
१५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले १५ साउनलाई कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन् ।
ललितपुरको खोकनामा राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को आयोजनामा भएको कोदो रोप्ने कार्यक्रममा मन्त्री अधिकारीले कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको बताएका हुन् ।
पोषकीय महत्त्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि अनाज र महासंघले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष १५ साउनमा दिवस मनाउदै आएको छ ।
कृषिमन्त्री अधिकारीले कृषि मन्त्रालयमा आफूले नियमित कोदोको परिकार खाने गरेको पनि बताए ।
कोदो उत्पादनलाई प्रोत्साहनको निम्ती मन्त्रालयका चेमना गृहहरूले समेत कोदोका परिकार नियमित बनाउने गरेको जनाए ।
‘केही वर्षअघि दुवै छाक भातका लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै ठाउँमा भौंतारिएर हिँड्ने अवस्था छ,’ उनले भने
कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेलले भविष्यमा खाद्य संकट हुने बताउँदै समयमा नै कोदो संरक्षण गरेर राख्नु पर्ने बताए ।
उनले कोदो दिवस मनाउँदै गर्दा करोडौंको आयात गर्ने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने बताए ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोको संरक्षण गर्नका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिवले रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्च्रकमा फसेको र स्कुल पढ्ने बच्चाहरू कुपोषण जस्तो रोगको सिकार भइरहेको चर्चा गर्दै कुपोषणबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादनमा प्रवर्र्धन गर्नुपर्ने बताए ।
आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैँया बराबरको कोदो आयात भएको तथ्यांक रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ७ करोड २२ लाख, २०७९/८० मा ७३ करोड २० लाख र २०८०/८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ रुपैयाँ बराबरको कोदो आयात भएको सरकारी तथ्यांक छ ।
प्रतिक्रिया 4