 
																			४ साउन, काठमाडौं । सांसदहरुले सरकारले सही तरिकाले काम गर्न नसक्दा प्राकृतिक विपदका घटनाहरु बढी हुन पुगेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै सांसदहरुले विपद्को पूर्व तयारीका लागि सरकारको ध्यानाकर्षण गराए ।
नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सरकारले २०३४/३५ सालदेखि नारायणगढ मुग्लिन सडकखण्ड निरन्तर बनाइरहेको तर, कहिल्यै नसकिँदा समस्या भएको बताइन् ।
उनी थप्छिन्, ‘०३४÷३५ सालमा मुग्लिन–नारायणगढ सडक बन्न सुरु गरेको, आज कति वर्ष भयो ? लाज लाग्छ हामीलाई सधैं सडक बनिरहेको, सधैं असुरक्षित भइरहन्छ यो के हो ?’
जिम्मेवार हुनुपर्नेहरु जिम्मेवार नभइदिँदा समस्या भएको उनले बताइन् । राम्रो र सुरक्षित सडक नहुनु दुर्घटनाका लागि पासो थाप्नु सरह हुन पुगेको उल्लेख गर्दै उनले थपिन्, ‘ठेकेदारहरुको घर ठूलो हुन्छ, तर, जनता सधैं पासोमा परिराख्छन् किन ?’
जवाफदेही हुनुपर्ने राज्यको सोचमा समेत समस्या भएको उनको टिप्पणी छ । ‘हामी साह्रै गैर जिम्मेवार । सरकारमा मात्रै गइराख्ने, फेरिराख्ने, चलाइराख्ने, सत्ता खाइराख्ने, आफू ठूलाठूला महल बनाउने, घर बनाउने । आफूले पाँच पुस्तालाई पुर्याउने जनता चाहिँ भोकभोकै मरोस्, अकालमा मरोस् त्यसको वास्ता नगर्ने गरी अब सरकार चलाउनु यो मुलुकका लागि अत्यन्त अहितकर छ,’ उनले भनिन् ।
सांसद अर्याल भन्दा अगाडि बोलेका नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले पनि विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका थिए ।
‘सरकारले अहिले जुन किसिमको विपद् व्यवस्थापनमा काम गरिरहेको छ । यसले मात्रै पुग्दैन । यसलाई बढीभन्दा बढी अझ युद्धस्तरमा काम गर्नका लागि सरकारसँग अनुरोध गर्न चाहन्छु’ उनले भने ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले वर्षा सुरु हुनु अगाडि नै राज्यले भूगोलको अध्ययन गरेर पूर्वतयारी गर्नुपर्ने बताए । विगतमा आफूले यो विषय उटक–पटक उठाएको तर सरकारले नसुनेको उनले गुनासो गरे । नयाँ सरकारले आफ्नो कुरा सुन्नुपर्ने कांग्रेस सांसद रोकायाको आग्रह छ ।
नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले सरकारले दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताइन् । वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो रहेको र विदेशमा रहेका नेपालीहरु समस्यामा पर्ने क्रम पनि बढ्दो रहेको उनले बताइन् । यसको सही समाधान देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने उनको राय छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4