
१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् ।
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् ।
सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’
आइतबारको बैठकमा सहभागी अधिकांश नेताहरुले ओलीसँगको भेटबारे जिज्ञासा राखेका थिए । उनीहरुले कांग्रेस-एमालेको सरकार बन्न लागेको हो भन्ने जिज्ञासा पनि राखेका थिए । ‘तर ओलीले बोलाउनुभयो, चिया खायौं, बीआरआईबारे कुरा भयो मात्र भन्नुभयो’, बैठकमा सहभागी एक नेताले भने ।
पार्टीका धेरै नेताहरुलाई थाहा नभए पनि देउवाको भावभंगीमा हेरेर केही महत्वपूर्ण घटनाक्रम हुन लागेको आशंका भएको ती नेताले बताए ।
प्रतिक्रिया 4