२५ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफका लागि नेपाली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ ।
चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानकारी गराएको हो । क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यसले दर्शकहरुको उपस्थिति उल्लेख्य रहने विश्वास व्यक्त गरे ।
‘रंगशाला अन्तर्राष्ट्रिय अप्रुभल पछि लामो ग्यापपछि खेल हुँदैछ । समर्थकको उत्साहजनक सहभागिताको आशा छ । नेपाली टिमले राम्रो गर्ने विश्वास लिएका छौँ’, उनले भने ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताए । ‘हामीले साउन १ देखि ट्रेनिङ गरिरहेका छौँ । छोटो समयको तयारी भएपनि म टिमबाट सन्तुष्ट छु । आशा छ हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ’, उनले भने ।
महर्जनले भुटानी टोली पारो एफसीको टिम पनि राम्रो रहेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने बताए । चर्च ब्वाइजले अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4