+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

राज्यको दृष्टि नपुग्दा…

एउटा मानिस शारीरिक या मानसिक रूपमा अपाङ्ग हुनु प्राकृतिक कुरा हो तर सपाङ्ग भनिएको राज्यको दृष्टि नपुग्दा राज्य स्वयम् अपाङ्गता भएको बन्न पुग्नु राम्रो संकेत होइन।

प्रकृति मैनाली प्रकृति मैनाली
२०८१ साउन २ गते ६:५१
अपाङ्गता भएका सुन्दरीहरू ।

नेपथ्यमा नाचुँ नाचुँ लाग्ने फास्ट पेसको संगीतसँगै यति धेरै संख्यामा अपांगता भएका सुन्दरीहरू एकै पटक मञ्चमा उक्लिंदा माहोल एकदमै रमाइलो थियो। प्रारम्भमा सामूहिक नृत्यको प्रस्तुतिसँगै प्रतिस्पर्धीले परिचय चरण, ट्यालेन्ट चरण अनि प्रश्नोत्तर चरण हुँदै विजेता अनि उप विजेतासम्मको चरण पार गरे। यो सम्भवत: पहिलो कार्यक्रम थियो जहाँ सबै प्रतिस्पर्धीको हातमा केही न केही थियो, सबैको शिरमा ताज थियो।

निर्णायक मण्डलको कुर्सीमा बसेर यो सबै हेरिराख्दा मलाई एउटा प्रश्न भने आफैंसँग गर्न मन लाग्यो। अपांगताको परिचय भित्रको यति धेरै विविधता, काठमाडौंदेखि कर्णालीसम्मको प्रतिनिधित्व, साधारण लेखपढबाट स्नातकोत्तरसम्मको अध्ययन, जागिर गर्नेदेखि जागिर नगर्नेसम्मको विविधता, आर्थिक, शारीरिक, मानसिक, शैक्षिक विविधतामा कसरी विजेता घोषणा हुन सक्छ ? अपांगता भित्रका पनि विभिन्न श्रेणीहरू। सबै मध्यनजर गरेर निर्णय गर्नुपर्ने काम कठिन थियो।

कार्यक्रमको ठिक एक हप्ता अगाडिको मेरो जीवनको परिदृश्य भने बिल्कुल फरक थियो।

असार महिनाको आधाउधी थियो! विगत १० महिनादेखि बिरामी मेरी आमालाई अकस्मात् निकै गाह्रो भएकोले उहाँलाई एम्बुलेन्स बाहेकको अरू गाडीमा अस्पताल पुर्याउन असम्भव थियो। ९० किलोको उहाँको वजन स्टेचर बाहेकले बोक्न सक्ने अवस्था थिएन। यसै बीच आमा अचेत भएर जीउ सबै छोडिसक्नुभएको थियो।

करिब करिब १ घण्टा पुग्न लागिसक्दा समेत एम्बुलेन्स बिरामी लिने ठाउँमा आइपुग्न सकेको थिएन। रिङरोडबाट करिब १ किलोमिटर भित्र एम्बुलेन्स १ घण्टा भन्दा पनि लामो समयसम्म आइपुग्न नसक्नु अस्वाभाविक लाग्दै थियो। यसैबीच उताबाट कल आयो। म नजिकै छु तर बाटो ढलान गर्न लागेकोले बन्द छ अर्को बाटो खोजेर आउँछु। अर्को एक पटक फेरि कल आयो बाटो यता पनि बन्द छ, कालोपत्र गर्न पूरै बाटो बन्द गरेको छ।

 जसरी हुन्छ छिटो आउनुहोस्। कुरा यतिमा टुंगियो।

अस्पतालसम्म पुग्न घन्टौं कुर्नुपर्ने देशको अस्पतालले मेरो आमालाई अस्पताल पुग्ने बित्तिकै आईसीयुमा भर्ना गरायो। बाटोभरिको खाल्डाखुल्डी, ९० किलोको अचेत शरीर कतिपटक त्यो स्टेचरको डण्डीमा ठोकियो, शरीरमा कति नीलडाम भयो गनिसाध्य थिएन।

