+
+

‘आरोहीको भीडले सगरमाथामा देखिने असर पारिरहेको छ’

सगरमाथामा फोहोर र मानिसहरूको चहलपहलका कारण भएका असरहरू देखिने तहमा छन् । सरसफाइ गर्न आधारशिविरमा त्यति धेरै समस्या होइन, त्यहाँभन्दा माथि नै समस्या छ ।

आदित्य कार्की, सेनानी आदित्य कार्की, सेनानी
२०८१ असार २१ गते १७:३४

नेपाली सेनाले पहिल्यैदेखि प्रकृति संरक्षणमा काम गरिरहेको थियो । सन् २०१६ देखि प्रकृतिसँगै जोडिएको वातावरण संरक्षणमा पनि काम गर्नुपर्छ भन्ने भयो । तत्कालीन प्रधानसेनापतिको कमाण्ड निर्देशनमा ‘सफा हिमाल अभियान’ भन्ने कार्यक्रम पनि समावेश भयो ।

औपचारिक रूपमा सेना त्यसबेलादेखि नै हिमालको सफाइ अभियानमा जोडिएको हो । यो अभियान कहाँबाट सुरु गर्ने भन्ने हुँदा सगरमाथाबाट थाल्दा सबैको नजरमा पर्छ भन्ने भयो । सामान्यतः जति सर्वोच्च शिखर सगरमाथाको चर्चा हुन्छ, अरू हिमालको हुँदैन ।

सेनाको स्रोत, साधनलाई अधिकतम प्रयोग गरेर यो अभियान चलाइएको थियो । यद्यपि, सेनाको नेतृत्व भए पनि स्थानीय तह, सगरमाथा प्रदूषण नियन्त्रण समिति र अरू सरोकारवाला निकायहरू पनि जोडिनुभयो । पहिलो अभियानले यो सफल हुने रहेछ र निरन्तरता दिनुपर्ने रहेछ भन्ने देखायो । त्यसपछि अहिलेसम्म सगरमाथा सरसफाइ अभियान जारी छ ।

नेपाली सेना सगरमाथामा जान थालेको सन् १९८८ देखि हो । कहिले पर्वतारोहणको सन्दर्भमा गएको छ भने कहिले सम्पर्क अधिकृतका रूपमा पनि पर्यटन विभाग मार्फत गएको इतिहास छ ।

म आफैंले सन् २०१३ मा सगरमाथा आरोहण गरेको थिएँ । इण्डियन आर्मीसँग त्यतिबेला संयुक्त आरोहण गर्दा पनि हामीले ४.६ टन फोहोर ल्याएका थियौं । केही शेर्पाको सहयोगमा हामीले त्यो काम गरेका थियौं । अर्थात्, औपचारिक रूपमा सन् २०१६ पछि सरसफाइ अभियान सुरु भए पनि पहिले पनि कहिलेकाहीं फोहोर संकलनको काम भइरहेको थियो ।

गोरकसेपबाट कटेपछि बेसक्याम्प छिर्ने एउटा पोइन्ट छ । त्यो पोइन्टबाट क्राम्बन्च पोइन्टसम्म पुग्दा त्यो उचाइ सहितको हिसाबले गर्दा एक घण्टाको दूरी हुन्थ्यो भने अहिले ४० मिनेट जस्तोमा झरेको छ । पहिले तलैबाट हिउँमाथि हिंड्दै जानुपर्थ्यो । अहिले हिउँ छैन ।

सन् २०१३ देखि सेनाले हिमालसँग सम्बन्धित जुनसुकै काम गर्दा म जोडिइरहेको छु । हिमाल आरोहणको जुनसुकै कार्यक्रम हुँदा सांकेतिक रूपमा फोहोर ल्याउने काम गरिरहेका थियौं । सन् २०१९ मा हिमाल भनेको कुनै पर्वतारोहण शाखाको, कुनै मन्त्रालय मात्रै होइन, समग्र नेपालको हो भन्ने भयो ।

नेपाली सेना हरेक जिल्लामा छ, राष्ट्रिय निकुञ्जहरूमा पनि पहिल्यैदेखि थियो । त्यसपछि राष्ट्रिय निकुञ्जभित्रै हिमालहरू भएकाले त्यसलाई बृहत् बनाउने हिसाबले अभियान सुरु भएको हो । वातावरण विभागले पनि पहिल्यैबाट सफा हिमाल भन्ने प्रोजेक्ट अघि बढाएको रहेछ ।

तर, बजेट विनियोजन भएर पनि अरू स्रोत नहुँदा यो रोकिएको रहेछ । पछि वातावरण विभागसँग पनि समन्वय गरेपछि ६ वटा हिमाल सरसफाइ गर्ने हिसाबले अघि बढेका थियौं । यसपछि नेपाल सरकारकै अभियानका रूपमा यो अघि बढ्यो ।

सगरमाथामा देखिएका परिवर्तन

मैले सन् २०१३ मा सगरमाथा आरोहण गरेपछि एकैपटक सन् २०१८ मा सगरमाथा आधारशिविर गएको थिएँ । पाँच वर्षभित्रमा त्यहाँ धेरै फरक भइसकेको थियो । सामान्यतः बेसक्याम्पको एउटा इन्ट्री पोइन्टको लेभल हुन्छ । त्यसको लेभल र माथिल्लोसम्मको ‘क्राम्बन्च पोइन्ट’ भन्ने हुन्छ । त्यहाँ जाँदा जुन एउटा ‘इन्क्लाइन’ थियो, त्यो घट्दै गयो ।

