 
																			१५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब वसन्त ऋतु प्रारम्भ हुन्छ, त्यसपछि लुक्ला उडानमा केन्द्रित हुन्छन् ।
नियमित उडान छाडेरै कम्पनीहरू लुक्लातिर झुम्मिन्छन् । कारण बझाङ, अछाम वा मुगुमा यात्रु नपाएर होइन, पूर्णसिट भरिएरै जहाज उड्दा पनि कम्पनीले लुक्ला रोज्नुको कारण ‘डलर फेयर’ हो ।
लुक्लामा पर्वतारोहण र पदयात्रा सिजनमा अधिक विदेशी यात्रु हुन्छन् । वायुसेवा कम्पनीले महँगो मूल्य असुल्न पाउँछन् । त्यो बेला उनीहरूले मुगु, अछाम र बझाङमा वर्षैभरि आफूलाई बिजनेस दिने नेपाली यात्रु बिर्सिन्छन् र डलर फेयरका लागि तँछाडमछाड गर्छन् । नियामक निकाय थाहा नपाए जस्तै बनिदिन्छ ।
गत जेठ तेस्रो साता अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण भएको दिनको अवसर पारी नेपालस्थित विभिन्न देशका राजदूतलाई अन्नपूर्ण फेदीमा पदयात्रा गराइयो । त्यो पदयात्रामा सहभागी भई काठमाडौं आएका नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरनाले सोही यात्राको एक रमाइलो किस्सा पंक्तिकारसहितको अनौपचारिक छलफलमा सुनाए ।
पोखराको एक होटलमा बास बसेका एउटै परिवारका सातमध्ये तीनसँग अमेरिकी नागरिकता थियो । होटलले एउटै परिवारका भए पनि अमेरिकी नागरिकताधारी तीन जनाका लागि कोठाको छुट्टै र नेपाली नागरिकका लागि छुट्टै चार्ज लगायो । त्यसपछि गेस्ट र होटलबीच झगडा भयो ।
नेपाल पर्यटकीय मुलुक हो । तर, नेपालले पर्यटकलाई विशेष सुविधा दिन्छ भन्ने सन्देश दिन सकेको छैन । बरु पर्यटकबाट अतिरिक्त शुल्क लिइन्छ र निजी क्षेत्रको नाफा वृद्धिमा सहयोग गराइएको छ ।
अप्रत्यक्ष रूपमा एक पर्यटक आउँदा १२ जनासम्म स्थानीयलाई रोजगारी सिर्जना गर्छ भन्ने अनुमान छ । तर, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान मुस्किलले २ प्रतिशत पनि छैन । यसो हुनुमा पर्यटनबाट सीमित घराना र व्यापारीले मात्र लाभ लिएका छन्, आमजनताले पर्यटनको लाभ लिन सकेका छैनन् ।
उता, नेपालको अलि परको छिमेकी श्रीलंकाले पर्यटनबाट हुने आम्दानीलाई जनताको जीवनसँग जोडेर लाभ वितरण गरिरहेको छ । जसको फाइदा समुद्रमा माछा मार्ने माझीदेखि ढुंगा खानीबाट पत्थर निकालेर गहना बनाउने कालिगढसम्मले पाएका छन् ।

नेपालले इलामको चियालाई प्रवर्द्धन गरी विश्वभरि पुर्याउन सकेन । श्रीलंकाले पर्यटकलाई चियाबारीमै पुर्याएर आफ्नो उत्पादन किन्ने हौसला प्रदान गरेको पाइयो ।
जडीबुटी उत्पादन केन्द्रलाई पर्यटकीय आकर्षण केन्द्र बनाइ पर्यटकलाई जडीबुटीका बगैंचामा पुर्याइन्छ । धित मर्ने गरी जडीबुटीबारे बिफ्रिङ गरिन्छ, इच्छुक पर्यटकले मन खोलेर किनमेल गर्छन् ।
करिब एक साता पंक्तिकारसँगै श्रीलंकाका चर्चित पर्यटकीय गन्तव्यमा पुगेका टुरिस्ट गाइड सम्पथ मायादुन्नेले बताए अनुसार श्रीलंकाले पर्यटकीय गन्तव्यमा लिने शुल्क सरकार वा कुनै कम्पनीको आम्दानीभन्दा सोही सम्पदा वा गन्तव्य विकासमा खर्च गर्छ ।