बाटोमा यति धेरै खाल्डो रहेछ भन्ने कुरा मैले पहिलो पटक रुन मन लाग्ने गरेर अनुभव गर्दै थिएँ। रिङरोड नपुगुन्जेलको १ किलोमिटरको भित्री बाटोको घुमाइ, मेरो जीवनको सबैभन्दा लामो १ किलोमिटर थियो। समय क्रिटिकल थियो, आमाको अवस्था बिग्रँदो क्रममा थियो। असारे विकास एउटा परिवारको लागि निकै महँगो पर्दैथियो।

दिनमा ५० पटक हिंड्ने बाटोको यो अवस्था मैले कहिल्यै अनुभव गरिनँ। किनकि मेरो शारीरिक अवस्थाले बिग्रिएको बाटोप्रति त्यति रुष्ट हुनुपर्ने अनुभवको संग्रह गर्ने परिस्थिति सिर्जना गरेको थिएन।

दुई वटा खुट्टा भएको म जस्तोलाई समेत सन्तुलन मिलाउन गाह्रो हुने बाटो कहिले समथर हुने होला ? यो समाजमा म जस्तो मात्र छैन उ जस्तो पनि छ, जो ह्वील चियरको सहायताले आवतजावत गर्छ, उसको समस्या उसको मात्रै हो भन्ने चरित्र हावी भएको नेतृत्वको नैतिकता, जुनसुकै राजनीति, वाद, झगडा, प्रतिस्पर्धा भन्दा माथि मानवता हावी कहिले हुने होला ?

मेरो अनुभव मेरो सत्य हो। यस्तो अनुभव गर्ने हरेक ह्वील चियरमा गुड्ने मान्छेको सत्य पनि त्यही हो। यो सत्य सबैको साझा सत्य हो तर गलतलाई गलत देख्ने बानी नपरेको नागरिकलाई बाटोले खाल्डो आफैं लुकाउने र हामीलाई आँखा नदेख्ने बनाउने रहेछ।

हरेक पटक म छोरी लड्दा, ‘आँखा छैन तिम्रो, हेरेर हिंड्नु पर्दैन’ भन्ने गर्थें। यो सुन्दै हुर्केको उसले आफू भन्दा साना भाइबहिनी लड्दा त्यस्तै भनेको सुन्दा भने म झसङ्ग भएँ। मैले छोरी लड्दा कहिल्यै बाटो खाल्डो थियो कि हेरिनँ, बाटोमा बत्ती नभएर अन्धकार भएकोले पो उ लडेको हो कि भनेर सोचिनँ।

मैले मेरो आमाबुवाबाट जे सुनेर हुर्किएँ विना कुनै परिमार्जन जस्ताको तस्तै छोरीलाई पनि हस्तान्तरण गरें। होश पुर्याएर हिंडेकी मेरी छोरी लड्दा हप्काउनुपर्ने मैले मेरो छोरीलाई थिएन। बाटोका खाल्डाखुल्डी नपुर्ने, नागरिकलाई हेप्ने, अनावश्यक दुःख दिने, जता पायो त्यतै खनेर काम गर्न महिनौं बाटो अवरोध गर्ने सम्बन्धित अधिकारीलाई थियो। छोरीमाथि त मैले शक्ति प्रदर्शन गरेको थिएँ। उसलाई हेप्न सक्ने भएर हेपेको थिएँ।

ठूलाले साना सधैं आज्ञाकारी हुने अपेक्षा राख्ने यो समाजमा सानोहरूले पनि आफू अलिक ठूलो भएपछि आफूले पनि आज्ञाकारी सानो मान्छेको खोजी गर्ने चाहना राख्नु स्वाभाविक हो।

म ह्वील चियरमा सवार गर्दिनँ त्यसैले बाटोले अपांगता भएको व्यक्तिहरूलाई गरेको ज्यादती, अन्याय कहिल्यै बुझ्दिनँ। बरु छानी–छानी, हिलो नभएको ठाउँमा खुट्टा राखी-राखी नाची नाची बाटो हिंड्छु तर सम्बन्धित निकायमा कहिल्यै प्रस्न उठाउदिनँ। किनकि यो समस्या आफ्नो नभएसम्म उनीहरूको मात्र समस्या हो ।

