 
																			काठमाडौं । हरितालिका तीजको अवसरमा यूएईमा आयोजना गर्न लागिएका कार्यक्रममा कलाकारले आफ्नो सहभागिता अन्तिम समयमा स्थगित गरेपछि आयोजक असन्तुष्ट बनेका छन् । युरोप-अस्ट्रेलियाको भिसा लागेको भन्दै कलाकारले आफ्नो कार्यक्रम रद्द गरेको आयोजकको दाबी छ ।
सैनामैना सेवा समाज यूएईले २५ अगस्टमा गायक राजु परियारले ‘तीज विशेष सांस्कृतिक धमाका २०२४’ मा प्रस्तुति दिने भनेर सबै तयारी पूरा भएको तर परियारले अन्तिम समयमा कार्यक्रम स्थगित गरेको भन्दै विज्ञप्ति निकालेको छ ।

युरोपका तीन देशबाट अफर आएको भन्दै गायक परियारले गैरजिम्मेवार अभिव्यक्ति दिएको आयोजकको दाबी छ । यसबारे अनलाइनखबरले गायक राजु परियारसँग जिज्ञासा राखेको थियो ।
जवाफमा उनले आफूले धोका नदिएको भन्दै सेड्युल जुध्न पुगेको प्रतिक्रिया दिए । ‘भ्याउँदिन भन्दाभन्दै उहाँहरुले मेरो नाम राखेर प्रचार गर्नुभएछ । यसअघि नै २३, २४ र २५ मा अस्ट्रेलियामा हुने कार्यक्रमका लागि मेरो लिखित सहमति भएको थियो,’ परियारले भने, ‘गलत बुझाइले यस्तो हुन पुग्यो । अहिलेसम्म मेरो करिअरमा यस्तो भएको छैन ।’
परियारले गायिका मञ्जु विक मार्फत उक्त कार्यक्रमका लागि कुरा गरेको बताए । आयोजकसँग लिखित सहमति पनि नभएको उनको भनाइ छ । ‘म सैनामैना सेवा समाजलाई सम्मान गर्छु । निकट भविष्यमा पनि जोडिएर काम गर्ने मेरो चाहना छ । उहाँहरुबीच के–के कुराकानी भयो, तनाव मलाई भयो,’ परियारले भने, ‘मेरो लागि सबैजना बराबर हुनुहुन्छ । मैले यो मुलुक, त्यो मुलुक भनेको छैन ।’
परियार तीज कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा छन् ।
यसैबीच, यूएईकै अर्को नेपाली संस्था वालिङ समाज स्याङ्जा यूएईले पनि अनाथ बालबालिका तथा वृद्धाश्रमको सहयोगार्थ तीज कार्यक्रम गर्ने भनेर गायिका सुनिता बुढालाई सांगीतिक प्रस्तुतिका लागि बोलाइएको भन्दै विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा गायिका बुढाले अष्ट्रेलियाको भिसा लागेको र खाडी देश तथा खाडीका दर्शक-श्रोतालाई नजरअन्दाज गरेको उल्लेख गरिएको छ । अनलाइनखबरले यसबारे गायिका बुढासँग जिज्ञासा राखेको थियो ।
गायक खुमन अधिकारीमार्फत आयोजकसँग कुरा भएपनि लिखित सहमति नभएको बुढाले बताइन् । अस्ट्रेलियाको कार्यक्रमसँग जुध्न गएको उनको भनाइ छ । ‘अस्ट्रेलियाको कार्यक्रम पहिले नै तय भएको थियो । अस्ट्रेलियाको कार्यक्रम एक साता अघि सरेछ । १७ अगस्टमा हुँदैछ,’ बुढाले भनिन्, ‘अहिलेसम्म अस्ट्रेलियाको भिसा पनि आएको छैन । पहिले नै जानकारी दिंदा यूएईको कार्यक्रमको तयारीमा असर नपरोस् भनेर भनेकी हुँ ।’

उनले यूएईका आयोजकसँग सामान्यरुपमा कुरा भएको, एड्भान्स नलिएको र लिखित सहमति पनि नभएको बताएकी छन् ।
यसैबीच, कास्की आदर्श समाज यूएईले पनि गायिका रीता थापा मगर लगायत कलाकार तीजको कार्यक्रमका लागि यूएई आउने भनेर प्रचार गरिरहेको थियो । अन्तिम समयमा थापा आउन नपाउने खबर आएको आयोजकको भनाइ छ ।
गायिका थापाले पनि आयोजकसँग कुरा पनि नभएको र एग्रिमेन्ट पनि नभएको बताए । संगठन विस्तारका लागि पूर्वी नेपालको भ्रमणमा रहेकी थापाले भनिन्, ‘कागज गरेर धोका दिएको भएर एउटा कुरा हुन्थ्यो, सहमति भएको छैन ।’
थापाले तीजका लागि विभिन्न देशमा कुरा भएपनि टुंगो लागिनसकेको बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4