२२ असार, काठमाडौं । नागरिक पहिलो अभियानले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धनलाई बदला र प्रतिशोधको राजनीतिकै नयाँ शृङ्खलाको संज्ञा दिएको छ ।
शुक्रबार अभियानका प्रवक्ता प्रशान्त सिंहले जारी गरेको विज्ञप्तिमा नयाँ गठबन्धनलाई कुनै नयाँ, गम्भीर, संवेदनशील नागरिक-केन्द्रित पहलकदमी तथा जनमुखी प्रयास नभएर सत्तास्वार्थ आधारित आपसी घातप्रतिघात, बदला, प्रतिशोधकै श्रृंखलाको नयाँ कडी रहेको आरोप लगाइएको छ ।
यसलाई नागरिक पहिलो अभियानले दशकौंदेखि जारी सीमित राजनीतिक स्वार्थ, सत्तालिप्सा र पदलोलुपताका कारण अस्थिर, अवसरवादी, अनैतिक, अवैचारिक तथा विजातीय गठबन्धन बनाउने-भत्काउने अन्त्यहीन दुष्चक्रकै निरन्तरताको संज्ञा दिएको छ ।
‘दुवै गठन्धनमा कुनै तात्विक भिन्नता छैन,’ प्रवक्ता सिंहले भनेका छन्, ‘यसले देशका समस्याको समाधान गर्दैन, यो एक प्रकारको भ्रम र समयको बर्बादी मात्र हो।’
संसदका प्रमुख दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको कार्टेलिङ, भ्रष्टाचार, कुशासन, कमिसनतन्त्रको ढाकछोप र सेटिङ-राज्यको जोखिम बढाएको विज्ञप्तिमा उल्लेख छ ।
अभियानले संविधानको नाममा विगतका ऐतिहासिक जनआन्दोलन, विद्रोह र क्रान्तिका उपलब्धिलाई संकुचन गर्ने, राष्ट्र र समाजलाई पछाडि फर्काउने प्रयास भए त्यो प्रतिउत्पादक हुने चेतावनी दिएको छ ।
‘संघीयता, समावेशिता, समानुपतिकता, धार्मिक स्वतन्त्रता, सीमान्तकृत समुदायले प्राप्त गरिरहेको सीमित आरक्षण र सामाजिक न्यायलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्न खोजिएको आशंका गर्न सकिने पर्याप्त ठाउँ छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रतिगामी दुष्प्रयासले देश नयाँ प्रकारको राजनीतिक ध्रुवीकरणमा प्रवेश गर्नेछ ।’
प्रतिक्रिया 4