निर्णायक मण्डलबाट उहाँहरूलाई स्टेजमा देख्दा मैले आमालाई अस्पताल लैजाँदाको अनुभव विखण्डन गरेर अवलोकन गर्न सक्दिनँ। अनुभव नै विचार निर्माणको अभिन्न पाटो हो, त्यसैले आज मैले समाजलाई हेर्ने दृष्टिकोण मेरो ताजा अनुभवहरूको संगालो नै हो। अनि मेरो अनुभव मेरो सत्य हो। जुन चिज जस्तो छ ती चिजलाई त्यस्तै नै ग्रहण गर्नु महत्वपूर्ण अनुभव हो। होइन भने बाटोका खाल्डा कसैलाई समथर मैदान त कसैलाई पहाड भन्दा पनि अग्लो चुनौती हुन्छ।

स्टेचरको आवश्यकता विरलै पर्ने आम मानिसलाई दिनचर्या र दैनिक व्यवहारले नै ह्वील चियर माग गर्ने मान्छे भएर एकछिन सोच्न आग्रह सहित, यथास्थितिबाट सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन पहलकदमी चाल्नुहुनेछ भन्ने अपेक्षा सहित पारिवारिक अनि आर्थिक व्यस्तताको बाबजुद लेख्नै पर्ने मुद्दा भएकोले प्रकाशमा ल्याउन यो लेखेको हुँ। चिजहरू जसरी चलिराखेको छ त्यो त्यस्तै नै हो भनी स्वीकार गर्नु सबैभन्दा सजिलो काम हो। तर त्यसलाई परिवर्तन गर्न आफ्नो ठाउँबाट आवाज उठाउनु एउटा नागरिकले उठाउन सक्ने सबैभन्दा महत्वपूर्ण कदम हो।

दुई वटा खुट्टा भएको म जस्तोलाई समेत सन्तुलन मिलाउन गाह्रो हुने बाटो कहिले समथर हुने होला ? यो समाजमा म जस्तो मात्र छैन उ जस्तो पनि छ, जो ह्वील चियरको सहायताले आवतजावत गर्छ, उसको समस्या उसको मात्रै हो भन्ने चरित्र हावी भएको नेतृत्वको नैतिकता, जुनसुकै राजनीति, वाद, झगडा, प्रतिस्पर्धा भन्दा माथि मानवता हावी कहिले हुने होला ?

हरेक दिन चुपचाप लागेर, जस्तोसुकै बाटो पनि हाँसेरै हिंड्ने सुन्दरीहरूलाई नमन। कुनै ताज तपाईंहरूले चढ्नुभएको चुनौतीको पहाडभन्दा माथि छैन। मेरो आँखाहरूले तपाईंहरूको खुट्टामा हिलोको खोजी गरिनै रहनेछ। तपाईंहरू स्टेजमा उक्लिंदै गर्दा, ह्वील चियरको पांग्रामा अड्किएको हिलोले बाटोको खाल्डाखुल्डीको सम्झना गराइनै रहनेछ।

जीवनका खाल्डाखुल्डी सबै पार गरेर स्टेजमा उक्लिनुभएको सबै सुन्दरीहरूलाई बधाई। सम्भवत: पहिलो पटक माइक समात्ने अवसर प्राप्त गर्नुहुने धेरै हुनुहुन्थ्यो। यो अवसर सिर्जना गर्नुहुने आयोजक कमिटीलाई धन्यवाद।

एउटा मानिस शारीरिक या मानसिक रूपमा अपाङ्ग हुनु प्राकृतिक कुरा हो तर सपाङ्ग भनिएको राज्यको दृष्टि नपुग्दा राज्य स्वयम् अपाङ्गता भएको बन्न पुग्नु राम्रो संकेत होइन। नागरिकको अभिभावक राज्य नै पञ्च ज्ञानेन्द्रिय मध्ये कुनैले पनि काम नै नगर्ने र निर्जीव जस्तो बन्न पुग्नु नागरिकको दुर्भाग्य हो ।

लेखक
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?