श्रीलंका सरकारको मान्यता छ– सम्पदा, प्रकृति र परम्परा जति बचाउन सकियो, पर्यटनबाट मुलुकले त्यति धेरै लाभ लिइरहन्छ ।
 अघिल्लो महिना श्रीलंकाको एक साता भ्रमण क्रममा करिब १ हजार ४ सय किलोमिटर सडक यात्राको अवसर प्राप्त भयो । नेपालमा सडक पुग्यो भने दायाँबायाँ सहर बसाइहाल्ने, जग्गाको प्लटिङ गरिहाल्ने परम्परा देखेका हामीलाई श्रीलंकाका राजमार्ग आसपास कयौँ किलोमिटर जंगलमात्र देख्दा अनौठो लाग्नु स्वाभाविक थियो ।
अघिल्लो महिना श्रीलंकाको एक साता भ्रमण क्रममा करिब १ हजार ४ सय किलोमिटर सडक यात्राको अवसर प्राप्त भयो । नेपालमा सडक पुग्यो भने दायाँबायाँ सहर बसाइहाल्ने, जग्गाको प्लटिङ गरिहाल्ने परम्परा देखेका हामीलाई श्रीलंकाका राजमार्ग आसपास कयौँ किलोमिटर जंगलमात्र देख्दा अनौठो लाग्नु स्वाभाविक थियो ।
सहरभित्र पनि रुखबिरुवा रोपेर हरियाली कायम राख्नु, सडक सफासुग्घर र प्लास्टिकजन्य फोहोर राजमार्गमा कतै पनि नदेखिँदा हामीले नेपाल सम्झियौं । राजमार्गको यात्रामा खुला स्थानमा शौच गर्न रोक्ने सार्वजनिक बसका ‘गुरुजी’ सम्झियौं । प्लास्टिकमा बान्ता गरी झ्यालबाट हुर्याउने यात्रु सम्झियौं ।
त्यसैगरी श्रीलंका हात्ती संरक्षणमा विश्वमै कहलिएको देश हो । साथमा, जंगल रिसोर्ट अवधारणा समेत विश्वमा भित्र्याउने केन्या र श्रीलंका हुन् ।
नेपालमा पनि चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल रिसोर्ट अवधारणामा विगतमा धेरै पर्यटक आकर्षित गरिएको थियो । तर, यो विवादित भयो र सरकारले रोक लगायो ।
 रामायण ग्रन्थमा रावण पात्रका रूपमा व्याख्या गरिएका राजाको दरबार मानिने सिगिरिया लायन रक र त्यसको सामुन्ने रहेको पिदुरंगला रक चढेर ३६० डिग्रीमा अवलोकन गर्दा लाग्छ, श्रीलंकाले यो सम्पदालाई अर्को १ हजार वर्ष बिगार्दैन, संरक्षण गरेर राख्छ ।
रामायण ग्रन्थमा रावण पात्रका रूपमा व्याख्या गरिएका राजाको दरबार मानिने सिगिरिया लायन रक र त्यसको सामुन्ने रहेको पिदुरंगला रक चढेर ३६० डिग्रीमा अवलोकन गर्दा लाग्छ, श्रीलंकाले यो सम्पदालाई अर्को १ हजार वर्ष बिगार्दैन, संरक्षण गरेर राख्छ ।
त्यो बेला याद आउँछ, नेपालले संसारकै सर्वोच्च शिखर सगरमाथामा गरेको सस्तो दोहन । बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो ।
 यात्रा दौरान हामी श्रीलंकाको पहाडी इलाका नुवारा इलिया पुग्यौं । ठ्याक्कै इलामको झल्को आउने । वातावरण पनि उस्तै । यहाँ युरोपेली शासकहरू गर्मी छल्न र बिदा मनाउने आउने गाइड सम्पथले जानकारी दिए । त्यहाँ स्थानीय चिया प्रशोधन केन्द्रहरू छन् ।
