२६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा सरकार विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ११ बजे मधेश भवनमा डाकिएको थियो ।
मन्त्रालय भागबण्डा, सभामुख नियुक्ति लगायत प्रस्तावमा छलफल गर्ने तयारी स्वरूप बैठक डाकिएको थियो ।
तर जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव बाहिर रहेका कारण बैठकले ठोस निर्णय नगरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा सरकारमा सहभागिता र भागबण्डाबारे समान्य छलफल मात्र भएको ती नेताको भनाइ छ ।
सातदलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले २१ मंसिरमा पद तथा गोपनियताको सपथ लिएका थिए ।
उनले सोही दिन कांग्रेसबाट जंगीलाल राय, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्री नियुक्त गरेका थिए ।
जनमतका महेशप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा नमिल्दा दुई मन्त्रीको जिम्मेवारी भने अहिलेसम्म पनि तोकिएको छैन ।
प्रतिक्रिया 4