१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने बताएका छन् । मंगलबार सिंहदबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिंदै ओलीले ढुक्कले अब काम गर्न आग्रह गरे ।
‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’, उनले भने, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैं हुनुपर्छ । राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु ।’
सचिवहरुलाई काम गर्दा गन्तव्य के हो भन्ने निक्र्योल गर्न निर्देशन दिंदै प्रधानमन्त्री ओलीले कहाँ जाँदैछु भन्ने स्पष्ट भएर अघि बढ्न सुझाव दिए । ‘समृद्ध नेपाल सुखी नेपालका लागि काम हुनुपर्छ, जनताको जैविक, मानवीय, न्यायोचित र यथोचित आवश्यकताको सम्बोधन हुनुपर्छ’, उनले भने, ‘गरिबी हटाउनुपर्यो, २० प्रतिशत जनता गरिबीको रेखामुनि छन् भन्ने कुरा पीडादायी छ, केन्द्रित त्यसकै हुनुपर्छ ।’
अब सरकारले व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष र विपक्ष नहेर्ने भन्दै ओलीले काम गर्ने र नगर्ने बीचको फरक हेर्ने बताए । ‘अब कुनै प्रकारको काम गरे पनि उस्तै र नगरेपनि उस्तै हुँदैन, मूल्यांकन हुन्छ, त्यो आग्रहमा आधारित हुँदैन’, उनले भने ।
सोमबार केही सरुवासम्बन्धी निर्णय भएको भन्दै प्रधानमन्त्री ओलीले यो सरकार परिर्वतनपछिको सामान्य ‘सेट अप’ मात्रै भएको बताए ।
‘यसबाट सबै साथीहरुलाई अनुकूलता प्राप्त हुने विश्वास छ, अब हामी अरुसँग हैन, हामीसँग गरेका कामको लेखाजोखा गर्नेछौं’, उनले भने ।
आफू दुई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै ओलीले सरकारको स्थिरतामा आशंका नगर्न आग्रह गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4