस्तुत छ। उपन्यासमा उसको नाम उल्लेख छैन। उपन्यासभरि ऊ आफ्नो समकालसँग चर्को स्वरमा कलह गरिरहन्छ। त्यसरी नै आफ्नो समयसँग जोरी खोज्न मसँग पनि थिए केही थान असन्तुष्टि।
मैले तपाईंहरूका शासकका अनुहारमा त्यही असन्तुष्टिको वान्ता छ्याप्ने प्रयास गरेको हुँ। जसरी मौजुदा सामाजिक व्यवस्थाको विरुद्धमा ऊ एकोहोरो बाझिरहन्छ। त्यसैगरी बाझ्नका लागि मसँग पनि थियो बागी उन्माद। र, मैले त्यही रनाहामा सत्तासीनहरूको उछित्तो काढेको हुँ। असन्तुष्टि अनि उन्मादको दशा चलिरहेको बेलामा नै हो जगतमा क्रान्ति हुने र जीवनमा पनि।
साबितीको पठनपछि मभित्रको जगतमा फेरि अर्को ‘म’को जन्म भएको थियो। विद्रोहलाई मैले आफू र आफू जस्ताहरूको वैधानिक बिर्ता ठान्न थालेको थिएँ। अनि लाग्न थालेको थियो कि ‘क्रान्ति’ कुनै शब्द होइन यो परिवर्तनको अनिवार्य अध्याय हो। क्रान्ति कुनै घटना मात्र पनि होइन यो त नैसर्गिक नशा हो। नशा लागेपछि मान्छेहरू मस्त मातिएर हिंड्न थाल्छन्।
सदनदेखि सडकभरि मात्नेहरूको माझमा म पनि शब्द-शब्दमा मातिएर हिंड्न थालें- कागजभरि अनि किताबभरि। अनि उसले जस्तै के लेखेको हुँ, किन लेखेको हुँ, विना स्पष्टीकरण लेख्न थालें। तर यति चैं थाहा छ कि आवरण बाँच्नेले लेख्न सक्दैन। लेख्न आफैंलाई भत्काउनुपर्छ। जो उसले नै सिकाएको पाठ थियो।
सडकछाप, भिखारी, यौनकर्मी, लावारिस, परित्यक्त, आउटसाइडर जसलाई सत्ताले मान्छे देख्दैन। मनुष्य ठान्दै ठान्दैन। उनीहरूलाई आफू समान देख्ने आँखा उसैले दिएको हो। स्वार्थ, टकराव, शक्ति, युद्ध र उत्पातका माझ निस्सासिएको मानवताका पक्षमा सोच्ने चेत उसैले दिएको हो। मान्छे मात्र मान्छे भइराख्न अनि मेसिन हुनबाट जोगिने सूत्र उसैले सुझाएको हो। कसरी एउटाको हत्यारा, लुटाहा, डाँका अर्काको त्यागी, तपस्वी, शहीद, देशसेवी, क्रान्तिकारी हुन्छ ? मलाई उसले नै बताएको हो।
भन्नेहरूले त भन्छन्- हर व्यक्ति आफ्नो बालाबैंसमा एकफेर क्रान्तिकारी भई जन्मन्छ। हुनत यो क्रान्तिको सर्वमान्य नियम होइन। क्रान्तिको स्वरूप, कारण र रोकथामको उपाय समेत बताउने ग्रीक विचारक अरस्तुले जान्लान् यो कुरा।
तर क्रान्तिले ल्याउने परिवर्तनप्रति भने ऊ जस्तै म पनि तयार नै थिएँ। परिवर्तनका लागि प्रहार आवश्यक हुन्छ। प्रतिरोध आवश्यक हुन्छ। प्रतिशोध होइन। प्रतिशोधलाई क्षमाले जित्ने परिवर्तन अनि घृणालाई करुणाले जित्ने क्रान्ति नै हरेक कवि-लेखकको एजेण्डा हो र हुनुपर्छ। त्यही एजेण्डाका पक्षधरहरूको पंक्तिमा उभिने चेष्टाले लेखेको हुँ मैले पनि।
साबितीका शब्दहरूमा बरालिंदा बरालिंदै मैले आफूलाई नयाँ ढंगढाँचामा भेट्टाएको हुँ। शब्दको सौन्दर्य-शक्तिप्रति म यसरी नै आकर्षित भएँ जसरी जगतका रंगीन लीलाहरूमा जीवहरू मोहित हुन्छन्। यही साहित्यिक कृति मार्फत म नवीकृत भएँ- एक अलग अन्दाजका साथ, एक अर्को अवतारमा।
त्यसपछि शब्द नै मेरो आत्मशक्ति भएको थियो। उसको दृष्टि नै मेरो प्रदर्शक भएको थियो। भड्कावका बीचमा एउटा प्रस्थानविन्दु जो मैले भेटेको थिएँ। ‘म पनि लेख्छु’ भन्ने प्रेरणाको उज्यालो जो मैले पाएको थिएँ। जो मेरा लागि सर्वाधिक महत्वको कुरा थियो। किनभने जीवनमा कुनै अग्रज-अगुवाले नदेखाएको बाटो एउटा पुस्तकले देखाइदिएको थियो। अनि लेखनका नाममा, साहित्यका नाममा आजसम्म मैले जे जति ‘कसुर’ गरें ती सबैको आदि-उत्प्रेरक थियो— साबिती।
लेख्दालेख्दै यतै कतै अक्षरले डोर्याएको बाटोमा छु। कतै उज्यालिएको छु भने त्यो साबितीहरूको प्रेरणाले हो। कतै मुर्झाएछु भने त्यो मेरो साधनाको कमीले हो। अत: एव इन्साफको रोहमा जे जसो सजाय गढाउ होला, मर्मज्ञ पाठकहरूको जो आदेश ! भन्दै आइरहेको छु।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4