यात्रा दौरान हामी श्रीलंकाको पहाडी इलाका नुवारा इलिया पुग्यौं । ठ्याक्कै इलामको झल्को आउने । वातावरण पनि उस्तै । यहाँ युरोपेली शासकहरू गर्मी छल्न र बिदा मनाउने आउने गाइड सम्पथले जानकारी दिए । त्यहाँ स्थानीय चिया प्रशोधन केन्द्रहरू छन् ।
श्रीलंका विश्वकै चौथो ठूलो चिया उत्पादक हो । त्यो भेगमा पुग्ने पर्यटकलाई चिया प्रशोधन केन्द्रका कर्मचारीले कुशलतापूर्वक चिया, प्रशोधन प्रक्रियाको बयानमात्र गरेनन्, आफ्ना उत्पादन चाख्न लगाए ।
स्वादमा लठ्ठ पर्यटकले कुनै न कुनै उत्पादन किनेरै फर्किने गरेको हामीले देख्यौं । श्रीलंकाले इल्ले नामक एक सहरमा पुरानो प्रविधिको रेललाई अहिले पनि बचाएर राखेको छ । जसलाई पर्यटकले साहसिक गतिविधिका रूपमा यसको अनुभव लिन सक्छन् । गेल नामक सहरमा पोर्चुगल र नेदरल्यान्डले बनाएका संरचनालाई अहिले श्रीलंकाले अर्को आकर्षणका रूपमा संरक्षण गरिराखेको छ ।

श्रीलंकाले सडक यात्रा सहज बनाउन कुनै कसर बाँकी राखेको छैन । किनकि, चारैतर्फबाट समुद्रले घेरिएको यो मुलुकमा आन्तरिक हवाई उडान त्यति सहज छैन । ट्राफिक प्रहरीको आँखा छली नियम मिचिहाल्ने र प्रहरीले लुकेर लाइसेन्स चेक गर्दा बिल्ला उडाउने मुलुकका हामीलाई श्रीलंकाली सडकमा चालकले देखाएको सडक अनुशासनले निकै प्रभावित बनायो ।
श्रीलंकाका आधा दर्जन सहर पुग्दा कुनै पनि जेब्राक्रसमा अगाडि बढेका पैदल यात्रुका पाइला सवारीसाधनका कारण रोकिनुपरेको देखिएन ।
९४ प्रतिशतभन्दा माथि साक्षरता भएको यस मुलुकमा स्तरीय सार्वजनिक बस, रेल र नेपालको तराई भेगमा चल्ने टुकटुकलाई सार्वजनिक यातायातको मुख्य माध्यम बनाएको पाइयो ।

सहर र गाउँभरि भगवान गौतमबुद्धका मूर्ति सजाइएको श्रीलंकामा सयौं वर्ष पुराना हिन्दु मन्दिरलाई समेत जतनसाथ संरक्षण गरेको छ । जसका माध्यमबाट श्रीलंकाले ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउँछ ।
श्रीलंकाली परिकार र स्वाद, किन चाहियो विदेशी ?
नेपालका पाँचतारे होटलमा पाक्ने अधिकांश खाद्यान्न विदेशबाट आयात गरिन्छ । सोहीकारण होटल एसोसिएसन नेपाल (हान) ले होटलमा अनिवार्य रैथाने परिकार राख्ने अभियान नै चलाउनुपरेको थियो ।

नेपाली होटल व्यवसायी होटलको मापदण्डको तर्क दिँदै पर्यटकलाई विदेशी परिकार र स्वाद नै पस्किरहेका देखिन्छ । श्रीलंका यात्राभरि स–साना क्याफेदेखि ठूला पाँचतारे होटलसम्मले स्थानीय परिकारलाई उच्च प्राथमिकतासाथ पस्किएको पायौं । चिया, माछा, नरिवल र विभिन्न स्थानीय मसला यस मुलुकका आफ्ना उत्पादन हुन् ।
होटलहरूले यी परिकारलाई नै पर्यटक सेवामा पस्किएका थिए । यसले स्थानीय उत्पादनको खपतमात्र बढाएन विदेशी मुद्रा विदेशिनबाट समेत बचायो ।
कृषिप्रधान मुलुक नेपालले रैथाने खानालाई पाँचतारे होटलको मुख्य मेनु बनाउन सके नेपालमा पनि कृषकले कृषि उपजको भाउ पाउने थियो । तर, पहल थाल्ने कसले ?
(श्रीलंकाबाट फर्केर)
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4