बेसक्याम्प भनेको ग्लसियरमाथि नै हो । त्यो मेल्ट हुँदै गएको हुनसक्छ । ती कुराहरू नोटिस भइरहेको थियो । सन् २०२१ मा जाँदा अझै घटेको महसुस गरें । बेसक्याम्पको पार्ट अलि तलसम्म थियो, त्यो अलि माथि सरिसकेको जस्तो महसुस गरें । तलको भाग बगाउँदै गइसकेर माथि माथि सर्दै गइसकेको अवस्था छ । अहिले सन् २०२४ मा आधारशिविरमा जाँदा २०२१ मा आधारशिविर वरिपरि हिउँको जुन तह थियो, त्यो छैन ।

त्यो दुई कारणले हुनसक्छ । एउटा अन्तिम जाडो याममा कति हिउँ पर्‍यो भन्ने कुराले पनि असर गर्ने भयो । अर्को चाहिं, सन् २०२१ को तुलनामा मानिसहरूको भीड बढ्दै गएकाले पनि हुनसक्छ । तल–तल हिउँ पग्लिंदै जाने पनि भयो ।

कुनै सुख्खा ठाउँमा बसिरहेका छौं, दुबो भएकै ठाउँमा कुनै सामान राखिदिनुभयो भने पनि दुवो खुइँलिंदै जान्छ । सामान्य इकोलोजीमा हुने त्यही हो । भनेपछि त्यहाँ पनि तपाईं दुई महिनासम्म ६० देखि ७० दिनसम्म कुनै पनि चिजहरू प्राकृतिक रूपले गएर केही राखिदियो भने त्यसले तापक्रमलाई बढाउँछ । त्यसले हिउँ पग्लिने कुरालाई बढाउँदै जान्छ ।

त्यो क्रम वसन्तमा अलि बढी हुन्छ र शरद ऋतुमा अलि कम हुन्छ । फेरि वसन्त ऋतु आइरहन्छ । त्यो हुने वित्तिकै तहहरू घट्दै जान्छन् ।

अहिले सिजन सकियो, आरोहण बन्द भयो । अहिले हिउँ परिरहेको छ । त्यसले एउटा सेप बनाइरहेको हुन्छ, पछि भएर बेसक्याम्प राख्दा टेन्ट टाँग्न त्यसलाई काट्नुपर्‍यो । समथर बनाउनुपर्‍यो । कहिले मेडिकल बनाउनुपर्ला, हेलिप्याड बनाउनुपर्‍यो । त्यसलाई फेरि काट्दै जानुपर्‍यो । त्यो फ्यांकिंदै गयो । कुनै ठाउँमा राखेर सिद्धिएर जस्ताको तस्तै त रहँदैन । त्यसैले हुनसक्छ आधारशिविरको तह पनि घट्दै गएको छ ।

यसको ठ्याक्कै डाटा त मसँग छैन । म त्यो बारे अध्ययन गर्ने मान्छे पनि होइन । तर, सगरमाथामा काम गरेको अनुभवको आधारमा भनेको हुँ । त्यो महसुस पनि गर्न सकिन्छ । म सन् २०१३ मा र २०२४ मा जाँदा जति समय लाग्थ्यो, त्यो नै कम हुन थालिसक्यो । उकालो चढ्नुपर्ने जस्तो अप्ठ्यारो बाटो हुन्थ्यो भने अहिले मोटामोटी समथर जस्तो हुन थाल्यो ।

गोरकसेपबाट कटेपछि बेसक्याम्प छिर्ने एउटा पोइन्ट छ । त्यो पोइन्टबाट क्राम्बन्च पोइन्टसम्म पुग्दा त्यो उचाइ सहितको हिसाबले गर्दा एक घण्टाको दूरी हुन्थ्यो भने अहिले ४० मिनेट जस्तोमा झरेको छ । पहिले तलैबाट हिउँमाथि हिंड्दै जानुपर्थ्यो । अहिले हिउँ छैन ।

मोराइनहरू (कालो देखिने समथर भाग) मात्र बाँकी भयो । ढुंगाहरू मात्र देखिन्छ । पहिलो कुरा त हिउँ नपरेर पनि हो । तर, यो मात्र कारण होइन । हामीले आधारशिविर स्थापना गर्दा जति कुराहरू ग्राउण्ड मिलाउनलाई गर्छौं, त्यो छाड्दा जस्ताको तस्तै नगर्ने, त्यतिकै छाड्ने भएकाले पनि असर गर्छ ।

सगरमाथा आरोहणमा रोयल्टीको कुरा मात्रै आउँदैन । सयौं मान्छेहरू विश्व सम्पदा हेर्न भनेर पनि आउँछन् । उनीहरूले गर्ने खर्च रोयल्टी बाहेक पनि १० देखि १५ गुणा बढी अरूसँग जोडिएको छ । यो भरिया, गाइड, होटल लगायतको जीविकोपार्जनसँग जोडिएको हुन्छ । अहिले सरकारले रोयल्टी एउटा सिजनमा एक अर्ब पनि निकाल्दैन । तर, बिजनेस त २० अर्बभन्दा बढी आइरहेको छ ।

सगरमाथामा फोहोर र मानिसहरूको चहलपहलका कारण भएका असरहरू देखिने तहमा छन् । अहिले सरसफाइमा आधारशिविरमा त्यति धेरै समस्या होइन । त्यहाँभन्दा माथि नै समस्या छ । आधारशिविरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले पनि राम्रो काम गरिरहेको छ । यद्यपि, अहिले सगरमाथा एड्भेन्चर मात्र नभएर लक्जरी पनि बन्दै जाँदा वातावरणीय हिसाबले थप चुनौती पनि बढ्दा छन् ।

(नेपाली सेनाको ‘सफा हिमाल’ अभियानको नेतृत्व गरेका सेनानी कार्कीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?